जलवायुमैत्री कृषि प्रणालीका अभ्यास


जलवायु परिवर्तन यस शताब्दीकै विश्वको प्रमुख चासो र चिन्ताको विषय बन्न पुगेको छ। यसले सबै प्रकारका सभ्यता, मानवीय, भौतिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक विकासमा अवरोध पुर्‍याउनुको साथै विकासका पूर्वाधार तथा मान्यताहरूमाथि पनि अनेक चुनौतीहरू थपेको छ। विशेषगरी नेपालजस्ता आर्थिक तथा भौतिकरुपमा कम विकसित देशहरू पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण बढी प्रभावित भएका छन्। जलवायु परिवर्तनका दृष्टिले अतिसंकटासन्न मुलुकहरूको सूचीमा रहेको नेपालमा गरिबी, सामाजिक आर्थिक ढाँचा, भौगोलिक अवस्थिति आदिका कारणले जलवायु परिवर्तनका असर र प्रभावहरू प्रत्यक्ष अनुभव हुन थालेका छन्।

वनको क्षयीकरण, वन डढेलो, अव्यवस्थित औद्योगिकीकरण, यातायात तथा ऊर्जाका साधनबाट हरितगृह ग्यास उत्सर्जन भएर पृथ्वीको तापक्रम वृद्धि हुनाका साथै जलवायुजन्य प्रकोप देखापरेका छन्। यसरी भएको जलवायु परिवर्तनको असरबाट खडेरी, अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो, भूक्षयजस्ता समस्या दिनप्रतिदिन बढिराखेका छन्। वर्तमान र भविष्यमा आउनसक्ने यस्ता जलवायुजन्य प्रकोप र यसबाट सामाजिक तथा आर्थिक पक्ष र विकासका कार्यक्रममा पर्नसक्ने चुनौतीलाई सहभागितात्मक विकासको माध्यमबाट प्रभावकारी अनुकूलनका उपायहरूको पहिचान तथा प्राथमिकीकरण गर्नु पर्दछ।

लेखक : कृष्ण अधिकारी

जलवायु परिवर्तनसँग जुध्न विश्व समुदायहरू एकाकार भई अनुकूलन तथा न्यूनीकरणका प्रयासहरू शुरु गरिएको सन्दर्भमा नेपालले पनि एक दशकदेखि जलवायु परिवर्तन अनुकूलनसम्बन्धी विभिन्न पहल कदमी शुरु गरेको छ। जलवायु परिवर्तन सङ्कटासन्न समुदायको अनुकूलन क्षमता अभिवृद्धि गर्न देशका विभिन्न भागमा अनुकूलन र न्यूनीकरणका विभिन्न कार्यक्रमहरू कार्यान्वयनमा ल्याएको छ।

जलवायु परिवर्तनबाट प्रत्यक्षरुपमा असर कृषि क्षेत्रमा परेको छ। केही वर्षयता जथाभावी रासायनिक मल, विषादी र वर्णशङ्कर बीऊको प्रयोगको कारणले मित्रजीव तथा प्राणीको लोप हुन गई प्राकृतिकरुपमा वातावरणमैत्री जीवनचक्र नै पूरा हुन सकेको छैन । हावापानीको असरका कारण लामो समयसम्म खडेरी पर्ने वर्षात्को समयमा पनि खडेरी पर्ने भएको छ। यसै वर्ष पनि चैत बैशाखमा लामो झरी पर्‍यो तर साउन सकिन लाग्दा पनि वर्षा नहुँदा किसानले धान रोपाइँ गर्न पाएका छैनन्।

नेपालमा पछिल्लो समय उन्नत प्रविधिबाट व्यवसायिक तरकारी खेती, अन्नबाली, फलफूलखेती आदि कृषिजन्य उत्पादनमा बढी उत्पादनको नाममा बजारमा पाइने रासायनिक मल र बिषादीको जथाभावी प्रयोग भइरहेको छ। यसले वातावरणमा असर गरी मानव तथा प्राणी जगतमा हानी पुर्‍यााएको छ। अहिले अधिकांश मानिसमा अनेकौं रोगब्याधीको सङ्क्रमण बढेको छ । कार्बन उत्सर्जनको ६८ प्रतिशत कार्बनडाइअक्साइड कृषि क्षेत्रबाट निस्कन्छ यस्ता ग्यास उत्सर्जन क्रियाकलाप कम गर्न वा विकल्प खोज्नुपर्दछ। कृषि क्षेत्र आफैँमा जलवायु परिवर्तनको जोखिममा भएतापनि यसले १४ प्रतिशतसम्म हरितगृह ग्यास उत्सर्जन गर्ने विज्ञहरू बताउँछन्।

जलवायुमैत्री कृिष एक पद्दति हो, जसले जलवायु परिवर्तन अनुकूलन कृषि उत्पादनलाई वृद्घि गरी दीगो खाद्य सुरक्षामा मद्दत पुर्‍याउँछ। यसबाट हरितगृह ग्यास उत्सर्जनमा पनि कमी आउँछ । यसमा कृषिभित्र पशुपालन, मत्स्यपालन र वन व्यवस्था समेत पर्दछ। जलवायुमैत्री कृषिले फार्मको जग्गा, खेती पद्दति, धरातल, राष्ट्र र सम्पूर्ण विश्वलाई नै समेट्छ । जलवायुमैत्री कृषिले स्थानीय क्षेत्रमा जलवायु परिवर्तनको असरलाई कम गरी हरितगृह ग्यास उत्सर्जनमा कम गर्न र वातावरणीय फाइदा पुर्‍याउन मद्दत गर्दछ।

कृषिको उत्पादकत्व र आम्दानी बढाई दीगो खाद्य सुरक्षामा सघाउ पुर्‍याउन र हरितगृह ग्यास उत्सर्जनमा कमी ल्याउन विश्वव्यापीरुपमै जलवायु अनुकूलन कृषि कार्यको शुरुवातमा जोड दिन थालिएको छ । जलवायुमैत्री कृषिमा उत्पादकत्व र आम्दानी बढाउन सम्भावित विकल्पहरूको पहिचान गरी प्राणी तथा जनस्वास्थ्य तथा वातावरणीय पक्षलाई महत्त्व दिइन्छ। मौसम र हावापानीमा आएको फेरबदलअनुसार बालीनालीमा विभिन्न नयाँनयाँ किसिमका रोगकिराको प्रकोपले पार्ने असरलाई न्यूनीकरण गरिन्छ।

रासायनिक मल तथा विषादीको जथाभावी प्रयोगले माटोको उर्वराशक्ति ह्रास भएर बालीमा उत्पादन घट्नुको साथै प्रयोग भएका रासायनिक मल विषादीले वायुमण्डलमा कार्वनडाइअक्साइडको मात्रा बढ्न गएर विभिन्न रोगको समस्या हुने, रोगकीराको प्रकोप बढ्ने वातावरण प्रदूषण हुने कारण जथाभावी प्रयोगबाट जलवायुमा असर पर्दछ। जलवायुमा असर नपर्ने गरी हावापानी वातावरण स्वच्छ राख्नको लागि भौगोलिक अवस्था र हावापानीअनुसारको सुहाउँदो उन्नत जातको बीउको प्रयोग स्थानीय लोपोन्मुख जातको बीउहरूलाई संरक्षण गरी उत्पादन गरेमा वातावरणीय हिसाबले स्वादिष्ट उत्पादन गरी मानव तथा प्राणी जगतमा समेत राम्रो प्रभाव पारी वातावरण प्रदूषणबाट रोक्छ।

कृषि कार्य पर्यावरणमा आधारित हुने भएकाले कृषि उत्पादन र पशुपालन स्थानीय जलवायुमा निर्भर रहन्छ। जलवायु परिवर्तनका कारण हुने मौसम परिवर्तन, वर्षा पात्रोमा हेरफेर, तापक्रम वृद्धि, खडेरी, बाढीपहिरो आदिले कृषि उत्पादनमा नकारात्मक असर पार्ने गर्दछ । कृषि क्षेत्र मनसुनी वर्षा र हिउँदे पानीमा निर्भर रहन्छ। वर्षामा देखिने अनियमितता तथा उतारचढावले कृषिको परम्परागत बाली चक्र असन्तुलित हुँदै गइरहेको छ, जसले गर्दा बालीहरू समयमा लगाउन कठिन हुने र स्थानीय प्रजातिको उत्पादकत्व घट्ने क्रम बढिरहेको छ । तसर्थ यसबाट बच्न जलवायु अनुकूलित कृषि प्रणालीलाई राष्ट्रिय प्राथमिकतामा राख्नु जरुरत छ । जलवायुमैत्री कृषि प्रणालीका अभ्यासहरूका आधारमा नीति, योजना र कार्यक्रम बन्नुपर्दछ।

दुई नमूना कार्यक्रम
जलवायु परिवर्तनको असरले वातावरण प्रदूषण भई प्राणी जगत तथा मानव स्वास्थ्यमा समेत असर परेर समस्या देखिएकाले यसको न्यूनीकरणतर्फ राजयस्तरबाट अझै ठोस काम हुन सकेको छैन। यद्यपि, केही गैरसरकारी संस्थाहरूले पहलमा जलवायुमैत्री कृषि प्रणालीका अभ्यासहरू भएका छन्। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम/विश्व वातावरण कोष/साना अनुदान कार्यक्रमको सहयोगमा बहुआयामिक श्रोत केन्द्र (एमआरसी) नेपालको प्राविधिक सहयोगमा सञ्चालित दीगो जीविकोपार्जन सुदृढीकरणका लागि जलवायु अनुकुलता सुहाउँदो कृषि परियोजनाले नमूनाको रुपमा तनहूँको देवघाट गाउँपालिकाको वडा नं १ र ५ मा जलवायुमैत्री कृिष प्रणाली कार्यान्वयन गरेको छ। दुईवटै वडामा पाँच/पाँच वटा कृषक समूह गठन गरी वातावरणमैत्री खेती पद्दतिलाई जोड दिइएको छ।

जलवायुमैत्री कृषि प्रणालीमा वातावरणमैत्री खेती पद्दति, खोरिया खेती संरक्षण, व्यवस्थित पशुपालन, पानी मुहान तथा श्रोत संरक्षण, खाली जग्गा, वनजङ्गल खोल्साखोल्सीमा वृक्षरोपण, समय स्थानअनुसारको घुम्ती बाली तथा कोशेबालीको प्रयोग, वातावरणमैत्री कोठेबारीको योजना, रासायनिक मलको विकल्पमा सुधारिएको गोठेमल तथा कम्पोष्ट मल, वातावरणमैत्री सिँचाई व्यवस्थापन, टनेल तथा बगरखेतीजस्ता विभिन्न अभ्यासहरूलाई अपनाइएको हुन्छ। जलवायुमैत्री कृषिमा राष्ट्रिय प्राथमिकतामा विकास र स्थानीय चासोलाई ख्याल गरिनुको साथै बाली, पशुपालन, वन, मत्स्यपालन, सिँचाई र ऊर्जा क्षेत्रसँग समन्वय गरिएको हुन्छ।

यसैगरी कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषको आर्थिक सहयोगमा वन तथा वातावरण मन्त्रालयअन्र्तगत सञ्चालित पहाडी साना किसानका लागि अनुकूलन आयोजना(आसा) पनि एक हो । २६ फेबु्रअरी २०१५ बाट लागू भएको छ वर्षे आयोजनाले प्रदेश नं ५ र ६ का सातवटा जिल्लाहरू कालिकोट, दैलेख, सल्यान, जाजरकोट, पूर्वी रुकुम, पश्चिम रुकुम र रोल्पामा आफ्ना कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । जलवायुजन्य प्रकोपहरूबाट जोखिममा परेका ग्रामीण पहाडी क्षेत्रको गरिबी कम गर्ने उद्देश्यले सञ्चालित यस कार्यक्रमले स्थानीय समुदायको जलवायुजन्य सङ्कटासन्नता न्यूनीकरण गर्ने र जलवायु परिवर्तन अनुकूलनका लागि अनुकूलित संस्थागत सबलीकरण गर्ने उद्देश्य राखेको छ।

जलवायु परिवर्तनबाट सिर्जित समस्याहरूसँग जुध्नका लागि अनुकूलन र न्यूनीकरणका उपायलाई अवलम्बन गरिएको छ । अनुकूलनले जलवायुजन्य जोखिमहरूसँग सामना गर्न सक्षम तुल्याउँछ भने न्यूनीकरणले जलवायुसम्बन्धी जोखिमहरू कम गर्ने उपायहरूको खोजी गर्दछ । जलवायु परिवर्तन अनुकूलन तथा न्यूनीकरणमा प्रभाव पार्नका साथै साना किसानको दिगो जीविकोपार्जनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

पश्चिम नेपालका अति सङ्कटापन्न बस्तीमा निर्माण हुने हरेक भौतिक संरचना वातावरणमैत्री र जलवायु अनुकूल बनाउने, साना किसानका लागि जलवायु अनुकूलित नाफामुखी उत्पादनमा वृद्धि गर्न भू–व्यवस्थापनमा जोड दिने गरी परियोजना तर्जुमा भएको छ। पहाडी क्षेत्रका साना किसानहरूलाई जलवायु परिवर्तन तथा जोखिम तथा असरलाई सकेसम्म कम गरेर उनीहरूको जीवनस्तर उठाउने जलवायुजन्य प्रकोपसँग सामना गर्न र अनुकूलनमा क्षमता अभिवृद्धि गर्न आयोजनाले सहयोग गरिरहेको छ। जलवायुमैत्री कृषि प्रणाली, पानीको मितव्ययी तथा बहुउपयोग, ऊर्जा, कार्यबोझ घटाउने उपायहरू, वन संरक्षण र वनको दीगो व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण, पशुपालन व्यवसाय र भूसंरक्षणका क्षेत्रका कामहरू भएका छन्।

Facebook Comments