सुदूरपश्चिममा रोपियो एक लाख फलफूलका बिरुवा

कैलाली–सुदूरपश्चिम प्रदेशमा एक लाख ३५ हजार फलफूलका बिरुवा रोपिएको छ।
सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७५/७६ मा सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा दुई चरणमा ‘एक घर पाँच फलफूलका बिरुवा’ रोपण कार्यक्रम अन्तर्गत फलफूलका बिरुवा रोपिएको हो।

हिउँदको सिजनमा सुदूरपश्चिम प्रदेशका पहाडी सात जिल्लाहरूमा ओखर, सुन्तला, कागतीलगायतका फलफूलका बिरुवा रोपिएको मन्त्रालयका सूचना अधिकारी डा.विश्वेश्वरप्रसाद खनालले बताए।

त्यस्तै असारमा कैलाली र कञ्चनपुरमा आँप, अनार, अम्बा लगायतका फलफूलका बिरुवा रोपण गरिएको उनले जानकारी दिए।

फलफूलका बिरुवा रोपणका लागि ९९ लाख ९० हजार रुपैयाँ बजेट खर्च भएको सूचना अधिकारी खनालले बताए।
यी फलफूलका बिरुवा सुदूरपश्चिम प्रदेशका २६ हजार घरपरिवारमा लगाइएको हो।

यस्तै डिभिजन वन कार्यालय कैलालीले आर्थिक वर्ष २०७५/०७६ मा १५ लाख बिरुवा वितरण गरेको जनाएको छ। यसका लागि कार्यालयले १४ लाख बजेट खर्च गरेको छ।

वनका अनुसार १३ हेक्टर वन क्षेत्रमा वृक्षारोपण भएको छ। वनका अनुसार सामुदायिक, राष्ट्रिय, निजी वन, विभिन्न सघंं–संस्था तथा कृषकहरूलाई बिरुवा वितरण गरिएको हो।

कार्यालयले आफ्नै नर्सरीमा उत्पादन गरेको बकाइनो, मसला, शिरीष, पिपल, सिसौ, खयर, राजवृक्ष, गुलमोहर लगायतका बिरुवा वितरण गरेको थियो।
कार्यालयका अनुसार आर्थिक वर्ष २०६५/०६६ देखि गत आर्थिक वर्ष २०७५/०७६ सम्म कैलालीमा पाँच सय ५६ दशमलव ९१ हेक्टर वन क्षेत्रमा वृक्षारोपण गरिएको छ। यो अवधिमा छ करोड बढी बजेट खर्च भएको छ।

बिरुवा रोपण र वितरणमा लाखौँ खर्च, उपलब्धि शून्य
सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरूमा प्रत्येक वर्ष लाखौँ रुपैयाँमा फलफूललगायतका बोटबिरुवा रोपिएपनि उपलब्धि भने शून्य छ।

बिरुवा खरिद तथा ढुवानी, तारवार लगायतमा डिभिजन वन कार्यालयले सो रकम खर्च गर्ने गरेको जनाएको छ। तर, यतिका मात्रामा वृक्षरोपणमा खर्च हुँदा पनि कैलालीमा वनको क्षेत्रफल भने बढ्न सकेको छैन। बिरुवा रोपण र वितरणमा बर्सेनी लाखौँ खर्च भए पनि उपलब्धि शून्य रहेको छ।

Facebook Comments