बाहिरी चक्रपथमा लगानी गर्न चीन तयार, बल सरकारकाे ‘काेर्ट’मा

काठमाडौँ – लामो समयदेखि चर्चामा रही अगाडि बढ्न नसकेको बाहिरी चक्रपथ निर्माणमा लगानी गर्न चीन इच्छुक देखिएको छ।

छ महिना अगाडि काठमाडौँस्थित चिनिया दूतावासले आफ्ना दुई कम्पनी बाहिरी चक्रपथ निर्माणमा लगानी गर्न इच्छुक रहेको भन्दै सरकारलाई पत्राचार गरेको थियो।

सोही पत्रका आधारमा लगानी बोर्डमा छलफल भइरहेको छ। दुई कम्पनीले एकदमै सस्तो ब्याजदरमा ऋण प्रदान गर्ने र केही अनुदान रकम ल्याउन समेत पहल गर्ने आश्वासन सरकारी अधिकारीहरूलाई दिएका छन्।

काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीका अनुसार चिनिया सरकार अन्तर्गतका दुई कम्पनीले बाहिरी चक्रपथ निर्माणका लागि प्रस्ताव गरेका हुन् ।

‘चीनको चाइना रेलवे कम्पनी र चाइना सिभिल कन्ट्रक्सन कम्पनी(सिसिसिसि)ले बाहिरी चक्रपथ निर्माणका लागि प्रस्ताव गरेका छन्,’ उनले भने, ‘उनीहरूले सस्तो ब्याजदरमा ऋण दिने तथा केही अनुदान समेत उपलब्ध गराउने बताएका छन्।’

तर, यस विषयमा नेपाल सरकारले भने खासै चासो दिएको छैन्। चिनिया कम्पनीको उक्त प्रस्तावबारे लगानी बोर्डमा छलफल भएपनि यस विषयमा कुनै प्रगति हुन नसकेको तिवारीको भनाई छ। बाहिरी चक्रपथ निर्माणको विषयमा सरकार निकै नै उदासिन देखिन्छ । गत वर्षहरूमा बाहिरी चक्रपथ निर्माण सरकारको नीति तथा कार्यक्रममा परे पनि यो आर्थिक वर्षमा भने परेन्। यसले पनि सरकार बाहिरी चक्रपथ निर्माणमा उदासिन भएको पुष्टी हुन्छ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रमुख तिवारी सरकारले चाहेमा बाहिरी चक्रपथको काम तत्काल शुरु हुने बताउँछन्। सरकारले बाहिरी चक्रपथ निर्माणका लागि चासो नदिँदा आयोजना नै ठप्प भएको उनको भनाई छ। यदि सरकारले बजेटको सुनिश्चिता गर्ने हो भने रोकिएको काम अगाडि बढ्न कुनै कठिनाइ नहुने उनको धारणा छ।

यसअघि पनि बाहिरी चक्रपथ निर्माणमा सरकारले खासै चासो दिएको देखिँदैन। काठमाडौँमा मानिसको चाप बढ्दै गएपछि २०५५ सालमा परिकल्पना गरिएको बाहिरी चक्रपथ आयोजना शुरु गरेको १३ वर्ष बित्दा पनि केही स्थानको अध्ययन तथा कर्मचारीलाई तलब खुवाउने बाहेक अन्य काम भने भएको थिएन्।

प्राधिकरणका प्रमुख तिवारी आफूहरूले काम गर्न चाहे पनि सरकारले साथ नदिएको बताउँछन्। आयोजना अन्तर्गत पहिलो खण्डको विस्तृत अध्ययन प्रतिवेदन तयार पारेर काम शुरु गर्नै लाग्दा शहरी विकास मन्त्रालयले रोकेको उनको भनाइ छ ।

किन रोकियो बाहिरी चक्रपथ ?
सहरी विकास मन्त्रालयले स्रोतको सुनिश्चितता नभएसम्म बाहिरी चक्रपथ निर्माणको कार्यलाई अगाडि बढाउन नसक्ने भनेपछि आयोजना ठप्प भएको हो।

काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रमुख तिवारी सरकारले पर्याप्त बजेट नछुट्याउँदा बाहिरी चक्रपथको काम रोकिएको बताउँछन्। उक्त कार्यका लागि दुई खर्ब लगानी लाग्नेमा सरकारले एक करोड मात्र छुट्याएर बाहिरी चक्रपथलाई पछाडि धकेलेको उनको भनाई छ।

यसअघि पहिलो खण्डको चोभारदेखि गाम्चा हुँदै सतुंगलसम्मको ६ किलोमिटर सडक खण्डको कित्ताकाटको विषय टुंगो नलाग्दा आयोजनाको काम त्यतिकै अलपत्र परेको थियो। आयोजना र शहरी विकास मन्त्रालयबीच समन्वय नहुँदा यस विषयमा अन्यौलता छाएको थियो ।

कस्तो बन्नेछ बहिरी चक्रपथ ?
बाहिरी चक्रपथ ८ लेनको बन्नेछ। सडकका दुवै भागमा साइकल ट्रयाकका साथै ग्रिन बेल्टसहितको फुटपाथ निर्माण हुने बताइएको छ। फुटपाथसहित ५० मिटरको बाटो बन्ने छ भने बाटोको दुवैभागमा २ सय ५०–२ सय ५० मिटरको जग्गा विकास योजना बन्नेछ।

चक्रपथले काठमाडौँ उपत्यकाका तीन वटै जिल्लालाई छुनेछ, भने तराई जोड्ने फास्ट ट्रयाकका साथै अरनिको, त्रिभुवन राजपथ र पृथ्वी राजमार्गसँग जोडिने छ। यसका साथै चक्रपथमाचारवटा फ्लाइओभर बन्नेछ। ७२ किलोमिटर दूरीको बाहिरी चक्रपथको निर्माणका लागि साढे ६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

कुन जिल्लामा कति किलोमिटर ?
बाहिरी चक्रपथको क्षेत्र सबैभन्दा धेरै काठमाडौँमा पर्छ। त्यसपछि भक्तपुर र ललितपुरभित्र पर्छ। काठमाडौँमा ३५.०८, ललितपुरमा १५.८० र भक्तपुरमा २१.०५ किलोमिटर गरी जम्मा ७२ किलोमिटरको बाहिरी चक्रपथ बन्नेछ।

बाहिरी चक्रपथको रुट चोभारबाट गम्चा, सतुंगल, नैकाप, पूरानो भञ्ज्याङ, सीतापाइला, गोंगबु, टोखा, चपली, चुनिखेल, गोकर्णेश्वर, थलीडाँछी, दुवाकोट, सिर्जनानगर, दधिकोट, लुभु, विष्णुडोल, हरिसिद्धी, धापाखेल, बुङमती, हुँदै चोभारसम्म रहेको छ।

बाहिरी चक्रपथका फाइदा
बाहिरी चक्रपथ निर्माण भएमा काठमाडौँको ट्राफिक व्यवस्थापनमा सहज हुने अपेक्षा गरिएको छ । सरकारले सडक आसपासमा विद्युत, खानेपानी, सार्वजनिक पार्क, खुला स्थान, मनोरञ्जन स्थल लगायत पूर्वाधारसहितको व्यवस्थित बस्ती विकास गर्ने योजना अगाडि सारेको छ।

यसका साथै अरनिको र पृथ्वी राजमार्गसहित फास्ट ट्रयाकसँग जोडिने भएकाले बाहिरी चक्रपथ निर्माण पश्चात उपत्यकाको ग्रामीण र शहरी क्षेत्रको सेवा सुविधाका लागि पहुँच पुग्ने अपेक्षा गरिएको छ।

Facebook Comments