बढ्दैछन् काठमाडौँ महानगरका ‘स्मार्ट योजना’, कार्यान्वयन फितलो

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले ७ वटा स्मार्ट परियोजनाहरू अघि सारेको छ। तर, सेवा प्रदानका हिसाबले भने ती साँच्चिकै स्मार्ट हुन सकेका छैनन्।

महानगरका सात याेजना मध्ये तीनवटा सञ्चालनमा छन् भने बाँकी याेजना बनिरहेका छन् । सञ्चालनमा रहेका पनि प्रभावकारी भने देखिएका छैन् ।

उदाहरणका लागि अहिले सञ्चालनमा भएका दुई परियोजनालाई लिन सकिन्छ। पहिलो न्यूरोडको स्मार्ट पार्किङ र अर्को स्मार्ट डस्टविन। सञ्चालनमा आएसँगै विवादित बनेको स्मार्ट पार्किङ उचित व्यवस्थापनको अभावनमा खासै प्रभावकारी देखिएको छैन् । शुल्क तथा अन्य विभिन्न विषयलाई लिएर स्मार्ट पार्किङको आलोचना भइरहेको छ। स्मार्ट पार्किङले चार पाङ्ग्रे सवारीलाई सहज बनाए पनि दुई पाङ्ग्रेलाई धेरै नै असुविधा पुगेको, पैदलयात्री तथा भरियालाई असहज भएको लगायतका गुनासो बढिरहेको छ।
त्यसैगरी महानगरले सञ्चालनमा ल्याएको स्मार्ट डस्टविन पनि खासै प्रयोगमा आएको देखिदैन। सरकारले ३ करोड खर्चेर काठमाडौँका विभिन्न स्थानमा स्मार्ट डस्टविन राखेपनि यसबारे सर्वसाधारणलाई जानकारी नहुँदा पूर्णरूपमा प्रयोगमा आउन सकेको छैन।

डस्टविन कसरी प्रयोग गर्ने विषयमा सर्वसाधारणलाई जानकारी गराउन नसक्नाले स्मार्ट डस्टविन प्रभावकारी बन्न नसकेको महानगरका प्रवक्ता ईश्वरमान डंगोल बताउँछन्।

अहिले माइतीघर, बिजुलीबजार, बानेश्वर, कोटेश्वर, गौशाला, मित्रपार्क, दरवारमार्ग, सुन्धारा, सहिदगेट, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, थापाथली, टुँडिखेल, पुतलिसडक मिनभवन, तीनकुने, चावहिल, टेकु, त्रिपुरेश्वर, बबरमहल, वीर अस्पताल, भोटाहिटी, रत्नपार्क, शान्तिवाटिकालगायतका ६० स्थानमा स्मार्ट डस्टबिन राखिएको छ।

यसका साथै महानगरले ५ औं नगर सभाबाट आर्थिक वर्ष २०७६/०७७ का लागि स्वीकृत नीति कार्यक्रम आइतबार सार्वजनिक गर्दै अन्य स्मार्ट योजना अघि सारेको छ। तर, अहिले सञ्चालनमा आएका योजनाको कार्यान्वयन नै फितलो हुँदा आगामी योजना सफल हुनसक्नेमा भने शंका पैदा भएको छ।

यस्ता छन् महानगरका अन्य स्मार्ट योजना
स्मार्ट एम्बुलेन्स
हाल काठमाडौँ महानगरले रेडक्रससँग सहकार्य गरेर काठमाडौँ उपत्यकामा १० वटा स्मार्ट एम्बुलेन्स सञ्चालन गरिरहेको छ।

स्मार्ट एम्बुलेन्समा जिपिएस जडान गरिएकाले फोन कुन ठाउँबाट आएको हो सहजै थाहा हुने प्रवक्ता डंगोलले बताए। उक्त एम्बुलेन्समा नर्स, अक्सिजन, प्रारम्भिक उपचारका साथै तल्काल आवश्यक पर्ने सबै औषधीको व्यवस्था गरिएको छ।

जेष्ठ नागरिक र आर्थिक अवस्था कमजोर भएकाहरूको लागि महानगरले निःशुल्क सेवा दिँदै आएको छ।

स्मार्ट शौचालय
महानगरलें उपत्यकाको भीडभाड र मान्छेको आवत जावत हुने क्षेत्रलाई पहिचान गरेर स्मार्ट शौचालय निर्माण गर्ने प्रक्रियामा अघि बढाए पनि निर्माणको काम भने शुरू गरेको छैन्।

यसका लागि महानगरले बनाएको दुई छुट्टै कार्यदल प्रतिबेदन बझाइसकेको महानगरका प्रवक्ता डंगोलले जानकारी दिए।

महानगरले पहिलो चरणमा टेकु चोक, सानेपा पुल, कालिमाटी, कलंकी, सीतापाइला, बालाजु, माछापोखरी, गोंगबु प्रहरी चौकी, महाराजगन्ज, सुकेधारा, चाबहिल, मित्रपार्क, जयबागेश्वरीमा स्मार्ट शौचालय निर्माण गर्ने जनाएको छ।

त्यस्तै, गौशाला, तीनकुने, कोटेश्वर, नयाँबानेश्वर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, एनएसी, न्यूरोड जुद्ध सालिक आसपास, हनुमानढोका, जमल, लैनचौर, सोह्रखुट्टे, बल्खु र कुलेश्वरमा पनि पहिलो चरणमै निर्माण गर्ने योजनामा महानगर छ । बाँकी स्थानमा दोस्रो चरणमा निर्माण गर्ने योजना महानगरको रहेको छ।

डंगोलका अनुसार नयाँ बन्ने सार्वजनिक शौचालय बालमैत्री, महिलामैत्री र अपांगतामैत्री हुनेछन्। हरेक सार्वजनिक शौचालयमा स्यानिटरी प्याड, पर्याप्त पानी, बत्ती र सुविधाजनक शौच गर्ने ठाउँ हुनेछ। पर्याप्त जग्गा भएको ठाउँ हेरेर महिला, पुरुष र अपांगता भएका व्यक्तिका लागि छुट्टाछुट्टै डिजाइनमा निर्माण गरिने उनले जानकारी दिए।

महानगरले शौचालय निर्माण गर्ने ठाउँ वरिपरिको वातावरण पनि सफासुग्घर र व्यवस्थित गर्न कार्यविधी बनाएको छ। यसअन्तर्गत प्रत्येक शौचालय छेउमा कफीसप सञ्चालन गरिनेछ।

स्मार्ट प्रतिक्षालय
महानगरले बसस्टप र बसर्पाक क्षेत्रमा स्मार्ट प्रतिक्षालय निर्माण गर्ने भएको छ। आरएनसी, रत्नपार्क, राष्ट्रिय सभा बाहिर, त्रिपुरेश्वर, माइतिघर लगायतका स्थानमा स्मार्ट प्रतिक्षालय बनाउने योजना बनाएको छ।

अहिलेका यात्रु प्रतिक्षालयलाई नयाँ तरिकाले परिमार्जन गर्ने र कतिपय ठाउँमा नयाँ प्रतिक्षालय थप्ने तयारी रहेको प्रवत्ता डंगोलले बताए। लामो समय देखि निर्माणको योजना भएको भएपनि प्रविधिक कारणहरूका कारण काम शुरू हुन नसकेको उनी बताउँछन्।

प्रतिक्षालयको माथि कुन रुटको गाडी त्यो ठाउँमा आउँछ र त्यहाँबाट कहाँ जान्छ भन्ने जानकारी सहितको ‘डिजिटल डिस्प्ले हुने उनले बताए।

स्मार्ट प्रतिक्षालयमा विज्ञापन राखिने भएकाले महानगरको खर्च नलाग्ने उनले जनाए । प्रारम्भिक डिजाइन आइसकेको र त्यसलाई केही परिमार्जन गर्नुपर्ने भएकाले निमार्णको जिम्मेवारी निजी कम्पनीलाई दिने योजना भएपनि पुरा निर्णय नभएको उनको भनाई छ। उक्त प्रतिक्षालयमा घडी र डस्टबिन पनि राखिने उनले बताए ।

स्मार्ट जेब्राक्रसिङ
काठमाडौँ महानगपालिकाका भित्र पैदल यात्रुको धेरै ओहोरदोहोर हुने ठाउँमा स्मार्ट जेब्राक्रसको योजना रहेता पनि कार्यान्वयन भने विभिन्न समस्या उत्पन्न भएको प्रवक्ता डंगोलको भनाइ छ।

स्मार्ट जेब्राक्रसिङ कति राख्ने र कुन कुन ठाउँमा राख्ने भन्नेबारे अध्ययन भएतापनि व्यवहारमा लागू गर्न नसकिएको उनको भनाई छ।

महानगरपालिकाले सडक विभाग र ट्राफिक प्रहरीसँग सहकार्य गरेर स्मार्ट जेब्राक्रस बनाउने भन्दै आर्थिक वर्ष ०७५/०७६ को लागि ५० लाख बजेट विनियोजन गरेको थियो।

स्मार्ट ट्याक्सी स्टयाण्ड
महानगरसँग स्मार्ट ट्याक्सी स्टयाण्डको योजना भएपनि त्यो परियोजना छलफलमा मात्रै सीमित भएको छ।

Facebook Comments