घुम्न जाने हाेइन जखेरा ताल ? (फोटो फिचर)

दाङ होइन, देउखुरीमा फुल्यो बुकी फूल
भरतपुरको क्याम्पसमा मौरी पनि डुल।
साली हो बरको छायाले, निद लाग्दैन भोक लाग्दैन तिम्रो मायाले…

जोरले घन्किरहेको गीतले आकर्षित गरेपछि गीत बजाउने अटोलाई पछ्याउँदै जाँदा शान्त र सुन्दर जखेरा ताल पुगियो। जहाँ पिकनिक खान, तालको सौन्दर्यता हेर्न, डुङ्गा सयर र पुजाआजा गर्न आन्तरिक पर्यटक पहिले नै पुगिसकेका थिए। केही आउने क्रम जारी थियो। त्यहाँ पहिलो पटक पुग्दा मैले अत्यन्तै आनन्द महसुस गरेँ। मैले अनुभव गरेजस्तै आनन्द प्राप्तिका लागि तपाईँ पनि जखेरा ताल घुम्न जाने कि ?

पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तरगत प्रदेश नम्बर ५ दाङ जिल्लाको लमही नगरपालिका वडा नम्बर ५ मा जखेता ताल छ। राजमार्गदेखि झण्डै डेढ किलोमिटरभित्र चुरे पहाडको फेदमा यो ताल छ। हरियाली वनले पूर्व–पश्चिम ढाकेको, दक्षिणमा मुसुण्डी गाउँ, उत्तरतर्फ चुरे पहाड र त्यही पहाडको फेदमा जखेरा ताल अवस्थित छ। शान्त र सुन्दर यो तालमा जुनसुकै यातायातका साधनमा पनि जान सकिन्छ।

वि.सं २०३० सालमा दाङको साबिक सोनपुर गाविस हालको लमही नगरपालिका–३ का स्वर्गीय दिपु चौधरीको नेतृत्वमा सोनपुर, टिकुलीगढ, फल्कापुर र श्री गाउँका स्थानीय मिलेर खेर गइरहेको आकाशे पानी र वन क्षेत्रबाट बगेर आउने पानी सङ्कलन गर्ने उद्देश्यले चुरे पहाडको फेदमा खनेर जखेरा ताल बनाएका हुन्।

६ फिट गहिराइ रहेको जखेरा ताल करिब साढे पाँच बिघा क्षेत्रफलमा फैलिएको छ। तालको उत्तरतर्फ गणेश मन्दिर छ भने पूर्वमा सिद्धेश्वर महादेवको मन्दिर छ। जहाँ डुङ्गा चढेर पुजाआजा गर्ने गरिन्छ। शितलताका लागि वर–पीपलको चौतारी रहेको जखेरा तालले जो कोहीको मनलाई मोहित पार्छ।

तालमा वनभोज खाने, जलविहार गर्ने, प्राकृतिक पदयात्रासँगै विभिन्न किसिमका फूलहरू, पुतली तथा जलचरहरू रहेको यसले जलीय जैविक विविधतालाई संरक्षण गरिरहेको छ।

तालमा १ लाख २५ हजार विभिन्न जातका माछा छोडिएका छन्। डुङ्गा चढेर पुरै तालको चक्कर लगाएमा प्रतिव्यक्ति ५० रुपैंयाँ र मन्दिर दर्शनका लागि छुट्टै २० रुपैंयाँ शुल्क तिर्नुपर्दछ। सिजनमा दैनिक झण्डै दुई तीन सयको हाराहारीमा आन्तरिक पर्यटक आउने गर्दछन्।

ताल अवलोकन गर्न आउनेका लागि शौचालय र खानेपानीको व्यवस्था रहेको छ। जखेरा ताल पहिलेको तुलनामा अहिले संरक्षण र सम्बद्र्धन हुँदै गएको छ।
 

Facebook Comments