विज्ञ भन्छन्– काठमाडौँमा डुबानको खतरा रोक्न नदी र पोखरीलाई पुरानै अवस्थामा फर्काउनुपर्छ

काठमाडौँ– पछिल्लो केही वर्षयता काठमाडौँमा बर्सेनी डुबानको समस्या देखिन थालेको छ। गत वर्ष भक्तपुरको हनुमन्ते खोला बस्तीमा पसेर ठूलो विनाश निम्त्यायो। यो वर्ष त्यस क्षेत्रमा समस्या केही कम देखियो तर उपत्यकाका अन्य स्थानमा बाढी र डुबानको समस्या बढी देखियो।

कतै ढल थुनिएका छन् भने कतै खोला थुनिएका छन् जसले गर्दा पानीको भल बस्तीमा पसेको छ । फेरि पनि एक सय मिलिमिटर पानी परेमा डुबानको खत्तरा छ। उपत्यकामा किन यसरी डुबानको खतरा बढीरहेको छ ?

सहरी विकास विज्ञ किशोर थापा भन्छन, ‘हाम्रै कारण निम्तिएको विपद् हो यो।’ सहरीकरण तिब्र हुँदै जाँदा डुबान हुने खतरा पनि बढ्दै जाने उनले बताए। सहरीकरणसँगै जमिन कङ्क्रिटले ढाकेको छ अनि आकाशबाट अप्रत्याशित पानी परेमा निकास के ? उनी प्रश्न गर्छन्।

अहिलेको अबस्था अझ बढ्ने हो भने आगामी दिनमा विकराल समस्या निम्तिने उनको चेतावनी छ। सहरीकरणसँगै आफ्नो घडेरी सुन्दर बनाउन जमिन ढलान गर्ने , ब्लक छाप्ने र ठूल्ठूला पर्खाल बनाएर कम्पाउन्ड घेर्न क्रम बढेको छ। यसले बस्तीलाई मात्र असर गरेको छैन्, थप डुबानको समस्या पनि निम्त्याएको छ। जसले गर्दा आकाशे पानी रिचार्ज हुन पाउँदैन जमिनमुनि नजाने बित्तिकै त्यही जम्मा भएर घरभित्र पानी पस्ने गर्छ। ४ फिटभन्दा माथि पर्खाल बनाउन नपाउने सरकारी मापदण्ड भए पनि अहिले १० फिटसम्म अग्ला पर्खाल बन्न थालेका छन्। पर्खाल भत्केर बटुवा या घरभित्र बसेकालाई चोट पुग्ने खतरा रहेको उनले बताए।

‘अहिले समुदायसँगै स्थानीय निकाय पनि बजेट सिध्याउने ध्याउन्नमा छन्। अव्यवस्थित र अवैज्ञानिक तरिकाले विकास निर्माणका काम भइरहेका छन् । बस्तीका पुराना खोल्साखोल्सी पुर्ने तथा छोप्नाले पानीको निकास थुनिएको छ। यदि पानीले निकास नपाउने हो भने भविष्यमा यसले झन् विकराल रूप लिनेछ,’ थापाले भने ।

पछिल्लो समयमा जलवायु परिवर्तनका कारण पानी पर्ने मौसममा पानी नपर्ने, थोरै क्षेत्रमा अत्यधिक पानी पर्ने क्रम बढेको छ जसले गर्दा समस्या अझै जटील बन्दै गएको छ। ढल बनाउन सबै लाग्छन् तर ढलको उचित व्यवस्थापनमा न स्थानीय निकाय न त समुदायको नै ध्यान छ। सरकारले नीति नियम बनाउँछ । यसको पालना स्थानीय निकायले गर्नुपर्छ। प्राकृतिक तथा कृत्रिम गरी ढल २ प्रकारका हुन्छन् । प्राकृतिक अर्थात कुलो तथा खोल्साखोल्सी बन्द गर्ने, निकास थुन्ने मात्र हैन कृत्रिम प्रणालीतर्फ पनि ध्यान नदिँदा यसले विपत्ति निम्त्याउने खतरा बढेको छ।

बिगतमा बर्खे ढल तथा शौचालयको ढल जाने दुई छुट्टै निकासको व्यवस्था थियो तर अहिले स्थानीय निकाय र समुदायको मिलेमतोमा दुबै ढल एकै ठाउँमा मिसाइएको र त्यसले झन समस्या बढेको पानी विशेषज्ञ प्रयागराज जोशीको ठम्याइ छ। बि.सं १९७० देखि काठमाडौंका नदीमा ढल मिसाउन थालिएको हो। तर, त्यो बेला ढल शौचालयको नभई आकाशे पानीको निकासका लागि मात्र बनाइएको जोशी बताउँछन्।

नदी, पोखरी भूमिगत जलस्रोतको भण्डार

नदी, पोखरी पानीका महत्वपूर्ण स्रोत मात्र नभइ भूमिगत जलस्रोतको भण्डारसमेत हुन्। उपत्यकाको पानी बाहिरिने प्रमुख नदी बाग्मती हो। उपत्यकामा जम्मा भएको पानी विभिन्न प्रणालीबाट बाग्मतीमा मिसिन्छ र कटुवाल दह हुँदै बाहिरिन्छ। तर, हाल बाग्मती लगायतका अन्य सहायक नदीको अतिक्रमण हुँदा ति नदीको आकार आकार घट्दै छ। सस्तो जग्गा खोज्दै नदी किनारमा घर बनाउनेहरुको संख्या बढेको छ।

नदी अतिक्रमण गर्दै यसको आकार घटाउँदै आफ्नो जग्गाको आकार बढाउँदै लैजाने क्रम तिव्र भएको छ। उपत्यकामा २ दशक अघिदेखि प्लटिङ्का नाममा भूमाफियाहरूले सार्वजनिक जग्गा अतिक्रमणलाई तिव्र वनाएका छन्। २०४७ साल यता उपत्यकाको चक्रपथभित्र मात्रै भूमाफियाहरूले करिब १ हजार रोपनी सरकारी तथा सार्वजनिक जग्गा निजी बनाएकामध्ये ८ सय रोपनीभन्दा बढी त नदीकिनारकै जग्गा रहेको भूमिसुधार मन्त्रालयको तथ्याङ्क छ।

नदी कुनै न कुनै दिन आफ्नो पुरानो स्वरूपमा फर्किन्छ भन्ने हाम्रो पुरानो मान्यता पनि छ। त्यसैले जजसले यसको वास्तविक रूपलाई मिच्न वा बिर्गान खोज्छ तब नदीले आफ्नो वास्तविक रूप देखाइहाल्छ। प्रकृति नियम विपरीत कार्य हुँदा आज उपत्यकाका अधिकांश स्थान जलमग्न भए। यो मानव सिर्जित समस्याप्रति प्रकृतिले देखाएको रूप हो । अब फेरि यो भुल दोहोरिन हुँदैन। बेला–बेलामा यी नदी र ढलको सरसफाई आवश्यक छ जसले नदीलाई आफ्नो जसले गर्दा नदी सहज रुपमा अगाडी बढ्न सक्छ ।

वर्षातमा पर्ने पानीको निकास कसरी ?

उपत्यकामा वर्षभरिमा १५३० मिलिमिटर पानी पर्ने गरेको छ। त्यसमध्ये ८० प्रतिशत पानी त वर्षातका ४ महिनामै पर्छ, बाँकी अन्य मौसममा पर्छ। यसरी वर्षातमा परेको पानीमात्रै सङ्कलन गरी सिधै आफ्नो घरको इनारमा पठाउने हो भने वर्षभरिका ८ महिनालाई आवश्यक पानी उपलब्ध हुन्छ भने अर्को घरभित्र पानी जम्मा भएर डुबानको चपेटामा पर्नबाट समेत बच्न सकिन्छ।

फिल्ड नक्सा हेरेर उपत्यकाका नदी तथा पोखरीलाई पुरानै अवस्थामा फर्काउन १८ नगरपालिकाको संयुक्त योजना आवश्यक छ। अब फेरि पनि जलमग्न हुन नदिने हो भने नदी तथा पोखरीका पुराना नक्सा हेरेर पुरानै स्वरूपमा फर्काउने प्रयास गर्नुपर्छ । अत्यधिक वर्षा हुँदा वरपर जमेको पानी पोखरीमा गएर जम्मा हुन्छ। यसले एक त डुबान हुन दिँदैन भने अर्को वरपरको पानी एकत्रित गरी भूमिगत जलभण्डारको रिचार्ज प्रणालीको काम गर्ने पानी विज्ञ जोशी बताउँछन। यसका लागि उपत्यकाका १८ नगरपालिकाको संयुक्त योजना आवश्यक रहेको पिम्बहाल पोखरीका योजनाकार तथा पानी विज्ञ जोशीको आग्रह छ।

उपत्यकामा १८ वटा नगरपालिका रहेका छन्। यी सबै प्रशासनिक रूपमा १८ वटा निकाय भए पनि प्राकृतिक रूपमा एउटै हो भन्ने बुझेर संयुक्त योजना आवश्यक रहेको सहरी विकासविद् थापाको सुझाव छ । कुनै पनि योजना निमार्ण गर्दा समुदायसँग छलफल गरेर मात्र बनाउनुपर्नेमा जोशीको जोड छ।

विज्ञले गरेको भनेर समुदायलाई बाइपास गर्न हुँदैन। पुराना फिल्ड नक्सा हेरेर उपत्यकाका नदी तथा पोखरीलाई त्यही अवस्थामा फर्काउने हो भने यस्ता विपद्बाट जोगिन सक्ने विज्ञहरूको दाबी छ। यदी यसो गरिएन भने फेरि पनि उपत्यका डुबानमा पर्ने छ तर यो भन्दा पनि भयानक विपद्का रूपमा। तसर्थ समयमै सचेत हुन विज्ञहरूले आग्रह गरेका छन्।

Facebook Comments