बैजनाथमा घाइते वन्यजन्तुको उपचारका लागि उद्धार केन्द्र स्थापना

महेन्द्रनगर – बैजनाथ सामुदायिक वनले घाइते वन्यजन्तुको उपचारका लागि घाइते वन्यजन्तु उद्धार तथा उपचार केन्द्र स्थापना गरेकोे छ । शुक्लाफाँटा–८ चुरे फेदीसम्म २ सय ८८ हेक्टर क्षेत्रफलमा फैलिएको बैजनाथ वनले घाइते वन्यजन्तुको उद्धार गरी उपचार गर्ने उद्देश्यले उक्त केन्द्रको स्थापना गरेको हो।

सामुदायिक तथा चुरे क्षेत्रमा रहेका घाइते जंगली जनावरको उपचार गर्ने उदेश्यले केन्द्र स्थापना गरिएको सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले बताए। उनका अनुसार केन्द्रमा वन्यजन्तुको उपचारका लागि तालिम प्राप्त जनशक्तिको व्यवस्था गरिने छ। ‘सामुदायिक वन क्षेत्रमा संरक्षित वन्यजन्तु घाइते भएमा तत्कालै उद्धार गरी केन्द्रमा ल्याएर प्राथमिक उपचार गर्छौ,’ उनले भने,‘राम्रो भएपछि वन क्षेत्रमा छाड्छौं।’

१ लाख ५० हजार लगानीमा केन्द्र निर्माण गरिएको अध्यक्ष महराले बताए। उनका अनुसार घाइते वन्यजन्तुलाई सुरक्षित रुपमा राख्न तथा उपचारमा सहजता प्रदान गर्न चारैतिर ‘मेसन वायर’ जडान गरिएको छ। गम्भीर रुपमा घाइते जनावरलाई केन्द्रमा राखेर दक्ष पशु चिकित्सक बोलाएर उपचार गर्ने गरेको उनको भनाइ छ । बैजनाथ सामुदायिक वन वन्यजन्तु उद्धार तथा उपचार केन्द्र स्थापना गर्ने जिल्लामै पहिलो सामुदायिक वन हो। सामुदायिक वनले चालु आर्थिक वर्षमा घाइते वन्यजन्तुको उपचारका लागि एक भेटनरी जेटिए समेत राख्ने योजना बनाएको छ। सामुदायिक वनका उपभोक्ता तथा पदाधिकारीले वन वातावरण विपद् व्यवस्थापन र वन्यजन्तु सुरक्षाका सक्रीय रुपमा कार्य गर्दै आएका छन् । विसं २०५८ मा स्थापना भएको सामुदायिक वनमा ५४० उपभोक्ता रहेका छन्।

अपांगता भएका व्यक्तिलाई भक्ता
बैजनाथ सामुदायिक वनले अपांगता भएका १६ जनालाई समाजिक सुरक्षा भत्ता दिएको छ। सामुदायिक वनले राहत कोषबाट प्रत्येक व्यक्तिलाई महिनाको ३ सय रूपैयाँका दरले एक मुष्ट वार्षिक भत्ता दिएको हो। सामुदायिक वनको काठ, दाउरा र घाँस बिक्रीबाट आएको रकमबाट अपांगता भएका व्यक्तिलाई भत्ता वितरण गरिएको सामुदायिक वनका अध्यक्ष महराले बताए।

उनका अनुसार आव २०७५/०७६ मा ५७ हजार ६ सय रुपैयाँ भत्ता वितरण गरिएको छ । सामुदायिक वनले बौद्धिक, शारीरिक, मानसिक अपाङ्गता भएका र न्यून दृष्टियुक्तलाई ३ सय रूपैयाँ प्रतिमहिनाका दरले भत्ता दिँदै आएको छ । भत्ता दिनका लागि सामुदायिक वनले आव २०७३/०७४ राहत कोष स्थापना गरेको थियो । काठ, दाउरा, घाँस उपभोक्तालाई बिक्री गरी आउने रकममध्ये ५ प्रतिशत रकम राहत कोषमा राख्ने व्यवस्था गरिएको छ। सामुदायिक वन संरक्षणका दृष्टिकोणले यस क्षेत्रमा अग्रणी रहेको छ। सामुदायिक वनको सेवा क्षेत्रमा रहेका विद्यालयलाई शैक्षिक सामग्री तथा उत्कृष्ट विद्यार्थी छात्रवृत्ति रकम उपलब्ध गराउनुका साथै निःशुल्क रुपमा काठसमेत उपलब्ध गराउँदै आएको छ।

सौर्यपम्प जडान
बैजनाथ सामुदायिक वनले जंगली जनावरलाई पानी खुवानका लागि सौर्यपम्प जडान गरेको छ। आर्थिक वर्ष २०७५/०७६ मा ३ लाख ३० हजार लगानीमा सौर्यपम्प जडान गरिएकोे हो। सामुदायिक वनमा २ वर्षअघि जंगली जनावरलाई पानी खुवाउन बनाइएको कृत्रिम पोखरीमा २ हजार वाट क्षमताको सौर्यपम्प जडान गरिएको सामुदायिक वनका अध्यक्ष महराले बताए।

सामुदायिक वन तथा चुरे क्षेत्रमा रहेका चितुवा, पाटेबाघ, निलगाई, खरायो, स्याल, बाँदर, बँदेल र चराचुरुङ्गीलाई पानी खान सहज होस् भनेर सौर्यपम्प जडान गरिएको उनको भनाई छ। ‘यो सामुदायिक वन चुरे क्षेत्रमा पर्छ, यहाँ गर्मीको समयमा पानीको अभाव हुन्छ,’ उनले भने, ‘सौर्यपम्पबाट १० बिघा क्षेत्रफलमा खनिएको कृत्रिम पोखरीमा पानी भरेर जलाशय जस्तै बनाएका छौं।’ पोखरीमा विपन्न समुदायका व्यक्तिलाई आयआर्जनका लागि माछापालन गर्ने योजना रहेको सामुदायिक वनका अध्यक्ष महराले बताए । ‘यहाँका विपन्न परिवारको आयआर्जनका लागि माछापालन गर्छौ, पोखरीमा माछापालन गरेर वार्षिक २० लाख भन्दा बढी आम्दानी लिन सकिन्छ,’ उनले भने, ‘यो आर्थिक वर्षदेखि माछापालन सुरु गर्ने योजना बनाएका छौं ।’ अहिले पोखरीमा १ हजार ८ सय माछाका भुरा राखिएको छ।

Facebook Comments