पानीको मुहान संरक्षणका लागि एक हजार बढी रिचार्ज पोखरी निर्माण

अछाम–चौरपाटी गाउँपालिकाले पानीका मुहान संरक्षणका लागि रिचार्ज पोखरी निर्माण अभियान सुरू गरेको छ।

पानीका मुहान सुक्नथालेपछि गाउँपालिकाले रिचार्ज पोखरी निर्माण गर्न थालिएको जनाएको छ।

वर्षायामको समय भएकाले आकाशेपानी सङ्कलन हुने भन्दै गाउँपालिकाले १ हजार २ सय ९० रिचार्ज पोखरी निर्माण गरेको छ। गाउँपालिकाले तीन दिनमा तीन हजार पाँच सय स्थानीयको सहभागितामा यी रिचार्ज पोखरी निर्माण गरेको हो।

गाउँपालिकाका आफ्ना सातवटै वडाका खाली जमिनमा रिचार्ज पोखरी निर्माण गरी मुहान संरक्षण गर्ने लागेको गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउँदले बताए।

अध्यक्ष साउँदका अनुसार गाउँपालिका–४ पायलमा सबै भन्दा बढी ७ सय ५० सानो र ठुला रिचार्ज पोखरी निर्माण भएका छन्। भने, वडा नम्बर एक सिउडि, वडा नम्बर ५ लुग्रामा र वडा नम्बर ७ मार्कुमा १५०/१५० रिचार्ज पोखरी बनाएको अध्यक्ष साउँले बताए। त्यस्तै वडा नम्बर २ सोकटमा २८, वडा नम्बर ३ मल्लो सोकटमा ३० र वडा नम्बर ६ दुनिमा ३० रिचार्ज पोखरी निर्माण गरेको छ।

पानीका मुहान सुक्दै जानथालेपछि यहाँको खेतीयोग्य जमिनमा सिँचाइ समेत हुन सकेको थिएन।तर,गाउँपालिकाले रिचार्ज पोखरीको निर्माण गरी खेतमा सिँचाइ गरी उब्जाउ बढाउने उद्देश्यले पोखरी निर्माण गरेका जनाएको छ।

यस कामका लागि स्थानीयले पनि साथ दिएको अध्यक्ष साउदले बताए। स्थानीयवासीले मुहान वरिपरि फलफुल, घाँसपात वृक्षरोपण समेत गरेका छन्।

‘दिगोरुपमा जमिन सुख्खा नहोस् भन्ने उद्देश्यले रिचार्ज पोखरी बनाउन थालेका छौँ,’अध्यक्ष साउँदले भने।
उनले पोखरी निर्माण गरी मुहान संरक्षणको नीति नै ल्याएको बताए।

रिचार्ज पोखरी निर्माण गर्दा वनको विकास, वन्यजन्तुको संरक्षण समेत हुने उनी बताउँछन्।

अछाममा ‘पर्वतीय जलाधारहरूको जलवायु परिवर्तन समयानुकूलन आयोजना’ले पानीका मूल संरक्षण गरेर जलवायु परिवर्तनलाई अनुकूलन बनाउने प्रयास गरिरहेको छ ।

एसियाली विकास बैङ्क (एडीबी)को सहयोगमा सरकारले यो आयोजना सुरु गरेको हो। विगत दुई वर्षदेखि मङ्गलसेन र साँफेबगर नगरपालिका, मेल्लेख, रामारोशन, चौरपाटी, बान्नीगढी, जयगढ गाउँपालिकामा आयोजनाले पानीका मुहानहरू संरक्षण गर्ने काम गरिरहेको छ ।

त्यस्तैगरी अमेरिकी सहयोग नियोग युएसआइडीको पानी परियोजनाले सन् २०१८ जुनदेखि सन् २०१९ जुनसम्म गरेको अध्ययनले पहाडी क्षेत्रमा रहेका पानीका मुहान सुक्दै जान थालेको देखाएको छ।

परियोजनाले ‘मध्य र सुदूरपश्चिमका पाँच जलाधार क्षेत्रमा अध्ययन गरेको थियो।

अध्ययनले मुहानमा पानी रिजार्च हुन नपाउनु,पानीका तालहरू नहुनु, कक्रिट ट्याङ्की बनाउनु, जथाभाबी नयाँ संरचना बनाउनु जस्ता कारणले मुहानमा पानी सुक्दै गएको जनाएको छ।

मुहानको पानी सबैभन्दा बढी सिँचाइका लागि प्रयोग गरिने अध्ययनले बताएको छ। ४७ दशमलव ८ प्रतिशत मुहानको पानी सिँचाइका लागि प्रयोग गरिन्छ। ३० दशमलव ६ प्रतिशत मुहानको पानी तरकारी खेती प्रयोग गरिन्छ।

Facebook Comments