विश्व बाघ दिवसः बाघको सङ्ख्या दोब्बर पार्ने लक्ष्य प्रगति उन्मुख, बासस्थान व्यवस्थापन खाेइ ?

काठमाडौँ – सोमबार विश्वभर अन्र्तराष्ट्रिय बाघ दिवस मनाइरहँदा बाघ पाइने विश्वका १३ देशमध्येको एक नेपालमा बाघ दोब्बर बनाउने लक्ष्य नजिक पुग्न लागेको सरकारी अधिकारी र संरक्षणकर्ताले दाबी गरेका छन्।

सन् २०१० मा रसियाको सेन्ट पिटस्वर्गमा बाघ पाइने १३ देशवीच भएको बैठमा नेपालले बाघको सङ्ख्या दोब्बर पार्ने घोषणा गरेको थियो। त्यत्तिबेला नेपालमा बाघको सङ्ख्या १ सय २१ मात्र थियो। सन् २०१८ मा त्यो सङ्ख्या बढेर २ सय ३५ पुगेको छ। तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले सो प्रतिवद्धता जनाएको थियो। बाघको सङ्ख्या २५० बनाउने लक्ष्य लिइएको छ र गत वर्षको गणनापछि नेपाल अझ उत्साहित भएको छ।

ललितपुरकाे जावलाखेलस्थित सदर चिडियाखानामा रहेकाे पाटेबाघ। तस्वीर : अमिष रेग्मी

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अधिकारीदेखि अरु साझेदार संस्थाका विज्ञ पनि बाघ दोब्बर हुनेमा विश्वस्त देखिन्छन् । यही अनुपातमा बाघको सङ्ख्या बढ्दै जाने हो भने निर्धारित समयमा बाघको सङ्ख्या दोब्बर पुर्‍याउन त्यत्ति गाह्राे नहुने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. मनबहादुर खड्का ठोकुवा गर्छन् । ‘बाघ बढिरहेको विवरण प्राप्त गरिरहेका छौँ,’ उनले भने, ‘चितवनमा घटे पनि समग्र देशमा बढ्दै गएको तथ्याङ्क छ, यसले केही स्थानमा थपघट देखाए पनि बढ्दै जाने सङ्केत देखाएको छ ।’

सरकारी अधिकारी मात्र होइन, अन्य सरोकारवाला पनि बाघको सङ्ख्या बढ्नेमा ढुक्क छन्। बाघविज्ञ डा. चिरञ्जीवीप्रसाद पोखरेल पनि तथ्याङ्कको हिसाबले बाघ बढ्दै गएकाले दोब्बरको लक्ष्य पूरा हुनेमा विश्वस्त छन्। यद्यपि उनी विभिन्न राष्ट्रिय निकुञ्ज र आसपासका जङ्लमा बाघको सङ्ख्यामा वृद्धि भएसँगै चुनौती पनि उत्तिकै थपिदै गएको पनि बताउँछन्।

‘बढेको बाघको सङ्ख्यालाई हामी कत्तिको थेग्न सक्छौँ’, उनले भने ‘यदि हामीले बासस्थान सुधारको व्यवस्थापन गर्न सकेनौँ भने बाघलगायत अरू बन्यजन्तुको सङ्ख्या घट्ने सम्भावना पनि उत्तिकै रहनेछ ।’ नेपालका चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गरी ५ स्थानमा बाघ पाइन्छ । सन् २०१६ को डब्लुडब्लुएफको तथ्याङ्कअनुसार विश्वमा पाइने ३ हजार ८ सय ९० मा आधाभन्दा बढी बाघ भारतमै पाइन्छन्। भारतमा २ हजार २ सय २६ बाघ रहेका छन् । सङ्ख्याका हिसाबले नेपालभन्दा बढी बाघ रहेका भारत, रसिया, इण्डोनेसिया, र मलेसियाले भन्दा बाघको सङ्ख्याबृद्धिमा पछिल्लो समय नेपालले राम्रो फड्को मारेको विभागका इकोलोजिस्ट हरिभद्र आचार्य बताउँछन् ।

‘नेपाल बाघको सङ्ख्या दोब्बर पार्ने लक्ष्य नजिक पुगेको छ, उनले भने, ‘यही रफ्तारमा गए नेपाल संसारकै बाघ दोब्बर पार्ने पहिलो मुलुक बन्नेछ । छिमेकी भारत, भुटान र बंगलादेशमा बाघ पाइने भए तापनि नेपाल अरू देशको तुलनामा बाघको सङ्ख्या दोब्बर पार्ने अभियानमा हामी अगाडि बढेका छौ,’ उनले थपे ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काका अनुसार नेपाल बाघको सङ्ख्या दोब्बर पार्ने लक्ष्य नजिक रहेको छ । ‘नेपाल बाघ दोब्बर पार्ने लक्ष्य नजिक छ , उनले भने, ‘तर दोब्बर पार्न बासस्थान , आहारा लगायतका चुनौती पनि थपिँदै गएका छन्।’ सन् २०१८ को राष्ट्रिय बाघ गणनाको तथ्याङ्कअनुसार बर्दियामा ८७ , चितवनमा ९३ , पर्सामा १८ , शुक्लाफाँटामा १६ र बाँकेमा २१ वटा बाघ रहेका छन् । बर्दिया, बाँके, पर्सामा बाघ बढे पनि चितवनमा २७ वटा बाघ घट्दा शुक्लाफाँटामा पनि एउटा घटेको छ ।
बाघको निकुञ्गत अवस्था यस्तो छ :

चितवन राष्ट्रिय निकुञ्ज
नेपालकै सबैभन्दा बढी बाघ पाइने राष्ट्रिय निकुञ्जका रूपमा चितवन राष्ट्रिय निकुञ्ज रहेको छ । नेपालमा पाइने कूल २ सय ३५ वटा बाघमा यहाँ ९३ वटा बाघको तथ्याङ्क रहेको निकुञ्जका चिफ वार्डेन वेदकुमार ढकालले जानकारी दिए । सन् २०१० मा ९१ वटा बाघ रहेको यस चितवनमा सन् २०१४ मा बढेर १ सय २० वटा बाघ पुगेका थिए । गत वर्ष सन् २०१८ मा आएर बाघको सङ्ख्या घटेर ९३ पुग्यो ।

तवनमा सङ्ख्या घटनुमा चोरी सिकारी, आहारा प्रजाति , बाढी आदिका कारण रहेको हुनसक्ने विज्ञहरू औल्याउँछन् । वार्डेन ढकाल अब सङ्ख्या बढाउनका लागि निकुञ्जले प्रयास थालिसकेको बताउँछन् । उनका अनुसार त्यहाँका पानीका स्रोत र घाँसे मैदानको व्यवस्थापन तथा आहारा प्रणालीको विकासका लागि निकुञ्ज गम्भीर छ । यहाँको क्षेत्रफल सानो छ , २०७४ को बाढीले बाघका आहारा बगाएको छ , उनले भने , ‘बाघ संरक्षण र सङ्ख्या बढाउनमा चुनौती नभएका होइनन् । हामीले मानव वन्यजन्तुको द्वन्द्व कम गर्ने प्रयास, चोरी सिकार नियन्त्रण गर्दै सरोकारवाला निकायलाई अरु जनचेतनाका कार्यक्रममा अगाडि बढाउँदैछौँ , उनले भने । २ वर्ष अघिको बाढीले बाघका आहाराका थुप्रै प्रजाति बगाएको अनुमान छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज
चितवन पछि सबैभन्दा बढी बाघ पाइने बर्दिया राष्ट्रिय निकुञ्ज हो । यहाँ ८७ वटा बाघ रहेको तथ्याङ्क छ । सन् २०१० मा ३७ वटा बाघ रहेको बर्दियामा सन् २०१४ मा ५० र सन् २०१८ मा ८७ वटा बाघ रहेको पाइएको छ । गणनाको सुरुवातबाटै यहाँ बाघको सङ्ख्या बढ्दै गएको निकुञ्जका चिफ वार्डेन अड्नाथ बरालले जानकारी दिए । बाघको यो सङ्ख्या असाध्यै राम्रो हो, उनले भने, ‘यहाँ आहारा प्रजाति पनि राम्रो छ । यो निकुञ्जमा चित्तल, जरायो, बाह्रसिंगे लगायतका बाघका आहारा पाइन्छ । चिफ वार्डेन बरालका अनुसार यहाँ घाँसे मैदानको अभाव, मध्यवर्ति क्षेत्रमा वन अतिक्रमण, बबई सिँचाई नहरमा आउने बाढी , गेरुवा नदीको जलस्तर घट्नु लगायतका समस्याले बाघ संरक्षणमा चुनौती देखिएका छन् । पूर्वपश्चिम राजमार्गमा सवारीसाधनले केही समय अघि २ वटा बाघ मरेको थियो । त्यसको समस्या समाधानका लागि निकुञ्ज क्षेत्रमा सवारीको गति पनि सीमित पारिएको छ ।

बाँके राष्ट्रिय निकुञ्ज

सन् २०१८ को गणनाअनुसार बाँके राष्ट्रिय निकुञ्जमा २१ वटा बाघ पाइएका छन् । चितवन र बर्दियापछि यहाँ सबैभन्दा बढी बाघ रहेका छन् । सन् २०१० मा एउटा पनि बाघ नभेटिएको बाँकेमा सन् २०१४ मा ४ वटा र त्यसपछि २१ वटा बाघ गणना गरिएको हो । ‘यहाँ बाघका लागि चाहिने वातावरण राम्रो छ ,’ चिफ वार्डेन युवराज रेग्मीले भने, ‘आहारा र बासस्थान राम्रो छ । मुख्यतय हामीे बासस्थानलाई अझ राम्रो बनाउने प्रयास गरिरहेका छौँ । यहाँ जरायो, चित्तल , बँधेल लगायतका बाघका मुख्य आहारा प्रजातिका जनावर पाइन्छ ।

पर्सा राष्ट्रिय निकुञ्ज

नेपालमा औपचारिक रूपमा बाघ गणना सुरु भए यता पर्सा राष्ट्रिय निकुञ्जले पनि बाघको सङ्ख्या बढेको आँकडा देखाएको छ । पछिल्लो गणनामा यहाँ १८ वटा बाघ रहेका छन् । सन् २०१० मा ४ वटा बाघ रहेको पर्सामा सन् २०१४ मा बढेर ७ वटा पुगेका थिए । त्यपछि यहाँ ११ वटा बाघ बढेको पाइएको छ । पर्साका चिफ वार्डेन अमीर मर्हजन बाघ संरक्षणमा हामी लागिरहेकाले पक्कै सङ्ख्या बढ्ने बताए । निकुञ्जले अहिले बासस्थान, पानीको व्यवस्थापन र आहारा व्यवस्थापनका लागि पहल गरिरहेको छ , उनले भने , ‘घाँसे मैदानका लागि हामी पहल गरिरहेका छौँ ।’ उनका अनुसार बाघ संरक्षणसँग मानव वन्यजन्तुको द्वन्द्वमा पनि निकुञ्जले ध्यान दिएको छ। अरू जनावरको पनि सुरक्षामा निकुञ्ज लागेको छ। निकुञ्जको पूर्वी क्षेत्रमा निकुञ्ज विस्तार भएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज
शुक्लाफाँटामा अघिल्लो गणनाभन्दा गत वर्षको गणनामा एउटा बाघको सङ्ख्या घटेको छ। शुक्लाफाँटामा सन् २०१४ मा १७ वटा बाघ थिए। त्यही सङ्ख्याबाट सन् २०१८ मा १६ वटा बाघ पुगेका छन् । त्यहाँका चिफ वार्डेन लक्ष्मण पौडेलले एउटा सङ्ख्या घट्नु त्यत्ति घटेको भन्न नमिल्ने बताए । बाघका लागि राम्रो घाँसे मैदान भएको क्षेत्रका रूपमा यो निकुञ्ज रहेकाले बाघको सङ्ख्या बढ्ने आशा उनको छ। यद्यपि यहाँ पोथीको तुलनामा भालेको सङ्ख्या धेरै छ । उनका अनुसार यहाँ बाघको सङ्ख्यास्थीर छ। सन् २०१० मा १० वटा बाघ रहेको यो निकुञ्जमा सन् २०१४ मा १७ वटा रहेका थिए । यहाँ बाघका आहारा बाह्रसिंगे, बँदेल, निलगाईलगायत छन्। संरक्षणका लागि घाँसे मैदानको उचित व्यवस्थापन, आहारा अनुगमन सँगै रानीताल , चौघरनदी , सिकारी ताल लगायतका तालतलैया संरक्षण गरिएको छ ।

यसमा सदर चिडीयाखाना जोडिएको छैन । हाल यहाँ ४ वटा बाघ रहेका छन् । यसैगरी सन् २००८÷०९ को गणनामा सुरुमा चितवन नजिकको चुरीया क्षेत्रलाई गणना नगरिएको र पछि गणना गर्दा त्यहाँ थप ३०–३५ वटा बाघ भएको अनुमान गरिएको तत्कालीन समयमा विभागका इकोलोजिस्ट रहेका हालका वन तथा वातावरण मन्त्रालयका सहसचिव डा महेश्वर ढकालले जानकारी दिए । उनका अनुसार गणनाका क्रममा देशभर १ सय ५५ वटासम्म बाघ आए पनि त्यत्तिबेला चुरीयाको गणना आधार नमान्ने भन्दै १ सय २१ बाघलाई सदर गरिएको थियो।
बाघकाे तथ्यांक
विश्वमा ६ प्रजातिका बाघ
विश्वमा ६ प्रजातिका बाघ पाइने भए तापनि पाटे बाघ धेरै मात्रा पाइएका छन् । बाघका अन्य प्रजातिहरू अमुर , इन्डो चाइनिज , मलायन , सुमात्रन रहेका छन्। बाघ वातावरण संरक्षणको सूचक हो । बाघ रहे वनजङ्गल , तराई चुरे र जलाधार पनि संरक्षण हुने विज्ञहरूको भनाइ छ।

१३ देशमा बाघ
विश्वका १३ देशमा मात्र बाघ पाइने विज्ञहरूले बताएका छन्। एसियामा नेपाल, भारत, भुटान, बंगलादेश, थाइल्याण्ड, इन्डोनेसिया , मलेसिया, कम्बोडिया, चिन, लाओस् , म्यानमार , भियतनाम र रसियामा बाघ पाइन्छ । विश्वमा सबैभन्दा धेरै भारतमा बाघ पाइन्छ भने उत्तर कोरियामा बाघ पाइए पनि त्यहाँ गणना भएको छैन्। १ सय वर्ष अघि १ लाखको हाराहारीमा रहेको बाघको सङ्ख्या विभिन्न मानवीय कृयाकलापका कारण घटेर ३५ सयको हाराहारीमा पुगेको सम्बन्धित विज्ञहरूको भनाइ छ।

तर वन्यजन्तुको क्षेत्रमा क्रियासिल विश्व वन्य जन्तु कोष लगायतका संस्थाहरुले विभिन्न निकुञ्जमा वाघ र अन्य वन्यजन्तुको भईरहेको मृत्युको बारेमा ध्यान नदिईरहेको सरकारी अधिकारीको गुनासो रहेको छ। साथै, संख्या बढेपनि त्यसको व्यवस्थापनमा संरक्षणमा क्रियाशिल संस्थाहरुको ध्यान नजाँदा भविस्यमा संकट आउन सक्ने देखिन्छ। त्यसैले संख्या बढ्यो भनेर प्रचारवाजी गर्ने मात्र होइन्, व्यवस्थापनमा संस्थाहरु चुक्ने त होइन भन्ने प्रश्न खडा भएको छ।

Facebook Comments