‘इकोसिस्टमलाई गतिशिल बनाउन भ्यागुतो अत्यावश्यक’

तागाधारी समुदायले जनै पूर्णिमा मनाउने दिन, काठमाडौं उपत्यकाका नेवार समुदाय भने प्रकृतिलाई जीवन्त बनाउने अनि किसानको साथी भ्यागुतोको पूजा गर्छन् । यो दिन विशेष गरी सीमी बोडीजस्ता वनस्पतिका पातमा, भ्यागुतोको ऐना मानिने मुलाको गोलो चक्का समेत राख्ने र खेतबारीमा फल्ने सबै खालका तरकारी, क्वाँटी सहित भ्यागुतालाई भात दिने गरिन्छ । यो दिन भ्यागुतो मात्र हैन एक प्रकारको वनस्पति भ्यागुता फूलको पनि संरक्षणका लागि पूजा गर्ने परम्परा छ।
खेतबारीमा काम गर्ने किसानलाई विभिन्न पंक्षी किटपतङ्ग पनि साथी चाहिन्छ। उनीहरूको साथले गर्दा खेतिपातीको काम सुध्रन्छ । परेवा, भ्यागुतो, सर्प, पुतली, माहुरी लगायतका विभिन्न पंक्षी किराफट्यांग्राले किसानको खेतिपातीमा सघाउँछन्। रोपाइँ भनेकै मरीमरी गर्ने काम हो। यो काम सकेपछि, विस्तारै चाडपर्व शुरु हुन्छ। यही रोपाई सकिनेबित्तिकै मनाइने जनै पूर्णिमाका दिन नेवार समुदायमा ब्याजा नकेगु अर्थात् भ्यागुतोलाई भात खुवाउने परम्परा छ। भर्खर रोपेको धानको बाली रक्षा गर्ने को त? निसन्देह यिनै पंक्षी तथा किराफट्यांग्रा त हुन् । त्यसमध्ये पनि भ्यागुतोलाई नै किन भात खुवाउने त?
भ्यागुतोले जब बच्चा जन्माउँछ, त्यो बेला माछा आधा र भ्यागुतो आधा भएर पानीमै बस्छ । यसले पानीलाई हल्लाएर बस्छ।

त्यो वनस्पतिका लागि नभइनहुने चिज हुन्छ । त्यो बेला भ्यागुतो निकै खन्चुवा हुन्छ। उसले खाने किरा माइक्रोअर्गानिज्म, जसले खेतबारीलाई क्षति गर्ने खालको हुन्छ। त्यसैले भ्यागुतोले ती माइक्रोअर्गानिज्म खाइदिन्छ र धानको बालीलाई क्षतिहुनबाट रोक्छ। पानीबाट बाहिर निस्केर पनि भ्यागुतोले धानबाली वरपर रहेका वनस्पति नभइ किराफट्यांग्रालाई पनि खाइदिन्छ । यो प्राकृतिक सन्तुलन कायम गर्ने प्राणी भएकाले यसलाई संरक्षण गर्नुपर्छ भनेर भ्यागुतोको जनै पूर्णीमाका दिन नेवार समुदायले पुजा गर्ने गरिएको वनस्पतिविद डा. तीर्थबहादुर श्रेष्ठ को तर्क छ। ईको सिष्टमलाई गतिशिल बनाउन भ्यागुताको अतुलनीय भूमिका हुने उनको दाबी छ। यही विषयमा डा. श्रेष्ठसँग, सम्झना महर्जनले गरेको कुराकानीकाे सम्पादित अंशः

भ्यागुताको पूजा गर्ने संस्कृति परम्परामा वैज्ञानिक आधार पनि छ?
वैज्ञानिक कुरा नै हुन यी । हामीले नबुझेको मात्र हो । यसको पहिचान र वैज्ञानिक आधार खोज्नका लागि ठूलो एक्सपेरिमेन्ट जरुरी छैन । बुझेर अघि बढ्ने र हस्तान्तरण गर्दै जानु पर्‍यो । उसले वातावरण र मौसमको बारेमा अवगत गराउँदै छ । यो प्राणी र पर्वले वातावरण लाई संकेत गराइरहेको छ । यो प्राणी जहाँ छ त्यो वातावरण शुद्ध र सफा छ भन्ने संकेत गर्छ । मात्र उसको भाषा मानवले बुझ्न पर्‍यो ।

भ्यागुतोले इको सिष्टममा कसरी सहयोग पुर्‍याँउछ?
इको सिष्टमलाई मेनटेन गर्नका लागि भ्यागुताले खेतबारीका किराफट्यांग्रालाई खाने गर्छ। विशेषगरी धानबालीका किरा खाइदिन्छ र इको सिष्टमलाई कायम राख्न किरा खाएर बाली संरक्षण गर्ने काम गरिरहेको हुन्छ। तर, आजकल बालीमा विभिन्न खालका विषादी राख्ने चलन। यसले गर्दा बाली रक्षा गर्ने यी भ्यागुता, पुतली लगायतका प्राणी हराउँदै गएका छन। भ्यागुतो, पुतली, माहुरी, सर्पलगायतका प्राणीले इको सिस्टमलाई चलायमान गर्न मद्दत पुर्‍याउँछन्। त्यसैले यि प्राणीहरूको बेलाबखतमा पुजा गर्ने संंस्कृति छ। गथामुगः अर्थात् गठेमंगलमा घर सरसफाई गरी विभिन्न वनस्पतीको पुजा गरिन्छ। यसपछि नागपञ्चमीमा नाग, सर्पको पुजा गर्ने गरेका छन् भने जनैपुर्णिमामा भ्यागुतोको संरक्षणका लागि यसको पुजा गर्छन्। तर यसको अर्थ थाहा नहुदाँ धेरैले भ्यागुतोलाई हेप्छन्। भ्यागुतोको जीवनचक्र बुझ्ने हो भने त हामीले आदर सत्कार गर्नुपर्ने देखिन्छ। भ्यागुतोले खाना खाने त हैन तर मानवले प्रकृति वनस्पति र जीवलाई आदर भाव देखाउने मात्र हो । मानवले यी प्राणीलाई रक्षा र संरक्षण गर्ने र उसले खेतबारीको रक्षा गर्ने दोहोरो सम्बन्ध छ।

भ्यागुतोको जीवन चक्र कस्तो हुन्छ ?
जहाँ भ्यागुतो हुन्छ त्यो पानी शुद्ध हुन्छ। भ्यागुतो भएको पानीमा विष हुँदैन। शुद्ध पानी र वातावरणको संकेत माछा र भ्यागुतोले दिइरहेको हुन्छन्। भ्यागुतोको जीवनचक्र निकै रमाइलो हुन्छ। यसले हजारौं अण्डा पार्छ। पानी पर्ने समयमा यसले पानी भएको स्थानमा हजारौं अण्डा पारेको हुन्छ र त्यहाँ आधा भ्यागुतो र आधा माछा भएका अवस्थाका थुप्रै जीव देखिन्छ। माछा र भ्यागुतो आधा भएको यो प्राणीको विस्तारै हातखुट्टा बन्दै जान्छ। माछाको सास फेर्ने गिल्स र पुच्छर पनि हराउँदै जान्छ र भ्यागुतो बनेर उफ्रेर हिँड्छ । जहाँ यो अवस्था देखिन्छ त्यो स्थानको पानी पनि शुद्ध हुन्छ भन्ने पत्ता लगाउन पनि माछा भ्यागुतो वातावरणमा नभइ हुँदैन । जब समूहमा भ्यागुतो एकै स्थानमा जम्मा भएर कराउछ तब पानी पर्छ।

जग्गा जमिन हराउँदैछ भ्यागुतालाई खेल्ने ठाउँ चाहिएला कसरी संरक्षण गर्ने?
यी प्राणी भएका स्थानमा यसको संरक्षण गर्नु जरुरी छ। यसका लागि जहाँ यी प्राणी छन त्यसलाई संरक्षित क्षेत्र बनाउनुपर्छ। मानवको जीवनशैली नै परिवर्तित हुँदै गएको छ। संस्कृति, संस्कारको अभिलेख राख्ने र एकअर्कालाई हस्तान्तरण गर्ने र विद्याालयमा पढाउने गरेमा मात्र नयाँ पुस्ताले संरक्षण गर्दै जानेछन्।

Facebook Comments