यी साना विषय त समाधान गरौँ न मेयरज्यू

सम्पादकीय

काठमाडौँ – सडकको छेउछाउमा फोहाेर र प्लास्टिक टन्नै देखिन्छ। बिहानै उठाउनुपर्ने फोहाेर मध्यदिनमा पनि उठेको हुँदैन । मध्यदिनमा बाटोमा फोहर बोकेका गाडीहरू दुर्गन्ध फैलाउँदै कुदिरहेका देखिन्छन्। बाटोको दुवैतिर माटो थुप्रिएको छ, पानी परेर घाम लाग्ने बित्तिकै धुलो उड्न थाल्छ। तर सम्बन्धित निकायले यसमा कुनै पनि ध्यान दिएको देखिँदैन । यी काठमाडौँमा देखिने केही प्रतिनिधि घट्ना मात्र हुन्।

काठमाडौँका महानगरपालिका र उपत्यकाका अन्य नगरपालिकाले यस्ता सामान्य विषयको समेत समाधान गर्न सकेको देखिँदैन। स्थानीय तह स्थानीय सरकारमा रूपान्तरण भएको झण्डै ३ वर्ष भइसकेको छ तर ससाना र सामान्य विषयहरूमा समेत खासै परिवर्तन आएको आभास जनताले गरेका छैनन्।

उदाहरणका लागि चावहिल–बौद्ध सडकको नै कुरा गरौँ। राज्यले चाहने हो भने केही महिनाभित्रै बाटो पिच र अन्य काम सम्पन्न हुनसक्छ तर वषौँसम्म पनि अवस्था उस्तै छ। कतिपय ठाउँमा कुनै प्रयोजनका लागि बाटो खनिन्छ। खनेको ठाउँ हिलो र धुलोमा परिणत हुन्छ तर सम्बन्धित निकाय बेखबर छ अथवा उसले त्यसलाई कुनै समस्या नै ठान्दैन्। जसले गर्दा एउटा सानो प्रयोजनका लागि खनिएको खाडल लामो समयसम्म पनि धुलो र हिलोको कारण बनिरहेको छ।

फोहर व्यवस्थापनमा उस्तै समस्या छ। विगतमा जस्तो लामो समयसम्म सडकमा फोहर थुप्रिने क्रममा केही कमी आएको छ तर अझै पनि विभिन्न स्थानमा बिहान मात्र होइन, बेलुका पनि फोहोर थुप्रिएको देखिन्छ। घर र कार्यालयबाट निस्किने फोहर मात्र होइन, सडक किनारामा प्लास्टिक लगायतका अन्य सामग्रीहरू थुप्रिएका देखिन्छन् जसले वातावरण प्रदूषित गर्नुका साथै सहरको सौन्दर्यतालाई नै कुरुप बनाएको छ। तर, लामो समयदेखि त्यो फोहर उठेको देखिँदैन। यति मात्र कहाँ हो र!  ससाना गल्लीहरूमा सवारी साधनको चापले आवागमनमा समेत अवरोध भइरहेको छ।

यसका लागि अतिरिक्त स्रोत र साधनको आवश्यकता पर्दैन। समस्या समाधानका लागि स्थानीय सरकारसँग कर्मचारी छन् तर ती कर्मचारीलाई परिचालन गर्न सकेको छैनौं। आखिर किन ? हामीले आफूसँगै भएका स्रोत र साधनको परिचालन र अनुगमन गर्न सकेका छैनौँ। यो कुशासन हो। अर्काे विषय, काठमाडौँका प्रायः सडक बिग्रिएका र भत्किएका छन् तर हामी त्यसलाई मर्मत गर्दैनौैँ। थोरै स्रोत र साधनले पनि यी सडकको मर्मत गर्न सकिन्छ तर हामीले त्यसो गर्न सकिरहेका छैनौँ ।

स्थानीय सरकारको गठन भइसकेपछि आफ्नो क्षेत्रमा भएका यस्ता समस्या समाधान गर्नु स्थानीय सरकारको दायित्व हो तर उनीहरूले आफ्नो दायित्वबोध गरेका छैनन्। अर्काे विषय पनि छ। उदाहरणको लागि मुख्य सडकको भित्री खण्डमा सडकहरू बनेका छन् । ती सडक पिच पनि गरिएका छन् तर सर्वसाधारणले सडकलाई नै पार्किङ बनाएका छन्। जताततै गाडी पार्किङ गरिएकाले भित्री भागमा जाम भइरहेको छ तर त्यसलाई सम्बोधन गर्नेतर्फ कसैको पनि ध्यान पुगेको छैन।

यस्ता साना विषयहरूको लिष्ट लामै छ। ठूलो स्रोत र साधनको आवश्यकता नपर्ने, भइरहेका स्रोत साधनबाट समाधान गर्न सकिने विषयहरू पनि समाधान भएका छैनन्। यसको स्पष्ट अर्थ हो, हाम्रो स्थानीय निकायले आफ्नो क्षेत्रमा के के भइरहेको छ ? के कस्ता समस्या छन् ? भन्ने बारेमा सामान्य अनुगमनसमेत गर्दैन। आफूसँग भएका स्रोत र साधनलाई कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा खासै अध्ययन भएको पनि देखिँदैन।

यसको अर्थ हाम्रो संयन्त्र र कार्यशैलीमा खासै सुधार आएको छैन। वास्तवमा हाम्रा जनप्रतिनीहरूले केही घन्टा मात्रै भए पनि आफ्नो क्षेत्रको भ्रमण गरे सबै विषय थाहा हुने थियो। यसले अर्काे के पनि सङ्केत गर्छ भने स्थानीय सरकारको कार्यशैली अझै पनि केन्द्रिकृत नै छ । त्यसैले आफ्नो क्षेत्रमा के भइरहेको छ ? भन्ने विषयमा उनीहरू खासै जानकारी राख्दैनन् । नत्र धरापको रूपमा रहेका खाल्डाहरू र अन्य समस्याका बारेमा त थाहा हुनुपर्ने हो नि तर त्यो देखिँदैन । विभिन्न संरचनाहरुको निर्माणको लागि बाटोमा नै वालुवा थुपारिएको देखिन्छ तर त्यो घर बनाउने मान्छेलाई वालुवालाई कम्तीमा छोप्न समेत हामी आग्रह गदैनौ, त्यही वालुवाले प्रदूषण बढाइरहेको छ। कम्तीका हामीले वालुवा व्यवस्थापन त गर्न सक्छौ तर त्यो भइरहेको छैन् ।

झण्डै दुई दशकको रिक्ततापछि तीन स्थानीय तहको निर्वाचन हुँदा धेरैको अपेक्षा थियो, यी समस्याहरू समाधान हुनेछन्। धेरैको बुझाई थियो, राजनीतिक नेतृत्व नभएका कारण तत्कालीन स्थानीय निकायले प्रभावकारी रूपमा काम गर्न सकेन भन्ने। हामीले कर्मचारीतन्त्रलाई दोष दियौँ यी सारा वेथितिका लागि।

नयाँ संविधान निर्माण भएपछि स्थानीय तह स्थानीय सरकारमा परिणत भए तर खासै परिवर्तनको अनुभूति जनताले गर्न पाएनन्। मेयरहरू यतिबेला ठूला ठूला महत्वकांक्षी परियोजनाहरूका बारेमा दिनहुँ छलफल गर्ने, प्रचाबाजी गर्ने काममा लागेका छन् तर जनताले महशुस गर्ने खालका काममा चाहिँ पटक्कै ध्यान दिएको देखिँदैन। त्यसैले मेयरसाबहरूले  जनतासँग प्रत्यक्ष सरोकार जोडिएको र उनीहरूले अहिले भोगिरहेका समस्याहरू समाधानमा ध्यान दिनु आवश्यक छ।

Facebook Comments