किन मर्दैछन् गैँडा ? छैन कसैसँग उत्तर

काठमाडौँ– केही वर्षयता गैँडा मर्ने क्रममा अस्वभाविक वृद्धि भएपछि संरक्षणविद र सरोकारवालाहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। यसका कारणहरू पत्ता लगाइ थप मृत्यु रोक्नुपर्नेमा उनीहरूले जोड दिएका छन्।

प्राकृतिक कारणले गर्दा गैँडाको मृत्यु भएको भनियता पनि त्यस विषयमा कुनै ठोस अनुसन्धान र अध्ययन भने हुन सकेको छैन। प्राकृतिक कारणले एक वर्षमा ४९ वटा गैँडा मर्नु अस्वभाविक भएको भन्दै सरोकारवालाहरूले सरकारलाई आवश्यक अनुसन्धान गरी समाधान खोज्न सुझाव दिएका छन्।

विगत पाँच वर्षको तत्थ्यांकलाई हेर्ने हो भने गैँडाको मृत्युदर तेब्बरले वृद्धि भएको देखिन्छ(तलकाे इन्फाेग्राफमा हेर्नुहाेस्)। आर्थिक वर्ष ०७०/०७१मा १३ वटा गैँडा मरेकोमा ०७५/०७६मा आइपुग्दा ४९ पुगेको छ।

यसरी गैँडाको मृत्युदर ह्वात्तै बढ्दा गैँडा संरक्षण अभियानमा कहाँ गल्ती, कमजोरी वा लापरवाही भयो भनेर खोतल्नु पर्ने बेला आएको जानकारहरू बताउँछन्।

गैँडाका लागि उचित वासस्थान र आहारको कमीले मृत्यदर बढेको विज्ञहरूको भनाइ छ। गैँडा तराईका मिश्रित वनमा मात्रै पाइने भएकाले उक्त क्षेत्रमा घाँसको मात्रा घटेको कारण पनि आहाराको कमीले मृत्यु भएको हुनसक्ने काठमाडौँ फरेस्ट्री कलेजका ‘एसोसिएट प्रोफेसर’ झमकबहादुर कार्कीको अनुमान छ।

उनका अनुसार एउटा गैँडाका लागि कम्तीमा पनि एक वर्ग किलोमिटर भूभाग, प्रशस्त पानी तथा घाँसको आवश्यकता पर्छ। नेपामा सो अनुरुपको पूर्वाधार भए/नभएको विषयमा अहिलेसम्म कुनै पनि अध्ययन भएको छैन। त्यसैले पनि गैँडाको मृत्युदर बढेको हुनसक्छ।

‘पछिल्लो समय गैँडाको संख्यामा वृद्धि हुँदै गएकाले हामीसँग भएको श्रोत अपुग भएको पो हो की’ उनले भने, ‘अथवा वन विनाश र संरक्षण गर्न नसक्दा गैँडाका लागि आवश्यक वासस्थान घट्दै गएको पनि हुन सक्छ।’

घाँसे मैदान व्यवस्थापन र घोल(वासस्थान र पानी)को सुधारमा ध्यान दिए गैँडा जोगिने उनको दाबी छ।
त्यसैगरी विभिन्न समयमा आएको बाढीबाट गैँडाको वासस्थान बढी प्रभावित भएकाले पछिल्लो समय प्रकृतिक कारण गैँडाहरू मृत्यु भएको हुन सक्ने वन्यजन्तु विज्ञ शन्तराज ज्ञवालीको धारणा छ।

‘बाढीले अन्य वन्यजन्तुहरू पनि बगायो होला, तर हामीले नेपालबाट बग्दैबग्दै गण्डक बाँधपारिपट्टि भारतीय भूभाग पुगेका गैँडालाई फिर्ता ल्यायौँ,’ उनले भने।

२०७४ सालको बाढी र अन्य प्राकृतिक विपद्का बेला केही गैँडा मरेका पनि हुन सक्छन्। लगभग त्यही बेला विभिन्न स्थानमा तीन वटा गैँडा मृत भेटिए। बाढीका कराण उनीहरूको वासस्थानमा बालुवा भरिएको थियो।

सरकारी निकायले प्राकृतिक कारण गैँडको मृत्यु भएको बताइरहँदा सरोकारवालाहरू भने कुनै रोग लागेर पनि गैँडाहरूको मृत्यु भएको हुन सक्ने आशंका गर्छन् ।

बुढो भै कालगतिले मरेको सामान्य भएतापनि वयस्क र शिशु गैँडाहरूको मृत्युमा भने प्रश्न गर्ने ठाउँ भएको काठमाडौँ फोरेस्टी कलेजका एसोसिएट प्रोफेसर कार्कीले बताउँछन्।

‘गैँडाहरू कुनै रोग वा प्रदूषणका कारणले त मरिरहेका छैनन्? कुनै अदृश्य कारण त छैन। हामीले त्यसबारे अनुसन्धान गर्नुपर्ने भएको छ,’ उनले भने।

पछिल्लो वर्षहरूमा भन्दा यस वर्ष गैंडाहरूको मृत्युदर बढ्नुमा प्रकृतिक कारण बाहेक अन्य केही करण हुन सक्ने भएकाले नमुना संकलन गरेर विस्तृत परीक्षण गर्नु पर्नेमा कार्कीको जोड छ।

तर, वन्यजन्तु विज्ञ ज्ञवाली भने गैँडामा कुनै पनि रोग नदेखिएकोले अन्य कारणको अध्ययन अनुसन्धान हुनुपर्ने बताउँछन्।

लामो समयको आफ्नो अनुसन्धान र नेपालका गैँडाको इतिहास हेर्दा कुनै पनि रोग नदेखिएको उनको भनाई छ। गैँडामा रोगको लक्षण नै नदेखिएको उनको दाबी छ। तै पनि गैँडाको मृत्युदर बढेको हिसावले भने रोगको परीक्षण हुनु आवश्यक भएको उनले बताए।

नदी किनार वा ताल क्षेत्रमा संरक्षणकर्मीहरूले कहिलेकाहीँ गैँडाको शव वा कङ्काल फेला पार्छन्। त्यस्तो अवस्थामा गैँडा के कारणले मरेको हो थाहा नहुने र अज्ञात मान्ने गरिएको ज्ञवालीले जनाए।

यसका साथै गैँडाको मृत्युदर बढ्नुमा जलवायु परिर्वतन पनि कारक भएको ज्ञवालीको धारणा छ। विश्वको तापमान बढीरहेको र त्यसको असर जनावरमा पनि परेको हुनसक्ने उनको अनुमान छ।

बुढो भै कालगतिले मरेको संख्या कम गर्न नसकिने भएतापनि न वयस्क, शिशु र प्रजननमा हुने मृत्यु भने कम गर्न सकिने कार्की बताउँछन्।

पछिल्लो समय गैँडाको संख्या बढ्दै गइरहेकोमा भविष्यमा यसको व्यवस्थापन कसरी गर्ने भन्ने विषय प्रति सरकार र सरकारी निकायहरू गम्भीर हुनु पर्ने ज्ञवालीको भनाइ छ। जलवायु परिर्वनबाट हुने खतरा कम गर्न र गैँडा स्थानान्तरण तर्फ ध्यान दिनुपर्ने उनले बताए।

सन् २०१५ को गणना अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा २९, चितवन राष्ट्रिय निकुञ्जमा ६०५, शुक्लाफाँट राष्ट्रिय निकुञ्जमा ८, पर्सा राष्ट्रिय निकुञ्जमा ३ वटा गरी नेपालमा ६ सय ४५ गैँडा रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

Facebook Comments