कञ्चनपुरमा डम्पिङ साइटको अभाव : कतै बजारमै फोहोरकाे डंगुर, कतै नगरपालिकाको कार्यालयमा

महेन्द्रनगर – कञ्चनपुरका स्थानीय तहमा फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट)नहुँदा फोहाेर व्यवस्थापनमा समस्या भएको छ। सात नगरपालिका र दुई गाउँपालिका रहेको कञ्चनपुरमा डम्पिङ साइट नहुँदा फोहाेर व्यवस्थापनमा चुनौती थपिएको हो।

कतै जग्गा अभाव र कतै व्यवस्थापनमै ध्यान नपुग्दा फोहोरको वर्गीकरण र व्यवस्थापनमा समस्या देखिएको हो। कञ्चनपुरको भीमदत्त, शुक्लाफाँटा, माहाकाली, बेलौरी र पुर्नवास नगरपालिकामा अस्थायी रूपमा फोहाेर व्यवस्थापन गरिएको छ भने बेदकोट, कृष्णपुर नगरपालिका, लालझाडी गाउँपालिका र बेलडाँडी गाउँपालिकाले फोहोर व्यवस्थापन गरेका छैनन्। अहिले जिल्लामा जथाभावी फोहोर फाल्नाले सर्वसाधारणलाई नाक थुन्नु र खुम्च्याउनु पर्ने अवस्था आएको छ। पूर्वपश्चिम राजमार्गसँग जोडिएका स्थानीय तह भीमदत्त, बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकामा फोहोर व्यवस्थापन झनै जटिल बन्दै गएको छ।

भीमदत्त नगरपालिकाले फोहोर व्यवस्थापन केन्द्रको अभावमा महेन्द्रनगर बजारबाट संकलन हुने फोहर कार्यालयमा राख्ने गरेको छ । भीमदत्त नगरपालिकाको महेन्द्रनगर बजार क्षेत्रबाट मात्रै ५ टनभन्दा बढी फोहाेर संकलन हुने गरेको छ । उक्त फोहोर भीमदत्तले दैनिक संकलन गरेर नगरपालिकाको कार्यालयमा राख्ने गर्छ । नगरपालिकासँग फोहोर व्यवस्थापन गर्ने विकल्प नभएकाले कार्यालय परिसरमा फोहोरमैला थुपारेर नष्ट गर्ने गरेको भीमदत्त नगरपालिकाका सरसफाई शाखाका प्रमुख पुष्पराज भट्टले बताए।

‘बजारको फोहोर संकलन गरेर कार्यालयमा राख्छौं, यहाँ राखिएको फोहोर समय समयमा नष्ट गर्ने गरेका छौं,’ उनले भने, ‘फोहोरको मात्र वर्षेनी बढ्दै गएकाले व्यवस्थापनमा चुनौती हुन्छ।’ फोहाेर व्यवस्थापन केन्द्र निर्माणका लागि भीमदत्तले जग्गा खोजिरहेको नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले बताए। भीमदत्त नगरपालिकामा एसियाली विकास बैंकको क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गत डम्पिङ साइट निर्माण गरिने उनले बताए ।

‘ ठाउँ अभावकै कारण फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण हुन सकिरहेको छैन,’ उनले भने, ‘स्थानीयको विरोधका कारणले फोहोर व्यवस्थान केन्द्र निर्माणमा ढिलाई भइरहेको छ। बेदकोट नगरपालिकामा पनि डम्पिङ साइटको अभाव छ। नगरपालिकासँग डम्पिङ साइट नहुँदा बजारको फोहाेर समेत संकलन गर्न नसकिएको नगरपालिकाका उपप्रमुख सुशिला सिंहले बताइन्।

‘डम्पिङ साइट नहुँदा बजारको फोहर समेत संकलन गर्न सकिएको छैन्,’उनले भनिन्,‘अहिले बजारको फोहोर व्यापारी आफैँ संकलन गर्छन्, आफै नष्ट गर्छन् ।’ नगरपालिकाले डम्पिङ साइट निर्माण गर्न जमिन खोजिरहेको उनको भनाइ छ । कञ्चनपुरको महाकाली नगरपालिकाले पनि अस्थायी रुपमा फोहोर व्यवस्थापन गर्दै आएको छ । महाकाली नगरपालिकाले दुई स्थानमा अस्थायी रुपमा फोहोर राख्ने गरेको नगरपालिकाका उपप्रमुख चिनी गिरीले बताइन् । ‘अहिले दोधारा क्षेत्रको फोहोर संयुक्त वडा कार्यालय भवन नजिक राख्ने गरेका छौं भने चाँदनी क्षेत्रको फोहोर गौरी शंकर सामुदायिक वनमा राख्ने गरेका छौं,’ उनले भनिन्,‘अब स्थायी फोहोर व्यवस्थापन केन्द्र बनाउने योजना छ, जग्गाको खोजी गरिरहेका छौं ।’ उनले दोधारा र चाँदनी क्षेत्रबाट करिब ३ टन फोहोर संकलन हुने गरेको बताइन्।

‘बजार क्षेत्रमा फोहर संकलनका लागि फोहोर राख्ने टिनका डिब्बा वितरण गरेका छौं,’ उनले भनिन्,‘ती डिब्बामा संकलन भएको फोहोर नगरपालिकाले दैनिक उठाउने गरेको छ।’ एसियाली विकास बैंकको क्षेत्रीय शहरी विकास आयोजनाको सहयोगमा शुक्लाफाँटा नगरपालिकाले फोहोर व्यवस्थापन केन्द्र निर्माण गर्ने तयारी गरेको छ। अहिले नगरपालिकाले वडा नं. ११ को कृष्ण सामुदायिक वनमा अस्थायी डम्पिङ साइट बनाएको छ। शुक्लाफाँटाको झलारी, वन समिति र कलुवापुर बजारबाट नगरपालिकाले फोहोर संकलन गरेर व्यवस्थापन गर्ने गरेको नगरपालिकाका प्रमुख दिलबहादुर ऐरले बताए।

‘हामीले बजार क्षेत्रको फोहोर दैनिक संकलन गर्ने गरेका छौं,’ उनले भने, ‘संकलन भएको फोहर सामुदायिक वनमा व्यवस्थापन गर्दै आएका छौं ।’ कृष्णपुर नगरपालिकाले डम्पिङ साइटको अभावमा बजारको फोहर संकलन गर्न सकेको छैन् । कृष्णपुर नगरपालिकाको मुख्य बजार क्षेत्रका फोहोर डम्पिङ साइटको अभावमा संकलन नभएको सूचना अधिकारी प्रेमसिंह बोगटीले बताए । ‘फोहर व्यवस्थापनका लागि डम्पिङ साइट छैन्, फोहर संकलन गरे कहाँ राख्ने समस्या हुन्छ,’ उनले भने,‘अब बजारको फोहोर संकलन गर्ने योजना बनाएका छौँ।’

Facebook Comments