गुल्मी पहिरो [अपडेट]: मृत्यु हुनेको संख्या १० पुग्यो, ४ अझैं बेपत्ता

गुल्मी– गुल्मीको सत्यवति गाउँपालिकामा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ। ४ जना अझैं बेपत्ता भएका छन् ।

सोमबारदेखि परेको अविरल वर्षाका कारण सत्यवती गाउँपालिका वडा नं २ र ३ ठूलोलुम्पेक र वडा नं ४ लिम्घा बढी प्रभावित भएको विपद् सूचना केन्द्र गुल्मीले जानकारी दिएको छ। पहिरोमा परी २ जना घाइते भएका छन्।

सत्यवती–४ भिरकुनामा पहिरोमा घर पुरिँदा मृत्यु हुनेमा २५ वर्षीया पम्फा विक, २५ वर्षीया निर्मला विक, ७ वर्षीया सिमनी विक, ६० वर्षीया छलि विक, १२ वर्षीया अन्जली विक र १० वर्षीय हेमन्त विक रहेको विपद् सूचना केन्द्र गुल्मीले जानकारी दिएको छ।

यस्तै, वडा नम्बर ३ ठूलोलुम्फेमा पहिरोले घर पुरिँदा २५ वर्षीया लिकुमारी तरामु, दपर्ण तरामु, दिलकुमारी तरामु र दर्शन तरामुको मृत्यु भएको हो। पहिरोमा घर पुरिँदा १० वर्षीया करिष्मा तरामु र १३ वर्षी धने तरामु घाइते भएका छन्।

पहिरोमा परी बेपत्ता हुनेमा ६ वर्षीय सुमन विक, ८ वर्षीया तारा विक, ४० वर्षीया माया विक र १६ वर्षीय बबी विक रहेको विपद् सूचना केन्द्र गुल्मीका भरत चन्दले जानकारी दिए। त्यसैगरी २२ घरधुरीका १०० जना विस्थापीत भएको उनले बताए।

राहत, उद्धार र खोजी कार्यको लागि सबै सुरक्षा निकायहरू खटिएका छन्। त्यसैगरी पहिरो प्रभावित क्षेत्रमा जिल्लाबाट रेडक्रम, जिल्ला समन्वय समिति, नेकपाका जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरू प्रभावित क्षेत्रमा उद्धारको लागि खटिएका छन् ।

लगातर वर्षाबाट हुन सक्ने सम्भावनालाई कम गर्न पहिरो जोखिम क्षेत्रका स्थानीय साथै पीडित परिवारलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको उनले जानकारी दिए।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मंगलबार प्रभावित क्षेत्रको अनुगमन गरेका थिए।

Facebook Comments