एकीकरण ट्रेल निर्माणका लागि नेपाली सेनाको ‘टास्कफोर्स’

काठमाडौँ– नेपाल एकीकरण गर्दा पृथ्वी नारायण शाहले प्रयोग गरेको बाटोहरूमा एकीकरण ट्रेल निर्माणको जिम्मा पाएको नेपाली सेनाले त्यसको अध्ययन अनुसन्धानका लागि ‘टास्कफोर्स’ बनाएको छ।

उक्त टाक्सफोर्सले एकीकरण हुँदा प्रयोग भएको मार्गको पहिचान गरिरहेकोले यसको काम द्रुत गतिमा अगाडि बढीरहेको नेपाली सेनाका प्रवक्ता विज्ञान देव पाण्डेले बताए।

‘एकीकरण मार्गको चाहनाः राष्ट्रिय एकताको भावना’ भन्ने नारासहित उक्त कार्ययोजना अघि बढिरहेको उनको भनाइ छ। इतिहासको जगेर्ना र एकताको भावना विकास गर्नको लागि सो ‘ट्रेल’ कोशढुङ्गा सावित हुने उनी बताउँछन् ।

हालसम्म सेनाले आफ्ना विभिन्न गणहरूमार्फत ऐतिहासिक महत्वका इलाकाहरूको पहिचान गरी ट्रेल सम्बन्धी खोज गरेको छ। यसका साथै स्थानीय स्तरमा समन्वय गरी विभिन्न गढीहरूमा संरक्षण, उद्घाटनका कार्यक्रमहरू समेत सम्पन्न गरेको सेनाका प्रवक्ताले जनाए।

उनका अनुसार मुख्य लडाईको जिम्मा कसले लिएका थिए, कहाँबाट शुरू गरेका थिए, को को कमाण्डर थिए, अंग्रेजसँगको लडाईंका कुन-कुन किल्लामा नेपाली फौज थियो? लगायतका विषयलाई ध्यानमा राखेर त्यसको संरक्षण गर्न एकीकरण मार्ग निर्माण गर्न लागिएको हो।

ट्रेल निर्माणको मुख्य उद्देश्य
एकीकरण ट्रेल निर्माणको मुख्य उद्देश्य गढी, किल्ला र ऐतिहासिक महत्त्वका स्थानहरूको संरक्षण र सम्वद्र्धन गर्नु रहेको प्रवक्ता पाण्डे बताउँछन्।

‘आम नागरिकहरूमा सामाजिक सदभाव, भातृत्व र मेलमिलापको भावना विकास गर्दै नेपालका सबै निकायहरू साझा लक्ष्यका लागि एकजुट भई कार्य गर्नका लागि सक्षम छन् भन्ने प्रमाणित गर्ने एकीकरण टे«ल निर्माणको तत्कालको उद्देश्य रहेको छ’, उनले भने।

विभिन्न क्षेत्रहरूबाट भइरहेका प्रयासहरूलाई एकीकृत परियोजनाका रुपमा विकास गरी गुणात्मक उपलब्धीसहित इतिहासलाई भविष्यका लागि समेत उपयोगी हुने गरी जीवन्तता प्रदान गर्ने पाण्डेको भनाइ छ।

नेपाल भ्रमण वर्ष २०२० लाई समेत सहयोग पुग्नेगरी कार्य आरम्भ हुने उनले बताए। सरकारले भ्रमण वर्ष मनाइरहँदा नेपाल एकीकरण भएको बेला प्रयोग गरिएका ऐतिहासिक स्थानहरू समेत देखाउन सके त्यसको महत्त्व र प्रचार प्रसार समेत हुने भएकाले यो कार्यक्रम यसै वर्ष टुंगिने उनले दाबी गरे।

सो ट्रेल निमार्णले नेपालमा संग्रहालय संस्कृतिलाई थप विकसित बनाउँदै अध्ययन र सोधकार्यको क्षेत्र विस्तार गर्नेे पाण्डेको विश्वास छ।

कसरी बनाउने प्रभावकारी?
एकीकरण मार्गलाई प्रभावकारी बनाउन विविध गतिविधिहरू संचालन गर्न सकिने सम्भावना रहेको सेना प्रवक्ता पाण्डे बताउँछन्।

ट्रेललाई प्रभावकारी बनाउन सरकारले शिक्षा प्रदायक कार्यक्रम, खेलकुद तथा साहसिक खेल, समारोह, ऐतिहासिक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गर्न सक्ने उनले जनाए।

‘एकीकरण मार्गमा दौड जस्तैः लिगलिगकोट दौड आदि गर्न सकिन्छ,’ उनले भने, ‘एकीकरण मार्गमा ट्रेकिङ गराइ एकीकरण अभियान सम्बन्धमा जानकारी गराउन सकिन्छ।’

शिविर सहितको शैक्षिक भ्रमण, विभिन्नगढीहरूमा सुरक्षाका लागि तैनाथ रहने फौजमार्फत तत्कालीन समयका हतियारहरूबाट गाइड फायरिङ तथा विविध प्रदर्शनी गर्न सकिने सम्भावना रहेको उनको भनाइ छ।

गढी तथा किल्लाहरूमा ऐतिहासिक दिनमा लडाईहरू सम्बन्धी वृत्तचित्र प्रस्तुती, विभिन्न प्रदर्शनी, सैनिककला कौशललगायतका आकर्षक प्रदर्शनीहरुको व्यवस्थापन गर्न सकिने उनी बताउँछन्।

यसका लागि सिन्धुलीको हरिहरपुर गढी र सिन्धुली गढी जोड्ने गरी स्थानीय संघ संस्थाहरूसँग मिलेर पदयात्रा मार्ग निर्माण कार्य नेपाली सेनाले शुरू गरिसकेको उनको भनाइ छ।

नेपाल एकीकरणका क्रममा तत्कालीन गोर्खाली सैनिकहरू हिँडेका ऐतिहासिक स्थलहरूलाई पर्यटकीय पद मार्गले जोड्ने योजना अनुसार हरिहरपुरगढी-सिन्धुलीगढी पदमार्ग स्थानीय संस्थासँगको सहकार्यमा निर्माण शुरु गरेको हो।

एकीकरण मार्गको अवधारणा कार्यान्वयनमा नेपाल सरकार लगायत अन्य सरोकारवाला निकायहरूको सक्रिय सहभागिता हुन जरुरी रहेको प्रवक्ता पाण्डे धारणा छ।

‘सम्बन्धित मन्त्रालयहरू, सबै तहका सरकारहरू, पुरातत्व विभाग पर्यटन बोर्ड, स्थान विशेषका जनसमुदाय, इतिहासविदहरू लगायत विभिन्न प्रायोजकहरूको समन्वयनको खाँचो छ,’ उनले भने।

एकीकरण ट्रेल तथा गढी सम्वद्र्धन र प्रवद्र्धनको लागि सरकारले ५ करोड बजेट छुट्याइएकोे छ।

Facebook Comments