म वन विनाश गर्न आएको हैन: मन्त्री भट्टराई

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफू वन विनाश गर्न नभई निजगढ विमानस्थल बनाउन आएको बताएका छन्।

मंगलबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथ समन्वय समितिमा बोल्दै मन्त्री भट्टराईले सो बताएका हुन्।

निजगढका रुख काट्नुअघि वृक्षारोपणको अभियान शुरु गर्ने मन्त्री भट्टराईले जानकारी दिए। वृक्षारोपणको अभियानको विषयमा पर्यटन मन्त्रालय र वन मन्त्रालयबीच बुधबार छलफल हुने बताइएको छ।

त्यसैगरी, निजगढ विमानस्थलमा अन्तर्राष्ट्रिय लगानी नजुटे सरकार आफैंले निर्माण गर्ने उनले जनाए।

लगानी बोर्डबाट निजगढ विमानस्थलका लागि लगानी जुट्ने अवस्था नआए सरकार पछाडि नफर्कने उनको भनाइ थियो। मन्त्रालयले मङ्गलबार नै निजगढ विमानस्थलको लगानीका विषयमा लगानी बोर्डसँग पनि छलफल गर्दैछ।

आगामी मङ्सिरसम्म निजगढ विमानस्थलको शिलान्यासको घोषणा गरेका मन्त्री भट्टराईले पूर्व तयारीका काम सकेरै शिलान्यास गरिने बताए।

Facebook Comments