पानीको समस्या हटाउने महानगरको ‘रिजार्च काठमाडौँ’ योजना

काठमाडौँ– काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले ‘रिजार्च काठमाडौँ’ कार्यक्रमको मोडेल सरकारी कार्यालय र कर्मचारीका घरबाट शुरु गर्ने योजना बनाएको छ।

वर्षाको समयमा आकाशे पानी सङ्कलन गर्ने र त्यसलाई जमीनमुनि पठाएर यहाँको पानीको समस्या हटाउने महानगरले योजना बनाएको हो।

गुठी संस्थाले आज मंगलबार आयोजना गरेको ‘आकाशे पानी सङ्कलन र पुनःभरण’ विषयक आधारभूत तालीम कार्यक्रममा कामपा वातावरण विभागले पुनःभरण कार्यक्रम छिट्टै शुरु गरिने जनाएको छ।

भूमिगत पानीको सतह सन्तुलनका लागि आकाशे पानी संकलन गर्ने र जमिनमुनि पठाउने कार्यक्रमको लक्ष्य रहेको विभागका प्रमुख हरिकुमार श्रेष्ठले बताए।

आकाशे पानी जम्मा गरेर अरु प्रयोजनमा ल्याउँदा शुद्धिकरण प्रथमिकतामा रहेको बताए। कार्यक्रमको शुरुवात्मा पानी बटुलेर जमिनमुनि पठाउने तयारी रहेको उनको भनाइ छ। ‘महानगरको वातावरणीय सन्तुलनका लागि एकीकृत व्यवस्थित कार्यक्रम सञ्चालन गर्छौं,’ उनले भने।

त्यसैगरी सो कार्यक्रममा बोल्दै पूर्वमन्त्री गणेश शाहल पानीको समस्या काठमाडौँ र नेपालमा मात्र नभई विश्वव्यापी समस्या भएको बताए। ‘कुन ठाउँमा कति जटिल र कुन ठाउँमा कम जटिल छ भन्ने मात्र हो,’ उनले भने, ‘पानीको समस्या नभोग्ने कोही छैन ।’

पानी बनाउन नमिल्ने भएकाले प्रकृतिले दिएको पानी जम्मा गरेर खाँचो परेका बेला चलाउने व्यवस्था मिलाउनु नै अबको उत्तम विकल्प रहेको उनको भनाइ छ।

काठमाडौं महानगरले अघि सारेको रिचार्ज काठमाडौं कार्यक्रमका बारेमा बोल्दै उनले यसलाई सफल बनाउन सबैको सहयोगको आवश्यकता रहेको बताए।

तालिममा विद्यार्थी, निर्माण व्यवसायीलगायतका विभिन्न क्षेत्रका प्रतिनिधिहरू सहभागी थिए।

Facebook Comments