टेन्टको प्रयोगले यसरी हुँदैछ वन संरक्षण

काठमाडौँ– चौँरी पालक चन्द्रलाल नेपाल हिमालतिर जाने पर्यटकलाई टेन्टभित्र सुताउन पाउँदा निकै आनन्दित महसुस गर्छन्।

इलाम, पाँचथर र ताप्लेजुङको उत्तरी सीमावर्ती क्षेत्रमा चौँरी पालन व्यवसायमा लागेका कृषकहरूलाई टेन्ट प्रदान गरेपछि व्यवसायमा सहजता आएको नेपाल बताउँछन्।

वर्षौं अघिदेखि परम्परागत रूपमा चौँरी पालन व्यवसायमा लागेका कृषकलाई बस्नका लागि दीपज्योति युवा क्लबले टेन्ट दिएपछि व्यवसायमा सहजता आएको पाँचथर फालेलुङ ५ का चौँरी पालक नरबहादुर खपाङ्गी मगरले बताए।

खपाङ्गी भन्छन्, ‘टेन्टसँगै हामीले सुधारिएको चुलोसमेत पाएका छौँ। सुधारिएको चुलोले गर्दा दाउरा कम लाग्ने धुवाँ टेन्टभित्र नहुने बाहिर जाने भएकाले सहज भएको छ।’

धुवाँभित्र नहुने भएकालेस्वास्थ्यमा समेत फाइदा पु-याएको र दाउरा काट्ने समयसमेत बचत भएको उनको  भनाई छ।

परम्परागत रूपमा चलेको चौँरी पालन व्यवसायलाई व्यवस्थित गर्नका लागि वनको संरक्षण गर्नुपर्ने भएकाले रेडपान्डा नेटवर्कसितको साझेदारीमा चौँरी पालक कृषकहरूलाई टेन्ट दिएको संरक्षणको क्षेत्रमा जिल्लामा अग्रणी मानिएको दीपज्योति क्लबका कार्यकारी निर्देशक सुनिल बान्तावाले बताए।

‘यो टेन्ट वितरण, रेडपान्डा संरक्षण कार्यक्रमभित्रको एउटा कार्य हो, खास गरी चौँरी पालक साथीहरूको व्यवसाय वनमाथि निर्भर हुन्छ,’ उनले भने।

इलाम पाँचथरका कृषकलाई गरी २१ वटा टेन्ट वितरण गरिएको उनले जानकारी दिए।

फालेलुङ चौँरी पालक कृषक समूहका अध्यक्ष चन्द्रलाल नेपालका अनुसार उक्त क्षेत्रमा भएका चौँरी गोठहरू परम्परागत थिए। तर गत वर्षदेखि संस्थाले टेन्ट दिएपछि व्यवसाय सहज भएको छ।

‘एकातिर चौरीको बच्चा बस्ने ठाउँ, आगो फुक्ने धुनी अव्यवस्थित थियो तर संस्थाले टेन्ट दिए पछि पर्यटकलाई सुविधाका साथ सुताउन पाइयो,’ उनले भने।

टेन्टसँगै सुधारिएको चुलो पनि भएकाले धुवाँ व्यवस्थापन भएकाले पनि अनफूहरूलाई सहजता भएको उनको भनाई छ।

पूर्वी पहाडका ३ जिल्लामा सञ्चालन भएको रेडपान्डा संरक्षण कार्यक्रमअन्र्तगत चौँरी पालक कृषकलाई उनीहरूको स्वास्थ्य र वन संरक्षणमा सघाउ पु¥याने उद्देश्यले रेडपान्डा नेटवर्कले उपलब्ध गराएको टेन्टको प्रभावकारिता देखिन थालेको रेडपाण्डा नेटवर्कको स्थानीय साझेदार संस्था दीपज्योति युवा क्लबका अध्यक्ष सुरेन्द्र राई बताउँछन्। यसले वनमा दाउरा काट्ने रुख ढाल्ने कार्यमा कमी आएको छ उनले जनाए।

त्यसैगरी, चौरी पालक नरबहादुर खपाङ्गी भने चौरी पालक कृषकलाई टेन्टसँगै सुधारिएको चुलो उपलब्ध गराएपछि जङ्गल फडानीमा कमी भएको दाबी गर्छन्। उनले भने, ‘पहिला हामी एक दिनमा १५ केजी जति दाउरा बाल्थ्यौँ तर अहिले भने ८/१० केजी दाउराले पु-याउँछौँ।’

चौरी पालक कृषकलाई टेन्टसँगै चुलो उपलब्ध गराए पछि वन जङ्गल सरक्षणमा सघाउ पुगेको देखिएको कन्यादेवी सामुदायिक वन उपभोक्ता समूह फालेलुङ ६ का सचिव राजकुमार राई को ठम्मयाई छ। पहिला जस्तो जताततै रुख काटिएको नदेखिएको उनी बताउँछन्।

सुधारिएको चुलोले धुवाँ व्यवस्थापन गर्ने भएकाले कृषकले धुवाँमा रहेर काम गर्नु पर्ने दिन गएको उनको भनाई छ।

संस्थाले चौरी पालक कृषकलाई वन संरक्षण र उनीहरूको स्वास्थ्य अवस्थामा सुधार ल्याउनका लागि सहुलियत दरमा टेन्ट उपलब्ध गराएको छ। जसले उनीहरूलाई व्यवसायअगाडि बढाउन सहयोग पुग्ने समूहका अध्यक्ष नेपाल बताउँछन्।

नेपाल भन्छन्, ‘यो टेन्टले परम्परागत गोठको संरचना बदलेको छ। धुवाँ हुँदैन, दाउरा कम प्रयोग हुन्छ ।’

एक लाख मूल्य पर्ने चुलोलाई ३० हजार तिरे पुग्ने र छुटको व्यवस्था रहेको उनले जनाए। ‘सबै चौँरी पालक साथीहरूले लिएका छन्,’ उनले भने।

Facebook Comments