खप्तड राष्ट्रिय निकुञ्ज : खुला चरिचरनले जडीबुटी लोप हुँदै

बझाङ– खप्तड राष्ट्रिय निकुञ्जमा पछिल्लो समय जैविक विविधतामा समस्या देखिन थालेको छ। पहिले देखिने बोट बिरुवा देखिन छाडेका छन्। यसो हुनुको मुख्य कारण खुला चरिचरन हो।

खप्तड राष्ट्रिय निकुञ्ज एक मात्रै खुला चरिचरण भएको निकुञ्ज हो। यहाँ धेरै पहिलेदेखि चरिचरण हुँदै आएको छ। पहिले–पहिले यहाँ धेरै किसिमका विषादी युक्त फूल फुल्ने वनस्पति पाइन्थे। ती वनस्पतिको वासनाले मानिसहरूलाई असर नगरोस भनी बस्तु चराउने चलन सुरु भएको हो भन्ने भनाइ छ। निकुञ्ज बनेपछि पनि यहाँ खुल्ला चरिचरन रोकिएन। यसका कारण अहिले समस्या देखिन थालेका छ।

‘खुला चरिचरनका कारण समस्याभइ रहेको छ। पहिरो जाने समस्या पनि देखिएको छ। पानी जमिन मुनी जान नसक्ने किसिमका समस्या भएका छन,’ खप्तड राष्ट्रिय निकुञ्जका सिनियर गेमस्टार तिलक देवकोटाले भने। धेरै जडीबुटी लोप हुँदै गएको मध्यवर्ती क्षेत्र व्यवस्था परिषद्का सदस्य हिरेन्द्रबहादुर राउतले बताए।

‘धेरै बस्तुभाउ हिँड्दा जैविक विविधतामा समस्या आउँछ। चरिचरन बढी हुँदा जडीबुटी पनि उम्रिँदैनन्। धेरै लोप हुँदै गएको पाइएको छ,’ उनले भने।
आजकल यहाँ धेरै स्थानमा भूक्षय जान्छ। यसको रोकथामका लागि जैविक तटबन्धहरू निर्माण गरिएका छन्। तर, यसबाट त्यति फाइदा भएको छैन। चरिचरनले जमिनमा मात्रै हैन वनस्पतिको विकासमा पनि समस्या ल्याउने गर्छ। खास गरी भेडा बाख्रा चरेको स्थानमा पहिलेका वनस्पति उम्रने सम्भावना न्यून हुन्छ। यसरी भएका वनस्पति मासिँदै जान्छन्।

‘सबै भन्दा त बाख्राले बिगार्‍यो। वरिपरि नजिकै निगालो हुन्थ्यो। बाख्रा सबै स्थानमा जान सक्छ। धेरै बाख्रा पाल्ने पनि छन्। पाठाले धेरै खराब गर्छ,’ खप्तड छान्ना गाउँपालिकाका स्थानीय हेमबहादुर विष्टले भने।

निकुञ्जले अब भने खुल्ला चरिचरन रोक्ने तर्फ सोचेको छ। यसका लागि केही प्रयास भइरहेका छन्। पछिल्ला केही वर्षदेखि चरिचरनका लागि पुर्जी काट्नु पर्ने व्यवस्था गरिएको छ। यसको शुल्क हरेक वर्ष बढ्दै गएको छ। यसले चरिचरनको चापलाई केही घटाएको छ।

‘पहिले त शुल्क लाग्दैनथ्यो। अहिले हामी निश्चित शुल्क लिएर चराउन दिन्छौँ वर्षमा तीन महिना चराउन पाउँछन्। यस्तै नियम बनाएको छ, खप्तड राष्ट्रिय निकुञ्ज सिनियर गेमस्टार देवकोटाले भने।

खप्तड राष्ट्रिय निकुञ्जको जैविक विविधताको संरक्षणको जिम्मेवारी निकुञ्ज र मध्यवर्ती क्षेत्रको बराबर हुन्छ। यसका लागि निकुञ्ज र मध्यवर्ती क्षेत्र बीच सकारात्मक समन्वयको जरुरी हुन्छ। यसो हुन सकेन भने निकुञ्जको जैविक विविधता सङ्कटमा पर्ने देखिन्छ। मध्यवर्ति क्षेत्र व्यवस्थापन परिषद्का सदस्य हिरेन्द्रबहादुर राउत चरिचरण अहिले नै रोक्न नसकिने बताउँछन्, ‘अहिले नै रोक्न त सकिँदैन। कम गर्नका लागि गोठ वालालाई मात्रै सिफारिस दिने गरिएको छ। अहिले चाप कम हुँदै गएको छ,’उनले भने।

‘मध्यवर्ती क्षेत्र, निकुञ्ज र समुदायबीचको पुलको काम गर्न सकोस् भन्ने अवधारणाबाट बनेको हो। मध्यवर्तीको विकासका लागि निकुञ्जले आफ्नो आयको ३० देखि ५० प्रतिशत समुदायलाई दिनु पर्ने कानूनी व्यवस्था छ। खप्तड सबै भन्दा न्यून आय भएको निकुञ्ज हो। अहिले यो निकुञ्जले समुदायलाई फाइदा पुग्ने गरी आर्थिक सहयोग गर्न सकेको छैन,’ राउतले भने।

‘हामीले खास कार्यक्रम सञ्चालन गर्न सकेका छैनौँ। हामीसँग बजेटको अभाव छ। यहाँको आय न्यून छ। यस कारण हामीले ठूला कार्यक्रम सञ्चालन गर्न सकेको छैन,’ सिनियर गेमस्टार देवकोटाले भने।

मध्यवर्ती क्षेत्र व्यवस्थापन परिषद् पनि निकुञ्ज क्षेत्रमा चरिचरन बन्द गर्ने पक्षमा छ। तर, यो काम एकै पटक गर्न सकिँदैन। यसका लागि जनचेतनाको आवश्यक हुन्छ।

‘हामीले अलिकति जनचेतना जगाउन सके गर्न सकिन्थ्यो। यसका लागि हामीलाई पैसाको जरुरी हुन्छ। त्यसैले अलिक समस्या भएको छ,’ मध्यवर्ती क्षेत्र व्यवस्थापन क्षेत्रका सदस्य रावतले भने।

पहिलेदेखि चरिचरन गरेको स्थानमा तुरुन्तै बन्द गराउने कुरामा स्थानीय त्यति सहमत छैनन्। निकुञ्जमा वस्तु छाडेपछि ढुक्कसँग अन्य काम गर्न पाइने उनीहरूको अनुभव छ।

‘पछाडि जानु पर्दैन। सजिलो हुन्छ खुल्ला छाड्दा। घरमा खेतीपातीको काम गर्न सजिलो हुन्छ,’ खप्तड छान्ना गाउँपालिकाकी स्थानीय कुशलादेवी रावतले भनिन्। निकुञ्जमा गोठालो जान नपर्ने अर्की स्थानीय सुशिला रावत बताउँछिन्।
‘माथि गोठालो लाग्नु पर्दैन। अनि यता काम गर्न सजिलो हुन्छ,’उनले भनिन्।

‘हामी चरिचरन कम गर्छौ। पर्यटन भित्राउने केही योजनाहरू छन्। पर्यटक आए केही आम्दानी हुन सक्यो भने मध्यवर्तीमा भएका गरिब विपन्नको जीवन स्तर उकास्ने काम गर्ने योजना छ,’ सिनियर गेमस्टार देवकोटाले भने।

खप्तड जैविक विविधताका दृष्टिले महत्त्वपूर्ण स्थान हो। यस क्षेत्रलाई जडीबुटीको अध्याधिक स्रोत भएको स्थान मानिन्छ। तर, यहाँ कस्ता जडीबुटी पाइन्छ भन्ने अध्ययन हुन सकेको छैन। यहाँ ३ सय ४६ प्रकारका फूल फुल्ने र ७ प्रकारका फूल नफुल्ने वनस्पति पाइन्छन्। २ सय ८७ प्रकारका चरा, २३ प्रजातिका स्तनधारी, १७ प्रकारका घस्रने र ६ प्रकारका भ्यागुतो प्रजातिका जीव यो निकुञ्जमा पाइन्छन्।

यहाँको औसत तापक्रम अधिकतम २५ डिग्री सेल्सियस र न्यूनतम माइनस १४ दशमलव २ डिग्री सेल्सियससम्म हुन्छ। खप्तडका पाटनमा बाह्रै महिना फूल फुल्छन्। अहिले यहाँ सेतो, बैजनी र पहेँलो रंगका फूल फुलेका छन्। खप्तड दह यहाँको अर्को आकर्षण हो। यो दहमा केही जलचर पाइए पनि माछा भने पाइँदैन।

Facebook Comments