निजगढ विमानस्थल निर्माण गर्दा पर्यटनमन्त्री भट्टराईले सम्बोधन गर्नुपर्ने केही विषय

काठमाडौँ – संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी नेपाल कम्युनिष्ट पार्टीका युवा नेता योगेश भट्टराईले लिएका छन् ।

मन्त्रालय सम्हाले लगत्तै उनले आफ्ना मुख्य प्राथमिकताहरू सार्वजनिक गरेका छन् । प्राथमिकताको उच्च सूचिमा तीन विषयह रहेका छन् । पहिलो, नेपाल एयरलाइन्सको अवस्था सुधार गर्ने, दोस्रो नेपाली एयरलायन्सलाई युरोपियन कमिसनको कालो सूचीबाट हटाउने, तेस्रो, निजगढ विमानस्थल निर्माणको प्रक्रियालाई तत्काल अगाडि वढाउने ।

यी प्रमुख विषयमध्ये निजगढ विमास्थलको बारेमा पर्यटनमन्त्रीले गम्भीर भएर सोच्नुपर्ने केही विषय छन् ।राष्ट्रिय गौरवको रूपमा रहेको निजगढ विमानस्थललाई सकेसम्म छिटो सम्पन्न गर्नु उपयुक्त हुन्छ । तर, सो विमानस्थल निर्माण गर्दा त्यसले वातावरणमा पार्ने असरका सम्बन्धमा भने मन्त्री भट्टराईले गम्भीर रूपमा सोच्नुपर्ने विषय छन् । त्यसमा उनको प्रारम्भिक ध्यान पुगेको पनि देखिन्छ, जुन निकै सकारात्मक हो । बुधवार आयोजना गरिएको पत्रकार सम्मेलनमा भट्टराईले प्रस्तावित निजगढ विमानस्थल निर्माणका सम्बन्धमा आएका विषयलाई सम्बोधन गरिने बताएका छन् ।

आफ्नै मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले बस्ती स्थानान्तरण र वनको सम्बन्धमा उठेका जिज्ञासालाई सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । सो विमानस्थल निर्माण गर्दा ठूलो संख्यामा रुख काटिने भनी सर्वत्र आलोचना भइरहेको समयमा भट्टराईले सो धारणा व्यक्त गरेका हुन् ।

हाकाहाकीले यस विषयमा विभिन्न विज्ञहरूसँग कुराकानी गरेर बिगत डेढ वर्षदेखि निरन्तर रूपमा यो विषय उठाइरहेको छ । विषय उठानुको अर्थ आयोजना नै बन्नु हुँदैन भन्ने कदापि होइन तर केही वातावरणीय पक्ष हामीले जसरी पनि सम्बोधन गर्नुपर्ने आवश्यकता छ । नत्र त्यहाँ हुने विनाशले वातावरणमा ठूलो असर गर्ने देखिन्छ ।

पर्यटनमन्त्रीले सो आयोजनाको बारेमा छिट्टै विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) बनाउने र यही वर्ष अर्थात सन् २०१९भित्र यसको शिलन्यास गर्ने समेत घोषणा गरेका छन् । तर, उनको यो घोषणा हतारमा भएको देखिन्छ किनभने केही महत्वपूर्ण काम बाँकी नै छ ।

पहिलो विषय त वातावरणीय प्रभाव मुल्याङकन(ईआईए) नै त्रुटिपूर्ण रहेको छ । विशेषतः ईआईएमा धेरै विवरणहरु अन्य परियोजनाको लागि तयार पारिएका प्रतिवेदनबाट कफी पेष्ट गरेको समेत पाइएको छ । संसदका विभिन्न समितीले यस पहिले नै सो प्रतिवेदन पुनरावलोकन गर्न तथा त्रुटि सच्याउन समेत आग्रह गरेका छन् । प्रतिवेदनमा विमानस्थलको तथ्यांक हुनुपर्नेमा जलविद्युतको तथ्यांक भएको, विमानस्थल बनाउँदा वातावरणमा पार्ने असरबारे उल्लेख नभएको र स्थानीय तहको जग्गा, बस्ती तथा अतिक्रमणलाई व्यवस्थित कसरी गर्ने भन्ने बारेमा स्पष्ट उल्लेख नभएको विज्ञहरुको भनाई छ ।

त्यसैले पर्यटनमन्त्रीको पहिलो काम आयोजना शुरु गर्नुभन्दा पहिला त्यसमा रहेका त्रुटिहरु पहिल्याउने हुनुपर्छ । यो प्रतिवेदनलाई अन्तिम रुप नदिइकन डिपिआर बनाउने काम अगाडी बढ्न सक्दैन् । त्यसैगरी पर्यटनमन्त्रीले लगाउने जुटाउने सम्वन्धमा लगानी वोर्डसँग कुरा गर्ने समेत बताएका छन् । विभिन्न विदेशी कम्पनीले निर्माणको लागि चासो देखाएपनि लगानीको बारेमा कुनै सम्झौता भएको छैन् । यि सबै विषयहरु सम्वोधन नगरी शिलन्यासको काम अगाडी बढ्न सक्दैन् । यति मात्र होइन्, रुख कटान गर्नुभन्दा अगाडी त्यसको क्षतिपूर्ती स्वरुप रोप्ने रुखको संख्या र स्थानको बारेमा पहिले नै सहमति हुन आवश्यक छ ।

यस अगाडी नै संसदको अन्तराष्ट्रिय सम्बन्ध समितीले लगानीको टुंगो नलागेसम्म रुख कटानको प्रक्रिया अगाडी नबढाउन निर्देशन दिईसकेको छ । यति मात्र होइन्, स्थानिय सरकोकारवालाले कुनै पनि विषय अगाढी बढाउनु भन्दा पहिला निर्माण हुने सुनिश्चितता गर्न समेत आग्रह गरेका छन् । यति मात्र होइन्, अहिले विमानस्थल बनाउने भनी प्रस्ताव गरिएको ठाउँ हात्तिको करिडोर भएका कारण स्थानको केही हेरफेर गर्नका लागि समेत सरोकारवालाले सुझाव दिईरहेका छन् ।

 वन र वातावरणजस्तो संवेदनशील विषयलाई केही कर्मचारीले विकास विरोधीहरुको आवाज हो भनेर ब्रिफिङ् गरेको आधारमा धारणा बनाउने होइन् कि यो समस्या समाधान गर्न सरोकारवालासँग गम्भीर छलफल गर्न आवश्यक छ ।ईआईएले प्रतिवेदनका अनुसार विमानस्थल निर्माणले वातावरणमा पर्ने असर यस प्रकार रहेका छन् । विमानस्थल निर्माण क्षेत्रको जैविक वातावरण कस्तो छ ? वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन (ईआईए) मा लिखित विषयका केही अंश जस्ताको त्यस्तै ः

जैविक वातावरण

प्रस्तावित अन्तराष्ट्रिय विमानस्थल निर्माण क्षेत्रको मुख्य भाग तराईको एक घना जङ्गलमा पर्दछ । आयोजना क्षेत्रमा अवस्थित सो जङ्गल व्यापक रूपमा क) सालको वन, ख) तराईको कडा काठको वन र ग) खयर, सिसौको वनमा वर्गीकरण गरिएको छ ।

तथापि, नदी किनाराको अलावा वन क्षेत्र प्रायः जसो सालले ढाकेको छ, हालसालै प्रस्ताव गरिएको अन्तराष्ट्रिय विमानस्थल निर्माण क्षेत्रको सिमानामा सिसौ, खयर र सोही प्रजातिका सिमल, बोताधंयेरो, कर्मा जातका रुखहरूले भरिएको तटवर्ती प्रकारको वन रहेको छ । यो पर्सा राष्ट्रिय निकुञ्ज आयोजना क्षेत्रको उत्तर भागमा अवस्थित छ ।

यस आयोजना क्षेत्रमा तागिया वृक्षरोपण, सहजनाथ साझेदारी वन, तामागढी साझेदारी वन रहेका छन् । सरकारले दुबै सहजनाथ साझेदारी वन र तामागढी साझेदारी वनलाई नयाँ क्षेत्र प्रदान गर्ने योजना छ । दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थल (एसआईए) आयोजनाको निर्माण क्षेत्र ठूलो र धनी जैविक विविधता भएको तराईको वन हो । सो वन क्षेत्र विभिन्न प्रजातिका गैर काठजन्य वन पैदावार (एनटीएफपी) ले सम्पन्न रहेको छ । सो क्षेत्रमा रहेका गैर काठजन्य वन पैदावार (एनटीएफपी) हरूमा निउरो, डन्डु साग, सरन्चीसाग, पोइ साग, बेथे, तिलोकर, लहरे, साग, सिम साग, जिब्रे साग, लुँडे साग, जन कुरिलो, भ्याकुर, अम्लिसो, असुरो, तितेपाती, राजवृक्ष, सिन्दुरे, कुकुरडाइनो आदि रहेका छन् । नमूना सर्वेक्षणबाट आयोजना क्षेत्रभित्र जम्मा ५ लाख ८५ हजार ४ सय ९९ गोटा ठूलो रुख र १८ लाख ६४ हजार ८ सय २० गोटा पोल आकारका वनस्पति आँकलन गरिएको छ । जसमध्ये १ लाख ९८ हजार ४ सय ५० छिप्पिएका सालका रुख र ४ लाख ५ हजार गोटा सालका पोल भएको पाइयो । साधारणतया प्रति हेक्टर ७ सय प्रकृति पुनरुत्थान विरुवा भएको पाइन्छ ।

वन्यजन्तु 

आयोजना क्षेत्रमा तथा त्यसको ववरपर विभिन्न २३ प्रजातिका स्नतनधारी रहेका छन् । स्थानीय समुदायले उल्लेख गरेअनुसार आयोजना क्षेत्रमा मृग, रातो मृग, बँदेल, दुम्सी, बाँदर लङ्गुर र रातो बाँदर, ब्वाँसो, स्याल आदि प्रायः देखिन्छन् ।

साधारण चितुवा, जङ्गली बिरालो, जङ्गली कुकुर आदि पनि सो क्षेत्रमा पाइन्छन् । यस आयोजना क्षेत्र पर्सा राष्ट्रिय निकुञ्जको नजिकै रहेको कारणले संरक्षित गरिएका एसियन हात्ती, बाघ, हाइना, अजिङ्गर, जाइन्टा हनबिल, सारस, बकुल्लाहरू यस क्षेत्रमा देखिए तापनि माथि उल्लेखित जनावर यो आयोजना क्षेत्रका स्थायी भने होइनन् । यस क्षेत्रसँगै रहेको पर्सा राष्ट्रिय निकुञ्जमा ५०० भन्दा धेरै प्रजातिका चरा पाइने भएकाले यो क्षेत्र चराहरूको विविधतामा उत्तिकै धनी मानिन्छ ।

सोधभर्ना

रुख तथा पोलको नोक्सानीको शोधभर्ना १ एक बराबर २५ को दरमा अनिवार्य रूपमा विरुवा लगाउनु पर्नेछ । २४ लाख ५० हजार ८ सय २१ विरुवा क्षतिको लागि ६ करोड १२ लाख ७० हजार ५ सय २५ विरुवा लगाइ हुर्काउने व्यवस्था मिलाइएको छ ।

यति ठूलो वृक्षरोपणका लागि ३८ हजार २ सय ९४ हेक्टर जमिन आवश्यक पर्दछ । तत्कालीन वन तथा भू–संरक्षण मन्त्रालयको निदेशिकाअनुसार शोधभर्नाको रूपमा गरिने वृक्षरोपण जिल्ला वन कार्यालयले तोकिदिएको स्थानमा गरिनेछ, वा सो कार्यको जिम्मेवारी जिल्ला वन कार्यालयसमेतलाई प्रत्यायोजन गर्न सकिनेछ । त्यसरी शोधभर्नाको रूपमा ठूलो क्षेत्रमा गरिने वृक्षरोपण आफैँमा एउटा आयोजना हुनेछ । साथमा आयोजनाले असर गर्ने दुईवटा साझेदारी वनहरू सहजनाथ साझेदारी वन र तामागादी साभेदारी वनलाई समेत सहयोग गर्नेछ ।

त्यसैले पर्यटनमन्त्रीको जिम्मेवारी विमानस्थल निर्माणको बारेमा वढी प्रचार प्रसार गर्ने भन्दा पनि वातावरण लगायतका अन्य विषयहरुलाई सम्वोधन गरेर गम्भीर ढंगले अगाडी बढ्न आवश्यक छ । त्यसका लागि सरोकारवाला र विज्ञसँग पर्याप्त छलफलको आवश्यकता देखिन्छ ।

-१६ः४० मा अपडेट गरिएको

Facebook Comments