आगामी तीन दिन देशभर भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– मनसुनको न्यून चापिय रेखा नेपालको तराई भूभाग नजिकै रहेकाले नेपालमा मनसुनी वर्षा सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली भई अधिकांश स्थानहरूमा वर्षा भईरहेको छ।

बुधबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही देशका अधिकांश स्थानहरूमा वर्षा हुनेछ। देशको थोरै स्थानहरूमा भारी वर्षा ९हुने सम्भावना रहेको जनाइएको छ। राती देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा वर्षा हुने र देशका थोरै स्थानहरूमा भारी वर्षा हुने सम्भावना छ ।

बिहीबार दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानहरूमा वर्षा हुनेछ। देशको पश्चिम तथा मध्यका एक वा दुई स्थानहरूमा भारीको सम्भावना रहेको छ । राती देशभर सामान्य बदली रहि केही स्थानहरुमा वर्षा हुने महाशाखाको अनुमान रहेको छ।

शुक्रबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरूमा वर्षा हुनेछ।राती देशभर सामान्य बदली रहि केही स्थानहरूमा वर्षा हुनेछ।

आगामी २४ घण्टाका देशका पूर्व, मध्य र पश्चिम क्षेत्रका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रका पहाडी भूभागमा पहिरो जान सक्ने तथा पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सतह हल्का बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। साथै हवाई तथा सडक यातायातमा समेत प्रभाव पर्न सक्ने भएकोले सतर्कता अपनाउनु पर्ने महाशाखाले जनाएको छ।

Facebook Comments