सिमेनको स्थापना दिवसमा इन्द्रायणी सामुदायिक वनमा वृक्षरोपण

काठमाडौँ– नेपाल सौर्य विद्युत् उत्पादक संघ (सिमेन) को १९ औँ स्थापना दिवसको अवसरमा आज सोमबार टोखा नगरपालिका ३ भुूतखेलस्थित इन्द्रायणी सामुदायिक वनमा विभिन्न १९ प्रकारका फलफूलका विरुवाहरू रोपिएको छ।

वृक्षरोपण कार्यक्रमको शुभारम्भ गर्दै पूर्व मन्त्री गणेश शाहले शहरी वातावरणीय स्वच्छताका लागि वृक्षरोपण गर्नु रोपिएका विरुवाहरुको संरक्षण गर्नु आवश्यक भएको बताए। उनले यस प्रकारका कार्यक्रमहरुबाट निजी क्षेत्रलाई सचेत तुल्याएर वातावरण व्यवस्थापनमा सन्देशमूलक भूमिका निर्वाह गर्न निरन्तरता दिनुपर्नेमा जोड दिए।

संघका अध्यक्ष किरण गौतमले संघले स्वच्छ ऊर्जाको माध्यमबाट वातावरणको क्षेत्रमा पनि काम गर्दै आएको उल्लेख गर्दै यसपटक वार्षिकोत्सव होटेलमा आयोजना नगरी वृक्षरोपण गरेर शहरी वातावरणलाई स्वच्छ बनाउने अभियान थालनी गरिएको बताए।

सो अवसरमा टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोल, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका निर्देशक नवराज ढकाल, नविकरणीय ऊर्जा परीक्षण केन्द्रका कामु महाप्रवन्धक डा. रबिन्द्र ढकाल, नविकरणीय उर्जा परिसंघका अध्यक्ष गुणराज ढकालले वृक्षरोपण र नवीकरणीय उर्जा प्रविधिहरूको अन्योन्याश्रित सम्बन्ध रहेको चर्चा गरे।

नविकरणीय उर्जा प्रविधि महत्व र उपयोगका लागि सक्रिय रहेका विभिन्न निकाय तथा संघ संस्थाहरुको प्रतिनिधिहरुके सहभागितामा भएको सो कार्यक्रममा वतावरण संरक्षणको लागि, जलवायु परिवर्तनको असर न्युनिकरणको लागि स्वच्छ ऊर्जा प्रविधिको रुपमा सौर्य विद्युत ऊर्जा प्रणालीले पुर्याएको योगदानका बारेमा चर्चा गरिएको थियो ।

नेपालको उर्जा संकट कम गर्न र ग्रामिण विद्युतीकरण गर्न सदस्य कम्पनीहरुको माध्यमबाट आफ्ना गतिविधिहरु सञ्चालन गर्दै आइरहेको संघ देशभरि क्रियाशील रहेका सौर्य विद्युत उत्पादन हुने विभिन्न प्रणालीहरु उत्पादन गर्ने, विक्रिी गर्ने, जडान गर्ने निजी कम्पनिहरुको छाता संगठन हो। हाल यस संघमा ११० कम्पनी सदस्य रहेका छन्।

Facebook Comments