प्रकृतिको अनुपम देन सुन्दरीजललाई नियाल्दा (फाेटाे फिचर)

काठमाडौँ – काठमाडौँबाट झण्डै नौ किलोमिटर उत्तरतर्फ लागेपछि भेटिन्छ झरनासहितको रमणीय ठाउँ सुन्दरीजल। सुन्दरीजललाई शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको प्रवेशद्धारको रुपमा पनि मानिन्छ।

यसको उत्तरी सीमानातर्फ शिवपुरी राष्ट्रिय निकुञ्ज, नुवाकोट र सिन्धुपाल्चोक जिल्ला समेत छोएको छ। काठमाडौँ उपत्यकामा खपत हुँदै आएको पिउने पानीको प्रमुख जलाधार क्षेत्र हो सुन्दरीजल। पर्यटन व्यवसायलाई सुन्दरीजलबासीले प्रमुख व्यवसायको रुपमा लिँदै आएका छन्। विभिन्न प्राकृतिक हराभराको संगमस्थलका साथै सबै धर्म र जातीको परम्परागत कला तथा संस्कृति पर्यटक भित्राउने प्रमुख आर्कषणको पक्ष रहीआएको छ।

विशेष गरी सुन्दरीजल र शिवपुरी निकुञ्ज क्षेत्रमा रहेको नदी, नाला, ठूला चट्टान र त्यस चट्टान हुँदै बग्ने छहरा तथा झरनाहरू स्वदेशी तथा विदेशी पर्यटकका लागि मुख्य आकर्षणको केन्द्र हो । सुन्दरीजलमा विशेषगरी खोटे र रानी सल्लो, चिलाउने, उत्तिस, काफल आदि लगायतका १२५० प्रजातिका वनस्पति पाइन्छ। जसमध्मे ५० प्रजातिका रैथाने वनस्पति छन्।

यसै गरी वनक्षेत्रमा १२९ प्रजातिका ढुसी च्याउ पनि पाइन्छ । यस क्षेत्रमा ध्वाँसे चितुवा, चरीबाघ, आसामी बाँदर, सालक, मृग, बदेल जस्ता वन्यजन्तुको समेत बसोवास गर्छन् । यहाँ करिब २५० प्रजातिका चराचुरुङ्गी पाइन्छ । जसमध्ये १७७ प्रजातिका बसाई सराई गर्ने पंक्षी यहाँ बस्ने गर्छन्। त्यसैगरी यहाँ करिब १०२ प्रजातिका पुतलीपतङ्गहरू पनि पाइन्छ।

Facebook Comments