अस्पतालजन्य फोहोरको वातावरणमैत्री व्यवस्थापन

काठमाडौँ– अस्पताल, स्वास्थ्य चौकी, क्लिनिक, ल्याब, औषधी पसल र उद्योगहरूबाट निस्कने फोहरलाई उचित ढङ्गबाट निर्मलीकरण नगरी अन्य फोहरसरह बाल्दा त्यसबाट निस्कने हानीकारक रसायनप्रति धेरैको ध्यान गएको पाइँदैन।

सिरिन्ज, ग्लोभ, स्लाइन ट्यूव आदि मिश्रित स्वास्थ्यजन्य फोहोरलाई जलाउँदा अति विषाक्त रसायन डाइक्सिन र फ्यूरान उत्सर्जन हुने गर्दछ। डाइक्सिन र फ्यूरानले मानव जातिमा क्यान्सरलगायत विभिन्न रोग लाग्ने सम्भावना उच्च रहन्छ। अस्पतालबाट निस्कने फोहोरलाई अन्य फोहोरसँग मिसाएर खुला स्थानमा फाल्दा यसको असर झनै डरलाग्दो हुन्छ।

देशभर करिब ५०० मझौलादेखि ठूला र विशेष सुविधासम्पन्न सरकारी तथा निजी स्वास्थ्य संस्थामा करिब ४० हजार शैयाहरू रहेका छन्। यी अस्पतालबाट निस्कने साधारण फोहोर, तरल फोहोर, खानेकुरा, प्लास्टिक, सिरिन्ज, कपास, ग्लोभ, म्याद गुज्रिएका औषधीहरू, प्याथोलोजिकल फोहोर, सङ्क्रामक फोहोर, मर्करीजन्य फोहोर, धारिलो फोहोर आदिको उचित व्यवस्थापन हुन सकेको देखिँदैन।

स्वास्थ्य तथा जनसङ्या मन्त्रालयले केही वर्षअघि गरेको अध्ययनमा नेपालभर साढे १३ हजार मेट्रिक टन अस्पतालजन्य फोहोर उत्पादन हुने गरेको र त्यसमध्ये एकचौथाइ जोखिमयुक्त फोहोर हुने गरेको देखाएको थियो। विश्व स्वास्थ्य सङ्गठनले प्रतिदिन प्रतिबिरामी साढे दुई केजी फोहोर उत्पादन हुने औसत आँकलन गरेको छ। नेपालमा यो दर १.७२ केजीदेखि तीन केजीभन्दा बढी रहेको फरक–फरक अध्ययनले देखाएका छन्।

अस्पतालबाट निस्कने फोहोरमध्ये ८५ प्रतिशत साधारण फोहोर सामान्य खालका हुने गरेको र १५ प्रतिशत सङ्क्रमित फोहर हुने गरेको छ। धेरैजसो अस्पतालले साधारण फोहोर सरह नै खतरायुक्त फोहोर फाल्ने गरेको पाइएको छ। फोहोर निर्मलीकरणका व्यवस्थित उपाय नअपनाउँदा नगरपालिकाहरूले पनि सबै फोहोर एकै ठाउँमा राखेर विसर्जन गर्ने गरेका छन् ।

केही अस्पतालले ठोस फोहोर इन्सिनरेटरमा जलाउने, सङ्क्रमण गर्ने कीटाणु मार्ने (अटोक्लेभिङ), अस्पतालको फोहोर सङ्कलन गर्नेलाई दिने, वायोग्यास उत्पादन गरेका भए पनि हानीकारक फोहोरको जोखिम न्यूनीकरणतर्फ ठोस काम हुन सकेको छैन। फोहोर जलाउँदा त्यसबाट निस्कने विषाक्त धुवाँले पनि वातावरण र जनस्वास्थ्यमा दीर्धकालीन असर गर्दछ।

*****

स्वास्थ्य संस्थाजन्य फोहोरको जोखिम

अस्पताल, स्वास्थ्य चौकी, क्लिनिक, ल्याव, औषधी पसल, औषधी उद्योगहरूबाट निस्कने स्वास्थ्य संस्थाजन्य फोहोरलाई प्रायजसो धेरै अस्पतालमा छुट्टयाउने व्यवस्था नभएकाले सङ्क्रामक फोहोरलगायत अन्य स्वास्थ्य संस्थाजन्य फोहोर नगरपालिकाले उठाउने गरेको फोहोरमा मिसिन गई खुल्ला ठाउँमा, नदीको किनारमा वा अल्पकालीन ल्याण्डफिल साइटमा फालिने गरेको छ। कतिपय अस्पतालको खुल्ला रूपमा वा टिनको ड्रममा वा स्थानीय स्तरमा बनाइएका भष्मीकरण यन्त्र (इन्सिनरेटर) मा सबैखाले फोहरलाई जलाउने गरेका छन्। यसले त्यहाँको हावा, पानी, माटोलगायत वरिपरिको वातावरण प्रदूषित हुने गरेको छ ।

यसरी प्लास्टिक जस्तै सिरिन्ज, ग्लोभ, स्लाइन ट्यूव, आदि मिश्रित स्वास्थ्य संस्थाजन्य फोहरहरूलाई जलाउँदा पनि अति विषाक्त रसायनहरू डाइक्सिन र फ्यूरानको उत्सर्जन हुने गर्दछ। जसले विश्व स्वास्थ्य सङ्गठनका अनुसार मानव जातिमा क्यान्सरजस्ता गम्भीरखालका रोगहरू लाग्न सक्दछ। यसलाई पप्स (Persistent Organic Pollutants -POPs) रसायन अर्थात दीर्घायी प्रदूषक पनि भनिन्छ। यसले जल, थल तथा वायु प्रदूषित गरी वातावरण तथा जनस्वास्थ्यमा निकै दूरगामी प्रतिकूल प्रभाव पार्दछ। खासगरी यसले स्नायु प्रणाली, पाचन प्रणाली, श्वासप्रश्वास प्रणाली तथा प्रजनन प्रणालीमा नकारात्मक असर गर्दछ।

*****

दीर्घायी प्रदूषक (पप्स) के हो ?

पप्स अर्थात दीर्घायी प्रदूषक औधोगिक एवं मानव गतिविधिबाट उत्सर्जित रसायनहरूले लामो समयसम्म असर गर्दछन्। यी रसायनहरू पानीमा कम घुलनशील तथा लिपिड (बोसो) मा बढी घुलनशील हुन्छ। तसर्थ यी रसायनहरू शरीरको बोसो र तन्तुमा जम्मा हुँदै जान्छन्।

पप्स रसायनहरू वातावरणमा पानी तथा हावाको माध्यमबाट एक ठाउँबाट अर्को ठाउँमा फैलिँदै जान्छन् र बिस्तारै सम्पूर्ण पृथ्वीभरि नै यसका अवशेषहरू फैलिएर जान्छन्। यी रसायनहरू वातावरणमा छिटै नष्ट नहुने र एक ठाउँबाट अर्को ठाउँमा सजिलै फैलिन सक्ने हुन्छन्। यी रसायनहरू खाद्यचक्रमा जैविक सञ्चितीकरण (Bio-accumulation) र जैविक बिस्तार (Bio-magnification) हुँदै जाने किसिमका हुन्छन्।

मानव जाति तथा वातावरणीय अन्य जीवजन्तुहरू पप्स रसायनबाट कुनै न कुनै रूपमा प्रभावित भइरहेका छन्। अन्तर्राष्ट्रियस्तरमा हालसम्म यस्ता २८ वटा रासायनिक तत्वहरू अथवा रासायनिक समूहलाई संयुक्त राष्ट्र पप्स महासन्धिअन्तर्गत तीनवटा अनुसूचीभित्र सूचीकृत गरिएको छ।

*****

नारायणी नदी डम्पिङ साइट बन्दै

सहरीकरणसँगै मेडिकल सिटीको रूपमा विकास भइरहेको भरतपुरमा अस्पतालबाट निस्किने फोहर मुख्य समस्याका रूपमा देखापरेको छ। यहाँ जिल्ला सरकारी अस्पताल, विपी कोइराला क्यान्सर अस्पतालसँगै दुई ठूला मेडिकल कलेजलगायत झण्डै २६ अन्य ठूला निजी अस्पताल र १०० भन्दा बढी निजी पोलिक्लिनिक तथा डेन्टल क्लिनिक सञ्चालनमा छन् ।

जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रको अध्ययनअनुसार ती स्वास्थ्य संस्थाबाट वर्षमा १८०६ टन स्वास्थ्यजन्य फोहर निस्कने गर्दछ। अर्थात दैनिक बढीमा पाँच टनसम्म स्वास्थ्य संस्थाजन्य फोहर निस्किने गर्दछ।

महानगरपालिले अन्य फोहोरजस्तै अस्पतालबाट निस्कने फोहोर पनि महानगरपालिका वडा नं ३ को नगर वन छेउबाट नारायणी नदी किनारामा फाल्ने गरिएको छ। वैज्ञानिक ल्यान्डफिल्ड साइटको व्यवस्था नहुँदा नगर क्षेत्रबाट दैनिक उत्पादन हुने ६० देखि ६५ टन फोहोरलाई नारायणी नदी किनारमा लगेर फाल्ने र पुरिने गरिएको छ।

हानीकारक फोहर यसरी नदी किनारमा मिल्काउँदा नदीमा पानी खान आउने दुर्लभ मानिएको एक सिङे गैँडालगायत अन्य बन्यजन्तुहरूको अस्तित्व समाप्त हुनसक्ने खतरा बढेर जाने सम्भावना छ, सँगै जनस्वास्थ्य र वातावरण पनि यसबाट प्रभावित भैरहेको छ।

नेपालकै पहिलो निकुञ्जका रूपमा रहेको चितवन राष्ट्रिय निकुञ्ज विश्वसम्पदा सुचीकृत एवं कैयौँ सङ्कटापन जीवजन्तु, चराचुरुङ्गीको बासस्थान पनि हो। यही निकुञ्ज भएर बग्ने धार्मिक तथा पर्यटकीय महत्वको नारायणी नदी आज फोहरका कारण दिन प्रतिदिन प्रदूषित बन्दै गएको छ ।

भरतपुर महानगरपालिका क्षेत्रको फोहर केही वर्षदेखि नारायणी नदी किनारमा विसर्जन गर्ने गरिएको छ। खासगरी भरतपुर क्षेत्रका अस्पतालहरूबाट निस्कने खतरायुक्त फोहरले गर्दा जल प्रदूषण भई जलचर प्राणीहरूको अस्तित्व नै लोप हुने खतरा बढेको छ।

स्वास्थ्य संस्थाजन्य फोहोर समयमै व्यवस्थापन नगरे यहाँ ठूलो समस्या आइपर्नेमा स्थानीय बासिन्दामा पनि चिन्ता छ। भरपर्दो र स्थायी ल्यान्डफिल साइट नबन्दासम्म यसरी नै फोहर फाल्नुपर्ने बाध्यता रहेपनि अब छिटै यसको दीर्घकालीन समाधान खोजिने महानगरपालिकाले जनाएको छ।

स्वास्थ्यसंस्थाजन्य फोहरको समस्यालाई सार्वजनिक निजी साझेदारी (पिपिपि) को ढाँचामा जान सकिने महानगरपालिकाका वातावरण शाखा प्रमुख विराट घिमिरे बताउँछन्। महानगरपालिकाले जिल्लाका निजी तथा सरकारी अस्पतालमा सङ्क्रमित फोहरबारे अनुगमन गर्ने उनको भनाइ छ ।

*****

मनकामना अस्पतालमा थालिएको अभ्यास

फोहरलाई जलाउनु वा फोहर सङ्कलन गर्ने गाडीमा पठाउनुको साटो फोहरको मात्रा नै घटाउने प्रयास, पुन प्रयोग हुने, पुनः प्रशोधन हुने, पुन चक्रिय हुनसक्ने फोहरलाई श्रोतमा नै छुट्टा छुट्टै रङ्गको भाडोमा सङ्कलन गरी सुरक्षित ओसारपसार, भण्डारण, निर्मलीकरण यन्त्रद्वारा सङ्क्रमित फोहरको निर्मलीकरण आदि गर्ने गरिएको छ। उत्सर्जित फोहरलाई सङ्कलन, भण्डारण तथा प्रशोधन गर्न प्रशोधन केन्द्रको स्थापना गरेको छ।

मनकामना अस्पतालको यस प्रयासबाट स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापनको उत्तम नमूनाको शुभारम्भ भई अव्यवस्थित फोहरबाट उत्सर्जन हुँदै गरेको दीर्घायी प्रदूषक (पप्स) उत्सर्जनमा न्यूनीकरण गर्नेतर्फ ठोस योगदान पुग्ने विश्वास लिइएको छ।

स्वास्थ्य संस्थाबाट निस्किएका प्लास्टिकजन्य सिरिन्ज, ग्लोभ, स्लाइन ट्युबजस्ता फोहोर जलाउँदा अति विषाक्त दीर्घायी प्रदूषक (पप्स) रसायनहरू डाइक्सिन र फ्युरानको उत्सर्जन हुने हुँदा त्यसको उचित व्यवस्थापन गर्नका लागि नमूनाको रूपमा भरतपुर १० स्थित मनकामना अस्पताल प्रालिमा वातावरणमैत्री स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन एवं मर्करीमुक्त स्वास्थ्य सेवा, दन्त चिकित्सा सेवा नमूना कार्यक्रम सम्पन्न गरी हस्तान्तरण गरिएको छ । यस अस्पतालमा वातावरणमैत्री फोहोर व्यवस्थापन तथा मर्करीमुक्त स्वास्थ्य सेवा र मर्करीमुक्त दन्त चिकित्सा सेवा नमूना बनाउन व्यावहारिक एवं सैद्धान्तिक ज्ञान, सीप र विभिन्न चरणमा तालिमसमेत सञ्चालन जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रबाट गरिएका छन् ।

यही चिन्तालाई सम्बोधन गर्दै अस्पतालजन्य फोहोरको उचित व्यवस्थापनका लागि यसको सङ्कलनदेखि निर्मलीकरणको प्रक्रियासम्म गर्न सकिने सावधानीका बारेमा यहाँका अस्पतालहरूमा विभिन्न जनचेतनाका काम सुरु भएका छन्।

स्वास्थ्य संस्थाजन्य फोहोर मानव स्वास्थ्य र वातावरणका लागि हानीकारक भएकाले यसको उचित व्यवस्थापन कसरी गर्ने भन्ने समस्या थियो। अस्पतालमा आउने बिरामी, तिनका कुरुवा र भेट्न आउने आफन्तजनदेखि चिकित्सक र अन्य कर्मचारी यसप्रति सचेत छन्।

फोहोरको उत्पादनदेखि नै त्यसलाई अलगअलग राखी निर्मलीकरण गरेर मात्र नगरपालिकाको फोहोरमा पठाइन्छ। वातावरणमैत्री फोहर व्यवस्थापनको अभ्यास भरतपुरस्थित मनकामना अस्पतालमा देख्न सकिन्छ।

मनकामना अस्पतालमा नमूना कार्यक्रमसँगै सबै अस्पतालहरूको फोहोर अनुगमन, नापतौल तथा तालिम पनि प्रदान गरिएको अस्पतालका प्रबन्धक अमृतकुमार मास्के बताउँछन्। अस्पतालका विभिन्न कोठाबाट निस्कने फोहोरलाई स्वरूपअनुसार अलगअलग राखेर ट्रलीबाट ल्याएर फोहोर राख्ने छुट्टै घरमा राखिन्छ। त्यसरी ल्याइएको फोहरलाई फेरि केलाएर हानीकारक र विषाक्त जतिलाई निर्मलीकरण गरेर मात्रै अन्य फोहरसँग मिसाएर नगरपालिकाको गाडीमा पठाउने गरिन्छ।

मेडिकल सिटीको रूपमा विकास भइरहेको भरतपुरका अस्पतालबाट निस्कने फोहरको उचित व्यवस्थापनका लागि जनचेतनादेखि क्षमता अभिवृद्धिलगायतका काममा जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र (सिफेड)ले महत्वपूर्ण भूमिका खेलेको छ। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम, विश्व वातावरण कोष र साना अनुदान कार्यक्रम नेपालको सहयोगमा सञ्चालित परियोजनामार्फत विभिन्न जनचेतना तथा क्षमता अभिवृद्धी, साझा फोहोर प्रशोधन केन्द्र सञ्चालनमा सहयोग र नीतिगत पैरबी आदि कार्यक्रमहरु सञ्चालन भएका छन्।

अस्पतालबाट निस्कने साधारण फोहोर, तरल फोहोर खानेकुरा, प्लास्टिक, सिरिन्ज, कपास, ग्लोभ, विभिन्न म्याद गुज्रिएका औषधी, प्याथोलोजिकल फोहोर, सङ्क्रामक फोहोरको उचित व्यवस्थापन हुन नसकेको अवस्थामा यो परियोजनाले यसको प्रभावको विषयमा निकै जागरुक बनाएको सिफेडका कार्यकारी निर्देशक एवं वातावरण वैज्ञानिक, रामचरित्र साह बताउँछन्।

स्वास्थ्य संस्थाजन्य फोहोरलाई श्रोतमा नै साधारण फोहोर र संक्रमित फोहर छुट्याउने, छुट्टाछुट्टै सङ्कलन गर्ने, ओेसारपसार गर्ने, भण्डारण गर्ने गरेको छ। साधारण फोहरको उत्सर्जन घटाउनु, पुनः प्रयोग गर्ने, पुनः प्रशोधन गर्ने र सङ्क्रमित फोहरलाई जलाउनु (भष्मीकरण)को सट्टा निर्मलीकरण गर्ने, पुर्नप्रयोग गर्ने र बाँकी फोहरलाई मात्र ल्याण्डफिलसाइटमा विसर्जन गर्ने प्रणालीको विकासबाट दीर्घायी प्रदूषण (पस्पस्)को उत्सर्जन पूर्णतया उन्मूलन गरेको छ।

फोहरले गर्दा निरोगी व्यक्ति रोगी बन्छ र रोगी व्यक्ति दीर्घरोगी हुन्छ। प्रतिव्यक्ति प्रतिवेड प्रतिदिन १.६ केजीका हिसाबले भरतपुरमा रहेका ३१०० बेडहरूबाट झण्डै वर्षमा १८०५ मेट्रिक टन उत्पादन हुन्छ।

चितवनमा नमूनाको रूपमा सुरु गरिएको अस्पतालजन्य फोहोर व्यवस्थापन एउटा उदाहरण मात्र हो। आज यो समस्या देशभरिका स्वास्थ्य संस्था र सहरबासीले भोगिरहेका छन्।

देशभर नै स्वास्थ्यजन्य फोहोरमैलाको वैज्ञानिक ढङ्गले व्यवस्थापन गर्न कानुनी रूपमै बाध्यकारी व्यवस्था हुनुपर्ने देखिन्छ। चितवनबाट सुरु गरिएको यस सकारात्मक अभियानलाई देशव्यापि बनाउन आवश्यक छ। यसका लागि कुनै एक संस्थाको पहल वा कुनै दातृ निकायको सहयोग मात्र पर्याप्त हुँदैन, सरकार, सम्बन्धित निकाय र आम नागरिक पनि उत्तिकै सचेत र जागरुक हुनु पर्दछ।

जनस्वास्थ्य र वातावरणसँग प्रत्यक्ष सरोकार राख्ने यस्ता अभियानले मुलुकलाई समृद्धिको यात्रातर्फ लैजान बल पुग्दछ।

Facebook Comments