कलंकी–चाबहिल सडक खाली गराउने काम शुरु

काठमाडौँ– चीन सरकारले चक्रपथको कलंकीदेखि चावहिलसम्मको सडक विस्तारका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) अध्ययन गरिरहँदा यस खण्डमा सडक खाली गराउने काम शुरु भएको छ।

सडक विभाग, चक्रपथ सुधार आयोजनाले कलंकीदेखि महाराजगञ्ज हुँदै चावहिलसम्म सडकको अधिकार क्षेत्रभित्र पर्ने स्थान खाली गराउन लागेको हो।

सडकमा रहेका रूख, बिजुलीको पोल, खानेपानीको पाइपलगायतका संरचना हटाउन लागिएको बताइएको छ। कतिपय संरचना हटाउनका लागि विभिन्न निकायसँग सहकार्य हुनेछ।

चक्रपथको चौडाइ सडकको मध्य भागबाट ३१ मिटर रहेको छ।

चक्रपथको पहिलो खण्डका रुपमा रहेको कोटेश्वर– कलंकी सडक सम्पन्न हुनासाथ दोस्रो खण्डको अध्ययन शुरु भएको हो।

नेपाल सरकारलाई गत वर्ष नै चीन सरकारले निर्माण सम्पन्न गरेर सडक हस्तान्तरण गरिसकेको छ। अध्ययन गरिरहेको चीन सरकारले नै सो सडकको समेत विस्तारको काम गर्नेछ।

Facebook Comments