पानी जोगाउने त्यो ज्ञान

काठमाडौँ– उपत्यकामा राजकुलो। राजकुलोको पानी पोखरीमा। पोखरी नजिकै ढुंगेधारा हिटी। आकाशे पानी पनि तिनै पोखरी, तलाउमा जम्मा हुन्थ्यो। १७औँ शताब्दीताका काठमाडौँ उपत्यकामा घनाबस्ती थिएन, डाँडाकाँडा हरियाली थिए। खोलानालामा प्रशस्त पानी थियो, भूमिगत पानी प्रशस्त थियो, मुल फुट्थ्यो।

वर्षाकाे पानी संकलन गरी भूमिगत ट्यांकीमा संचित गरिँदै। तस्बिर स्राेत : निर्मला ढकाल

पुर्खाहरूले यही उपाय अबलम्बन गरेर पानी जोगाउथेँ। तर, अहिले अवस्था ठीक उल्टो भएको छ। उपत्यकामा ४० लाखको हाराहारीमा मानिस छन्, पानी जोगाउने त्यो ज्ञान हरायो। भएभरका राजकुलो मासिए, पोखरीमा ठूल्ठूला घर, मल ठडिए। ढुंगेधारा मासिए। बचेका ढुंगेधारामा पनि मनसुनका ४ महिना प्रशस्त पानी आउछ, बाँकी महिना सुख्खा।

सिन्धुपाल्चोकबाट मेलम्ची ल्याएर काठमाडौँवासीलाई पानी खुवाउने योजना पनि परपर सर्दैछ। कुन दसैंमा पानी खान पाइने हो सरकारी अधिकारीलाई नै थाहा छैन। पूर्वमन्त्री गणेश शाह विगत स्मरण गर्दै व्यंग्य गर्छन्, ‘चौबिसै घन्टा धाराबाट तातो, चिसो पानी आउँछ भन्थ्यौँ, २४ वर्ष बितेछ अचेल त २४ घन्टा नै पानी आउँदैन।’ काठमाडौँ उपत्यकामा दैनिक रूपमा पानीको माग ४२ करोड पुगिसकेको छ तर सुक्खायाममा १३ करोड र वर्षायाममा १७ करोड मात्र आपूर्ति हुँदै आएको छ। मेलम्ची आउँदा पनि उपत्यकाको माग धान्दैन।

मेलम्ची आउँदै गर्छ तर हामी लागौँ आकाशे पानीको उपयोगिता अर्थात् पानी जोगाउने ज्ञानतिर। इतिहासविद्हरूका अनुसार लिच्छविकालमा (ईसं. ७८ देखि ८८०) मा जनतालाई पानीको हाहाकारबाट जोगाउन खानेपानी आपूर्ति गर्ने आयोजना बनाइएको थियो। आकाशे पानी संकलन गरेर वा मूल फुटेर निस्केको पानी ठूल्ठूला पोखरीमा जम्मा पार्नु वा ढुंगेधारासम्म पु‍¥याउनु त्यसैको एक उदाहरण हो। पुरातत्वविद सुदर्शन तिवारी भन्छन्, ‘भूमिगत पानी रित्तिदै छ । पुनःभरणका लागि पोखरी, राजकुलो व्यूताउनु पर्छ।’

पहिले काठमाडौँमा बूढानीलकण्ठबाट, भक्तपुरमा महादेव खोलाबाट र पाटनमा शेषनारायणको राजकुलोबाट ढुंगेधारामा पानी आउने गरेकोमा पञ्चायतकालदेखि नै जथाभावी जमिन दोहन गर्नाले राजकुलो मासिँदै गएका छन्।

लैनचौरमा ठूलो पोखरी भएको ठाउँमा अहिले स्काउट भवन बनेको छ, भने ढुंगेधारामाथि नै ललितपुर महानगरपालिका कार्यालयको भवन छ। उता रानीपोखरीबाट सुनधाराको ढुंगेधारामा पानी आउने गरेकोमा मल बनाइएपछि ढुंगेधारा पानीविहीन बनेको छ।

अर्काे ज्ञान हो, आकाशे पानीको भरपूर उपयोग। मनसुनी अवधिको ४ महिनामा नेपालमा कुल वार्षिक वर्षाको ८० प्रतिशत पानी पर्छ। मनसुन अवधिमा मुलुकभरको औसत वर्षाको मात्रा १४ सय ९६ दशमलव ७ मिलिमिटर हो भने काठमाडौँको वार्षिक औसत वर्षा १४ सय ५४ दशमलव ८ मिलिमिटर हो।

त्यसैले मनसुनी अवधिमा पानीको खासै समस्या हुँदैन । तर हिउँद र गर्मीयाममा पानीको यतिसम्म हाहाकार भइदिन्छ कि पिउनेयोग्य मात्र होइन लुगाधुने पानीको पनि कमी हुन्छ। स्मार्ट वासका निर्देशक हरिप्रसाद शर्मा सहरमा विशेष गरी काठमाडौँ उपत्यकामा आकाशेपानीको भरपूर उपयोग गर्नुपर्ने बेला भइसकेको बताउँछन्। आकाशे पानी उपयोग गर्दा अनेकथरी फाइदा देख्छन् उनी। पहिलो आकाशे पानी संकलन गर्न कौशीमा संरचना बनाएर पाइपबाट ड्रम, ट्यांकीमा राख्न सकिन्छ। जसलाई प्रशोधन गरेर वा नगरेरै उपयोग गर्न सकिन्छ। प्रशोधन नगर्दा तरकारीबारी सिंचाइ, लुगा धुन, भाँडा माझ्न सकिन्छ भने प्रशोधन गरेर पनि प्रयोग गर्न सकिन्छ। पानी पर्दा घरको छतबाट पाइप जोडेर सीधैँ सडकमा पु¥याउँदा सडकको कालोपत्रे उप्किने समस्या पनि हुन्छ।

अहिले केही घन्टा पानी पर्न वितिक्कै काठमाडौँका सडक जलाम्य हुन्छन् नहर भरिन्छ। कतिसम्म भने बागमती तटीय क्षेत्रमा त डुबान नै पर्छ । यसको कारणमा खोलानाला अतिक्रमण त छँदैछ। आकाशेपानी उपयोग गरेर सिधै नदीमा पर्ने बर्खे पानीको प्रभाव घटाउन सकिने बताउँछन् नाष्टसँग आवद्ध डा. लक्ष्मीप्रसाद देवकोटा। भन्छन्, ‘प्रकृतिको दिएको उपहारलाई लिएर हामी धनी देश भन्न मिल्दैन । त्यसका लागि पानीको सदूपयोग गर्न सक्नुपर्छ।’ आकाशेपानीको उपयोग गर्न सके भूमिगत पानीमाथिको चाप घटाउन सकिने उनी बताउँछन् ।

यो त भयो काठमाडौँ उपत्यकामा आकाशेपानीको उपयोगिता। यसको उपयोग गाउँघरमा पनि हुने गरेको छ। जस्तो पोखरी खनेर माछा पाल्ने, जंगलमा पोखरी खन्ने, पानी कम भएको जमिनमा पोखरी खनेर खेतबारीमा प्रयोग गर्ने।

इन्जिनियर रामदीप साह आकाशेपानीको प्रयोग र उपयोगिताबारे सहरसँग गाउँघरमा सचेतना जगाउनुपर्ने बेला आएको बताउँछन्। त्यसका लागि ११–१२ साउनमा काठमाडौँमा आकाशेपानी उपयोगसम्बन्धमा राष्ट्रिय सम्मेलन हुँदैछ।

ढुंगेधारा।

आकाशे पानीको संकलन र उपयोगसँगै जलाधार क्षेत्रको संरक्षणका लागि पानी परियोजनाले तत्कालीन सुदूरपश्चिम र मध्यपश्चिममा रहेका ४ वटा जलाधार क्षेत्रमा काम गरिरहेको छ।

युएसआइडीको सहयोगमा सञ्चालित परियोजनाबाट किसानहरूले पोखरी निर्माण गरेर आकाशे पानीको उपयोगबारे जानकारी हासिल गरेर उपयोग गरेका छन् भने लिफ्टििङ सिंचाइ प्रणाली अपनाएका छन्।

तराई क्षेत्रमा त वनजंगलमा पोखरी बनाइएको हुन्छ माछापालन गर्न। त्यसको सुविधा गाईबस्तुलाई पनि हुने गरेको छ । भएका खोलानाला सुकिरहेका बेला जंगलमा यसरी पोखरी बनाउँदा गाईबस्तुले पानी पिउन पाएका छन् भने किसानको आयआर्जन बढेको छ।

भूमिगत पानीको स्रोतमाथिको निर्भरबाट मुक्ति पाउन र पुनःभरणमा मद्दत पुगेको बताउँछन् कैलालीको भजनी–२ मा रहेको राधाकृष्ण सामुदायिक वन उपभोक्ता समूहका पूर्वअध्यक्ष दरबारीलाल चौधरी। आकाशे पानी संकलन गरेर तरकारी खेती गर्ने प्रचलन भने चुरे पहाड र पहाडी क्षेत्रमा बढी रहेको छ।

खानेपानी तथा ढल निकास विभागका उपमहानिर्देशक रमाकान्त दवाडी खहेरे खोला मनसुन अवधिमा उर्लिदा बाढी आउने गरेको र अन्य याममा सुख्खा हुने गरेकाले बर्खाको पानी उपयोग गर्न जलाशययुक्त खानेपानीको योजना बनिरहेको बताउँछन्। उनका भनाइमा यसरी खहरे खोलाबाट जलाशययुक्त खानेपानी आयोजना बनाउँदा विशेषगरी चुरे क्षेत्रका उपभोक्ता लाभान्वित हुनेछन् नै बर्खामा खोलाको बहाव थोरै भएपनि कम गरेर जलाशय ड्याममा पानी जम्मा गर्न सके तटीय क्षेत्रमा हुने कटान र डुबान घटाउन सकिन्छ।

पूर्वमन्त्री शाह खानेपानीको महत्व, आकाशेपानीको उपयोगिताबारे विद्यालयस्तरको पाठ्यपुस्तकको पाठ्यक्रममै समावेश गर्नुपर्ने बताउँछन्।

Facebook Comments