पलाञ्चाेकबाट मनाेरम दृष्य नियाल्दा (फोटो फिचर)

काठमाडौँ – हिन्दुहरूको प्रशिद्ध धार्मिक स्थल पलाञ्चोक भगवतीको चर्चा नेपालमा मात्र होइन भारत लगायत अन्य विभिन्न मुलुकमा पनि त्यतिकै हुने गर्दछ।

देशको राजधानी काठमाडौँबाट ५२ किलोमिटरको दूरीमा रहेको पलाञ्चोक भगवती हिन्दुहरूका लागि जति महत्त्वपूर्ण छ त्यति नै प्राकृतिक सुन्दरताले पनि भरिपूर्ण छ । त्यहाँबाट देखिने हिमश्रृंखला र फाँटहरू अत्यन्तै मनमोहक छन्।

काभ्रेको पाँचखाल नगरपालिकामा पर्ने पलाञ्चोक भगवतीको दर्शन गरे मनोकामना पूर्ण हुने किंवदन्ती रहेको छ। त्यहाँबाट देखिने फाँट तथा हिमश्रृंखलाले जो कोहीलाई मोहित पार्छ।
त्यहाँ पुग्ने जो कोहीले पनि प्रकृतिको मनोरम दृष्यको अवलोकन गर्न सक्छ। त्यहाँबाट देखिने चारैतिरका पहाड अनि पहाडको फेदीमा रहेको समथर भूभागले सबैलाई मोहित बनाउँछ।
धार्मिक पर्यटन स्थल बन्ने सम्भावना बोकेको यो मन्दिर लिच्छवीकालिन राजा मानदेवले आफ्नी आमाको सम्झनामा निर्माण गर्न लगाएका हुन्। शिल्पकलाको दृष्टिले पलाञ्चोक भगवतिको मूर्ति अद्दितीय मानिन्छ। नक्शाल भगवती र शोभा भगवती अनि पलाञ्चोक भगवती एकै शिल्पकारले तयार गरेको किंवदन्ती रहेको छ। उक्त मूर्ति एउटै ढुङ्गाबाट बनेको छ। यसमा कुनै रसायन प्रयोग गरिएको छैन।
अठार वटा हात भएकी, विभिन्न अस्त्रशस्त्रहरूले सुसज्जित, चाँदीका गरगहना र मुण्डमाला पहिराइएकी पलान्चोक भगवतीको ठूलो महिमा एवम् श्रद्धा छ । देशमा छरिएर रहेका अनेकन शक्तिस्थल मध्ये साक्षात देवीको रुपमा पुजिने यहाँ निश्वार्थ मनले पूजा तथा आरधना गर्दा मनोकामना पुरा हुने देवीको रुपमा पलान्चोक भगवतीलाई मान्ने गरिन्छ। भगवतीको पाउले दायाँ र बायाँ चण्ड एवम् मुण्ड र बीचमा महिषासुर दैत्यको ढाडलाई कुल्चिएको भगवतीको आकर्षक मूर्ति पश्चिमाभिमुख छ।

Facebook Comments