बाघ संरक्षणकर्मी थारू भन्छन्, ‘कसैले आँखा उपचारमा सहयोग गरे आभारी हुने थिएँ’


खाता क्षेत्र जैविकी मार्ग
हरियाली बनाउँ है
स्वतन्त्र होस् हिंड्ने बाटो वन्यजन्तुको
इन्डियाको बघिनी नेपालमा आउने
नेपालको बाघसँग मायाप्रिति लगाउने
बघिनी र बाघको माया प्रिति नछुटाउँ
वन्यजन्तु हिँड्ने बाटो बाधा नपुर्‍याउँ
खाता क्षेत्र जैविक मार्ग हरियाली बनाउँ है

बर्दियामा लामो समयदेखि वन्यजन्तु संरक्षणमा क्रियाशील भदै थारू यही गीत मार्फत वन्यजन्तु जोगाउन अपिल गर्दै हिँड्छन्। केही समय पहिले मधुवन गाउँपालिका, वडा नं ३ खाता गाउँको खाता सामुदायिक वनको कार्यालयमा संचारकर्मीसँग भएको भेटघाटको शुरुवात नै उनले यही गीत मार्फत गरे।

युवादेखि वृद्धासम्मलाई बाघ संरक्षणको महत्त्व बुझाउन हरेक ठाउँमा आफ्नै आवाजले गीत सुनाउँछन्। उसो त उनको गीत सुनेर धेरै युवा प्रेरित पनि हुन्छन् । ५० वर्ष नाघेका उनी बर्दियामा रहेको खाता जैविक मार्ग जोगाउन तल्लिन छन् । बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कर्तनियाघाट वन्यजन्तु आरक्ष जोड्ने एक मात्र मार्ग हो– खाता जैविक मार्ग।

भारत र नेपालको निकुञ्जमा रहेका वन्यजन्तु विशेषतः बाघ र हात्तीले आवतजावतका लागि यही मार्गको प्रयोग गर्छन्। क्यामेरामा ट्रयापिङ्ग गर्दा बाघले खाता जैविक मार्ग धेरै प्रयोग गरेको देखिएसँगै यसले त्यस मार्गमा पर्ने बस्तीका मानवसँग द्वन्द्वको सृजना गर्नेमा स्थानीय चिन्तित पनि छन्।

यस्तै द्वन्द्व कम होस्, वन्यजन्तु पनि सुरक्षित होऊन् र वन्यजन्तुको महत्त्व मानवले बुझून् भनेर उनी दिनरात बाघ संरक्षणमा लागिरहेका छन्। बर्दियाकै जमिन्दार नारायणविक्रम रानाको घरमा उनी कमैया बसेका थिए। कामको लागि भारत पनि गए तर पछि स्वदेश फर्केर कृषि पेसा अँगाले। अनि वन र वन्यजन्तुको संरक्षणमा सक्रिय भदै थारू २०६० मा गौरी महिला सामुदायिक वनका अध्यक्ष भए।

वन्यजन्तु र बाघको संरक्षणमा स्थानीयस्तरमा चेतना जगाउने र विभिन्न कार्यक्रममा आफूलाई सक्रिय बनाउँदै लगेका भदैका लागि एउटा यस्तो दिन आयो जुन उनले कहिल्यै कल्पनासमेत गरेका थिएनन्। अध्यक्ष बनेको ६ महिनापछि २०६० पुष २२ गते गस्तीमा हुँदा उनको बाघसँग जम्काभेट भयो। बाघसँग जङ्गलमा भीडन्तको अवस्था कति चुनौती थियो होला ? सहजै अनुमान गर्न सकिन्छ । तर, उनले हिम्मत हारेनन् र बाघको आक्रमणबाट उम्किए।

त्यो दिनको सम्झना गर्दै उनी भन्छन्, ‘नियमित वन निरीक्षणको लागि निस्किएको थिएँ, एक्कासी बाघले आक्रमण गर्‍यो,’ उनले थपे, ‘एक्कासी बाघले मेरो देब्रे आँखामा पञ्जा हान्यो, मैले पनि आफूलाई बचाउन भरपुर कोसिस गरेँ।’

उनका अनुसार त्यहाँ २ वटा बाघ थिए । उनलाई एउटा बाघले अगाडिबाट आक्रमण गरेको थियो । आक्रमणले उनको दब्रे आँखा फुट्यो । जसोतसो उनी बाघको आक्रमणबाट बाँच्न सफल भए । त्यो दिन उनको लागि निकै पीडादायी थियो । तर, उनले त्यस्तो समयमा पनि बाघलाई आफ्नो शत्रु सम्झिएनन्, बरु एउटा सङ्कल्प लिए, बाघको संरक्षणमा जीवन बिताउने।
बाघसँग भीडन्तमा आँखा गुमेकोे १६ वर्ष बितिसकेको छ । उनी हरेक पल बाघले दिएको घाउको पीडा सँगै लिएर हिँड्छन्– फुटेका आँखा, त्यसमा लागेको बाघको विष र पीडा । पलपल उनलाई बाघसँगको त्यो भीडन्तले बिगतको स्मृतिलाई ताजा बनाउँछ ।

बाघले उनको एउटा आँखा नै लग्यो, जीवनभर अपाङ्ग बनाइदियो । वन्यजन्तुको महत्व उनलाई नहुनु पर्ने हो। तर, बाघ संरक्षण गर्ने उनको सङ्कल्पले बिराम लिएन, बरु त्यो सङ्कल्प पुरा गर्ने बाटो पहिल्याउन थाले । यो उनको आफ्नै अनुभवले दिएको ज्ञान हो। औपचारिक रूपमा १ कक्षा मात्र पढेका भदै थारू अहिले सबैलाई संरक्षणको ज्ञान बाँढ्छन्।

उनी भन्छन्, ‘बाघसँग मेरो सम्बन्ध नङ्ग र मासुजस्तै छ, बाघ हाम्रो जीवनसँग जोडिएको छ, भोलि यो प्रजाति सकियो भने हामी पनि रहन्नौँ ।’ ठाउँ –ठाउँमा नाटक देखाउनु, जनचेतना जगाउनु, युवाहरूलाई चुट्किला सुनाउदै बाघ संरक्षणमा प्रेरित गर्नु उनको मुख्य काम भएको छ। उनी स्वदेशमा मात्र होइन, बाघ संरक्षणको तालिम र सल्लाह भारतीय पक्षलाई पनि दिन्छन्।

यो उनका लागि सुखद पक्ष हो । यसमा उनी सन्तुष्ट छन् । अझ उनले त्यो बेला आफूलाई धेरै भाग्यमानी सम्झिए जुन बेला बाघ संरक्षणकर्ता तथा विश्वविख्यात हलिउड अभिनेता लियोनार्दो डिक्याप्रियोले उनीसँग भेट गरे । बाघको आक्रमणले आँखा गुमेका उनलाई लियोनार्दोले आफ्नो चस्मा नै उपहार स्वरुप दिए । त्यो बेलाको खुसी सम्झदै उनले भने, ‘२० मिनेट मेरो उहाँसँग गफ भयो । मलाई बाघ आक्रमणमा परेको विषयमा सोध्नु भयो। मैले पनि मेरा सबै कहानी सुनाएँ । मलाई पिठ्युमा धाप मार्दै उपहार स्वरुप आफ्नो चस्मा झिकेर दिनुभयो ।’

उनी बाघ संरक्षणमा लागेका छन् सन्तुष्टी पनि व्यक्त गर्छन तर उनको आफ्नै आँखाको भने उपचार राम्रोसँग हुन सकेको छैन् र उपचारको याचना गरिरहेका छन् । धेरै गैरसरकारी संस्थाले उनको कामको प्रशंसा त गर्छन, तर उनको उपचारमा भने कसैको ध्यान पुगेको छैन्। ‘म अपाङ्ग जस्तै छु तर मलाई सबैले सम्मानको दृष्टिले हेर्छन्,’ उनले भने, ‘लियोनार्दोको चस्माले मलाई खुसीको ज्योति दिएको छ ।’ उनी चस्मा नलगाइ हिँड्न सक्दैनन् । उनी भन्छन्, ‘आँखामा लागेको बाघको पञ्जाको विषले अझै दुख दिन्छ । कसैले उपचार गर्न सहयोग गरिदिए आभारी हुने थिँए । ’

आर्थिक रूपमा कमजोर भए पनि उनको आत्मबल भने कम भएको छैन। उनी पूर्णकालिन रुपमा कृषिमा निर्भर छन्। उनको परिवारले कृषि पेशा गर्छन् र घर चलाउन किराना पसल पनि मिलेर चलाउँछन्। घरका अन्य सदस्यले आर्थिक व्यवहार सम्हालेकाले उनले बाघ संरक्षणमा आफूलाई सक्रिय रुपमा लगाउन पाएका छन्।

जङ्गलमा बुढा बाघ स्याहारमा उनी कहिल्यै थाक्दैनन्। गौरी महिला सामुदायिक वनका अध्यक्ष र खाता सामुदायिक वन सिएफसीसीका उपाध्यक्ष रहेका भदै बुढो बाघ स्याहार्न लागि परेका छन्। अहिले जङ्गलमा धेरै बाघ बूढा भएको उनी बताउँछन्। बाघको नियमित अनुगमन गर्दा बाघको दिशाबाट उनीहरूले बुढो बाघ पत्ता लगाउँछन्।

‘म कुनै विशेषज्ञ त होइन, तर आफ्नै अनुभव र सीपले बाघले किरा, फ्टयांग्रा, भ्यागुतो खाएको दिशाबाट पत्ता लगाउने गर्छु। र उनीहरूको उपचार, खानाको व्यवस्थाको लागि पहल गर्छु ।’ उनी भन्छन्, ‘पहिला बाघ संरक्षणमा हिरोको रोल खेलेँ । अब बुबाको रोल खेल्दैछु। ’

उनीहरूलाई आहारको व्यवस्था र उपचारको लागि खाता सामुदायिक वन मार्फत नै सहयोग गर्छन् । खाता सामुदायिक वन सिएफसीसीलाई विश्व वन्यजन्तु कोष र नेपाल सरकारको संयुक्त कार्यक्रम तराई भूपरिधि कार्यक्रमले आर्थिक रुपमा सहयोग गर्छ।

अहिले खाता जैविक मार्गमा बाघको संख्या बढेको छ । खाता जैविक मार्गमा पछिल्लो तथ्यांक हेर्ने हो भने २२ वटा बाघ नियमित आवतजावत गर्छन् । नेपाल र भारतले संयुक्त रुपमा मिलेर क्यामेरा ट्रयापिङ गर्दा खाता जैविक मार्ग एकदमै बढी प्रयोगमा आएको देखिएको थियो । केही वर्ष अगाडि बाघको संख्या खाता जैविक मार्गमा जम्मा ७ वटा थियो।

स्थानीयले बाघको संख्या बढाउन ठूलो भूमिका खेले पनि अब त्यही बाघले बस्तीमा दुःख दिने घटना बढ्दै गएका छन् । यो जोखिमले भोलि बाघको अस्तित्व नै सङ्कटमा पर्न सक्ने उनको बुझाइ छ । बाघ पहिला नपुग्ने ठाउँमा पनि अहिले पुग्न थालेकाले उनी केही चिन्तित छन् । नेपाल सरकारले भने यो विषयमा धेरै चासो नदिएको उनी बताउँछन्।

अहिले खाता जैविक मार्गमा विश्व वन्यजन्तु कोष र नेपाल सरकारको संयुक्त ताल कार्यक्रमले मात्र संरक्षणमा सक्रियता देखाएको छ । तर, यो कार्यक्रमले मात्र बाघ संरक्षण र जनताको सुरक्षा पूर्ण नहुने उनको भनाइ छ।

यसको लागि गाउँमा बाघ पस्न नदिन जाली हाल्ने, सोलार फेन्सहरू हाल्न सरकारले धेरै कार्यक्रम ल्याउन आवश्यक रहेको उनी बताउँछन्।

उनी भन्छन्, ‘सरकारले बाघ संरक्षणमा विभिन्न कार्यक्रम ल्याएर स्थानीय र वन्यजन्तुको द्वन्द्व कम गर्न पहल गर्नुपर्छ। ’ यद्यपी यो द्वन्द्व बढ्दै गएको र क्षतिपूर्तिमा राष्ट्रिय निकुञ्जले सक्रियता नदेखाउने उनले जनाए।

खाता जैविक मार्ग जोगाउन र बाघ संरक्षणमा स्थानीय जनताले बलिदान दिएका छन् । यसको लागि विभिन्न सामुदायिक वन मार्फत ५ हजार जनता सक्रिय छन्।

तर, भोलि खाता जैविक मार्गमा समस्या आए सबै पसिना खेर जाने हो कि भन्ने उनको चिन्ता छ । उनी भन्छन्, ‘बाघ संरक्षणमा म वा स्थानीय जनता मात्र होइन अब सरकार पनि हिरो बन्नुपर्छ।’

बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत असोक भण्डारीले सरकार र समुदाय मिलेर गरेको संरक्षणको कारण बर्दियामा बाघको संख्या ५० बाट बढेर ८७ वटा पुगेको बताउँछन्। खाता जैविक मार्गले बाघलाई झनै संरक्षण गर्न मद्दत पुगेको उनी बताउँछन्। बाघको संख्या बढ्दा वन्यजन्तु र जनताबीच द्वन्द्व बढ्ने जोखिम पनि उत्तिकै रहेको बताउँदै प्रभावित ठाउँका जनताको सुरक्षाको लागि राष्ट्रिय निकुञ्जले तार जाली, सोलार फेन्स, पर्खाल, बाँस सिउँडी लगाएको उनले बताए।

Facebook Comments