पूर्वसूचना प्रणालीका कारण कञ्चनपुरमा मानवीय क्षति शून्य

कञ्चनपुर– पूर्वसूचना प्रणालीका कारण कञ्चनपुरमा बाढीजन्य प्राकृतिक प्रकोपले हुने मानवीय क्षति शून्यमा झरेको छ।

जिल्ला आपत्कालीन सञ्चालन केन्द्र स्थापना भएपछि मानवीय क्षति शून्यमा झरेको हो। जिल्लाका मुख्य नदीहरुमा जलसतह मापन केन्द्र, वर्षा मापन केन्द्र स्थापना भएपछि मानवीय क्षति हुन पाएको छैन।

जल तथा मौसम विज्ञान विभागको मातहतमा महाकाली बेसिन कार्यालय अत्तरियासँगको समन्वयले समेत बाढीजन्य प्रकोपबाट हुने मानवीय क्षति हुन नपाएको नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको एमरेड परियोजनाका अधिकृत महेश घिमिरेले बताए।

‘चुरे लगायतका पहाडी क्षेत्रमा वर्षा शुरु हुनासाथ आपत्कालीन सञ्चालन केन्द्रले नदी बेसिन क्षेत्रमा रहेका जल सतह मापनकर्ताहरुलाई खबर गर्छन्’, उनले भने, ‘त्यसपछि नदीको तल्लो तटीय क्षेत्रमा नदीको जलस्तरबारे जानकारी दिइन्छ।’

नदीको जलस्तर खतरा बिन्दुमा पुग्न अगावै नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क गराई सुरक्षित स्थानमा बस्न अथवा नदी क्षेत्रमा नजान माइकिङ गर्ने, साइरन बजाउने लगायतका कार्य गरिन्छ।

जिल्लाका विभिन्न ठाउँमा गठन गरिएका प्राथमिक उपचार कार्यदल, खोज तथा उद्धार कार्यदललाई तयारी अवस्थामा राखिन्छ। बाढीमा कोही फसे कार्यदलले उद्धार गरी सुरक्षित स्थानमा पु-याउने गर्दछन्।

‘बाढी आउन अगावै कार्यदलका सबै सदस्यलाई अभ्यास गराई तयारी अवस्थामा राख्दै आएका छौँ’, उनले भने, ‘बाढीको अति जोखिममा रहेका समुदायसँग मिलेर विपद् प्रतिकार्य योजनासमेत बनाइएको छ।’ नदी तटीय क्षेत्रका बासिन्दाको जग्गा भूक्षय भई घरपरिवार नै विस्थापन हुने विगतमा समस्या थियो।

हाल रेडक्रसले सञ्चालन गरेको जनचेतनामूलक कार्यक्रमसँगै जैविक तटबन्ध बनाउने कार्य हुन थालेपछि भूक्षयको समस्यासमेत हटेर गएको छ। भूक्षय रोक्नका लागि स्थानीय तहले खर्च गर्दै आएको रकमसमेत जोगिएको छ।

‘पहिला बस्तीसमेत व्यवस्थित थिएनन्’, स्थानीयवासी मङ्गलप्रसाद चौधरीले भने, ‘बाढीबाट जोगिनका लागि बस्ती व्यवस्थित भएपछि हाल बाढी आउन अगावै स्थानीय बासिन्दाले जानकारी पाउने भएकाले बहुमूल्य गरगहना, नगद, जिन्सी, कागजात, चौपाया र मानवीय क्षति हुन पाउँदैन।’

रेडक्रसका अनुसार बाढीजन्य प्रकोपका कारण कञ्चनपुरमा सन् २००९ मा आएको ठूलो बाढीबाट प्रभावित घरधुरी दुई हजार २५० रहेको थियो। तीमध्ये पूर्ण क्षति भएका घरको सङ्ख्या १५० रहेको थियो। बाढीका कारण ८५० को घरमा आंशिक क्षति पु-याउनाका साथै ७६ परिवार विस्थापनमा परेका थिए। सोही क्रममा तीन जनाको बाढीमा परेर मृत्यु भएको थियो।

सन् २०१२ को सेप्टेम्बरमा आएको बाढीबाट दुई हजार ७५ परिवार प्रभावित भएकामा पूर्ण क्षति ९६, आंशिक क्षति एक हजार २२९, विस्थापित ९६ परिवार भएका थिए । बाढीमा परेर मृत्यु हनेको सङ्ख्या शून्य थियो।

सन् २०१३ मा बाढीका कारण अत्यन्त थोरै परिवार प्रभावित भएका थिए। सन् २०१४ जुलाईमा बाढीका कारण दुई जनाको मृत्यु भएको थियो । सन् २०१५ देखि हालसम्म बाढीजन्य प्रकोपकै कारण मानवीय क्षति भने भएको पाइएको छैन। बाढीकै कारण नदीले बगाएर कसैको मृत्यु नभए पनि नदीमा नुहाउने क्रममा, असावधानी अपनाउँदा, नदीमा जाँदा केहीको मृत्यु भएको अधिकृत घिमिरेको भनाइ छ।

एक अध्ययनअनुसार विपद् जोखिमको हिसाबले नेपाल विश्वमा २० औँ स्थानमा पर्दछ। जलवायु परिवर्तनको प्रभावको हिसाबले चौथो स्थानमा रहेको छ। बाढीपहिरोको जोखिममा नेपाल ३०औँ स्थानमा छ। ८० प्रतिशत वर्षा मनसुनका कारण हुने गर्दछ भने औसत वर्षा एक हजार ५०० देखि दुई हजार ३०० मिलिमिटरसम्म रहेको छ। नेपालमा छ हजारभन्दा बढी नदीनाला रहेका छन्।

बाढीपहिराका कारण बर्सेनी नेपालमा तीन सयभन्दा बढीको मृत्यु हुने गरेको छ । बाढी र पहिरोबाट हरेक वर्ष औसतमा रु एक अर्ब २० करोड ८० लाख बराबरको सम्पत्तिमा प्रत्यक्ष रुपमा क्षति हुने गरेको छ तथ्याङ्क छ। रासस

Facebook Comments