क्वारेन्टाइन जाँचले पशुपंक्षीको आयातमा कमी

काठमाडौँ– सरकारले भारतलगायत विभिन्न मुलुकबाट आयातित पशुपंक्षीको क्वारेन्टाइन(गुणस्तरको प्रमाण) जाँचमा कडाइ गरेपछि आयातमा ह्वात्तै कमी आएको छ।

कृषी तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष ०७४/०७५ को तुलनामा ०७५/०७६मा खसी बोकाको आयातमा ४६ दशमलव ९ प्रतिशतले कमी आएको हो। मन्त्रालयका सह–प्रवक्ता प्रदिप चन्द्र भट्टराईका अनुसार क्वारेन्टाइनको उचित व्यवस्थापनले विदेशबाट आयात हुने पशुपंक्षीको संख्यामा कमी आएको हो।

आर्थिक वर्ष २०७४/७५ मा ५ लाख ३ हजार ६ सय ३६ खसीबोका आयात भएकोमा २०७५/७६ मा २ लाख ६७ हजार ६ सय ३६ मात्र भएको मन्त्रालयका सह–प्रवक्ता भट्टराईले जानकारी दिए।

त्यसैगरी राँगा भैसीको आयातमा पनि ४३ दशमलव ८ प्रतिशतले कमी आएको छ। आर्थिक वर्ष २०७४/७५ मा ६६ हजार ४ सय ८४ राँगाभैसी आयात भएकोमा २०७५/७६ मा ३७ हजार ३ सय ९१ मात्र नेपाल भित्रिएकाे भट्टराईले बताए। क्वारेन्टाइन जाँचपछि कुखुराको प्यारेन्ट चल्लाको आयातमा पनि ३ दशमलव ७ प्रतिशतले कमी आएको छ। आ.व. २०७४/७५ मा १९ लाख ११ हजार ३ सय ४१ कुखुराका चल्ला नेपाल भित्रिएकोमा २०७५/७६ मा १८ लाख ४१ हजार ६ सय २९ मात्र आयात भएको मन्त्रालयको तथ्यांक छ ।

त्यसैगरी माछाको आयातमा पनि १३ दशमलव २२ प्रतिशत कमी भएको छ । आर्थिक वर्ष २०७४/७५ मा १० हजार ७ सय ५७ मेट्रिक टन माछा आयात भएको थियो भने २०७५/७६ मा ९ हजार ३ सय ३५ मेट्रिक टनमात्र भित्रिएको छ।

सरकारले सीमानामा क्वारेन्टाइन जाँच गरेर प्रमाणपत्र दिएपछि मात्र पशुपंक्षी नेपाल भित्र्याउन पाउने भएपछि आयातमा कमी आएकाे कृषिमन्त्रालयका सह प्रवक्ता भट्टराई बताउँछन् । ‘भारतबाट भित्रिने पशुपंक्षीको सीमानामै चेकजाँच गर्ने गरेका छौँ,’ उनले भने, ‘आयात गर्नेहरूलाई अनिवार्य क्वारेन्टाइन सर्टिफिकेट माग गरेका छौँ।’ व्यापारीले अनिवार्य रुपमा सर्टिफिकेट ल्याउन नसकेको कारण नेपालमा खसीबोकाको आयातमा कमी आएको भट्टराईको भनाइ छ ।

केही समयको लागि सर्वसाधारणलाई समस्या भएतापनि आयातमा कमी आउनाले किसानहरूलाई आफैँ उत्पादन गर्न हौसला प्रदान गरेको उनको धारणा छ । २०७२ को भूकम्प पछिको उदाहरण दिँदै उनी भन्छन्, ‘त्यतिखेर नाकाबन्दी नै लगाइएको थियो तरपनि दशैँमा खसीबोकाको कमी भएन किनकी नेपाली किसानहरूलाई आत्मनिर्भर हुन हौसला मिलेको थियो ।’

Facebook Comments