तरकारी बजारको अनुगमनलाई तीव्र पार्दै सरकार, मूल्यवृद्धि गर्ने व्यापारीमाथि कारवाही

काठमाडौँ– काठमाडौँ उपत्यकामा तरकारीको मूल्य अस्वभाविक रुपमा बढेपछि सरकारले तरकारी बजारको अनुगमनलाई तीव्र पारेको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज (मंगलबार) बानेश्वरको शान्तिनगरस्थित तरकारी बजारको अनुगमन गरेको छ। अनुगमनका क्रममा सात वटा पसलले तरकारीको मूल्यवृद्धि गर्न सहयोग गरेको भेटिएपछि अनुगमन टोलीले कारवाही गरेको विभागले जानकारी दिएको छ।

किसान, ढुवानीकर्ता वा कृषिउपज सङ्कलन केन्द्रबाट खरिद गरिएको तरकारीको बिल, भरपाइ वा किसानलाई तिरेको रकम पुष्टी हुने कागजात नदेखाएका कारण ती पसललाई जरिवाना गरिएको विभागले जनाएको छ। छ वटा पसलले प्रत्येकलाई रु पाँच हजार र अर्को एउटा पसललाई रु पाँच हजार ५०० जरिवाना गरिएको विभागले जनाएको छ। अनुगमनका लागि विभागका निरीक्षण अधिकृत पवन प्याकुरेलको नेतृत्वमा तीन वटा टोली खटिइएको थियो।

यसैबीच, हरिया तरकारीको अनुगममा केन्द्रित भएको विभागले अब माछा, मासु बजारको पनि अनुगमन गर्ने भएको छ। माछा, मासुमा पनि अत्यधिक मूल्य वृद्धि गरिएको पाइएकाले अनुगमन गर्ने तयारी गरिएको बताइएको छ।

पछिल्लो समय तरकारीको मूल्य बढेको भन्दै जनगुनासो आएपछि शुक्रबार विहान बल्खु तथा कालिमाटी तरकारी बजारमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन गरेको थियो। अनुगमनको क्रममा बल्खु र कालिमाटीे तरकारी बजारका थोक विक्रेताले अस्वभाविक रुपमा मूल्य वृद्धि गरेकोले अनुगमन गर्नुपरेको बताइएको थियो।

व्यवसायीहरूले गरेको अनियमितताको आधारमा उनीहरूलाई ५ देखि २० हजारसम्म जरिवाना तिर्न लगाएको र केही व्यवसायीलाई कसुरको मात्राको आधारमा सल्लाह दिइएको थियो।

Facebook Comments