पहाडमा उक्लियो डेंगु, कारण जलवायु परिवर्तन हाे त ?

काठमाडौँ – केही वर्ष अगाडिसम्म तराई–मधेशका केही जिल्लामा मात्र फैलने डेंगुको संक्रमण पछिल्लो समय काठमाडौँ उपत्यका र पहाडी जिल्लाहरूमा समेत विस्तार भएपछि डेंगु एक प्रमुख स्वास्थ्य चुनौतीको रुपमा खडा भएको छ।

अहिलेसम्म यो विषयलाई सरकारी निकायले खासै ठूलो समस्याको रुपमा लिएका थिएनन् । तर, दिन प्रतिदिन यसका बिरामीहरु बढ्न थालेपछि, कतै नियन्त्रण बाहिर जाने त होइन भन्ने चिन्ता उत्पन्न भएको छ।

बल्ल सरकारी निकायहरूको बीचमा यसलाई कसरी नियन्त्रण गर्ने भन्ने सम्बन्धमा छलफल हुन थालेको छ। अघिल्ला वर्षहरूबाट पाठ सिकेर यस अगाडि नै जनचेतनामूलक र रोककथामका उपायहरुबारे समयमा गम्भीर पहल नभएको आवाज सर्वत्र उठिरहेको छ।

सरकारको पछिल्लो तथ्यांक अनुसार डेंगुबाट देशभर १५सय भन्दा बढी संक्रमित भएका छन् र यो संख्या निरन्तर रुपमा बढ्दो छ । विशेषत जुलाई देखि अक्टोबर–डिसेम्बर महिनासम्म यसको प्रकोप देखिने भएकाले समयमा नै कदम नचाले भयावह स्थिति उत्पन्न हुने देखिन्छ।

डेंगुको बिरामीहरु बढेको तर रोककथामका लागि कुनै पहल नभएको आवाज सर्वत्र उठेपछि स्वास्थ्य मन्त्रालयले बिहीबार डेंगु रोग नियन्त्रण सम्बन्धि अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो। अन्तरक्रिया कार्यक्रम उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले डेंगु नियन्त्रणका लागि सबैलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आव्हान गरेका छन्। डेंगुको लागि सबैको सहभागितामा अभियान नै चलाउनु पर्ने भन्दै आवश्यकता अनुसार पुलिस र सेनालाई परिचालन गरि डेंगुलाई परास्त गर्ने बताए।

पछिल्लाे जानकारी अनुसार कर्णाली प्रदेश बाहेक अन्य ६ प्रदेशका ४२ भन्दा बढी जिल्लामा डेंगुकाे संक्रमण देखिएकाे छ। स्वास्थ्य मन्त्रालयले देशका विभिन्न ४२ जिल्लामा अहिलेसम्म एक हजार ५३७ जना डेंगुका बिरामी फेला परेको जनाएको छ।

विशेषत डेंगु जलवायु परिवर्तन, बढ्दो शहरीकरण र अन्तर्राष्ट्रिय स्तरमा बढ्दो आवात जावतले यसको प्रकोप फैलिएको विभिन्न अध्ययनहरूले देखाएका छन् । त्यसैगरी गत ५० वर्षमा पानी पर्ने क्रममा आएको विविधता, सापेक्षित आद्रता, बढ्दो जनसंख्या र रोगहरू सार्ने किरा र पशुपंक्षीका कारण डेंगुको संक्रमण फैलिएको छ।

तराई क्षेत्रमा बढी देखिने डेंगु पहाडी भूभागमा पनि फैलिन थालेपछि जलवायु परिवर्तनको कारण हो कि भन्ने एकथरीको बुझाइ छ । तर यस सम्बन्धमा नेपालमा अहिलेसम्म कुनै विस्तृत अध्ययन भने भएको छैन्। अन्य देशको अवस्थालाई अध्ययन गर्दा जलवायु परिवर्तन एक कारण मानिए पनि वैज्ञानिक अध्ययन बिना यसै भन्न नसकिने विज्ञहरूको भनाइ छ।

नेपालमा जलवायु परिवर्तनले स्वास्थ्यमा पार्ने असरका विषयमा अध्ययनहरू नभएकाले पछिल्लो समयमा काठमाडौँ लगायत अन्य पहाडी जिल्लामा फैलिएको डेङ्गुको संक्रमणलाई जलवायु परिवर्तनको असर भन्ने अवस्था नरहेको जलवायु परिवर्तनको विषयमा जानकार मञ्जित ढकाल बताउँछन्।

‘जलवायु परिवर्तनको असर नै हो भन्नको लागि ३० वर्षको ट्रेण्ड हुनुपर्ने हुन्छ र त्यस्तो अध्ययन हाम्रोमा भएको छैन,’ उनले भने।

अन्तर्राष्ट्रिय स्तरमा भएको जलवायु परिवर्तनका अध्ययनहरूको आधारमा डेंगुलाई सम्बधित गर्न भने सकिने उनको भनाइ छ । उनी भन्छन्, ‘जलवायु परिर्वतनले रोगहरूलाई बढुवा चाँहि दिन्छ।’

नेपालमा मात्र होइन विश्वका अन्य भागमा समेत पछिल्लो दशकमा यसको प्रकोप बढ्न थालेको छ। छिमेकी मुलुक भारतमा हरेक वर्ष डेंगुको प्रकोप देखिने गरेको छ। राजधानी नयाँ दिल्लीमा डेंगु फैलाउने लामखुट्टे मार्नको लागि अभियान नै चलाउने गरिन्छ। भारतमा सन् २०१६ मा डेंगुको महामारी फैलिएको थियो। त्यसवर्ष भारतवर्ष १ लाख ३० हजार व्यक्तिमा संक्रमण देखिएको थियो जसमध्ये २५० जनाको मृत्यु भएको थियो।

विशेषत तापमान वृद्धिका कारण तराईका जिल्लामा मात्र रहेको डेंगु फैलाउने लामखुट्टे विस्तारै पहाडी र उपत्यकाका जिल्लाहरूमा फैलिएको छ । केही वर्ष अगाडिको तुलनामा काठमाडौँ र पहाडी जिल्लाहरूको तापक्रममा समेत केही वृद्धि भएको छ।

यो वर्ष पहिलोपटक असार महिनामा धरानमा डेंगुको पहिलो संक्रमण देखिएको थियो जुन अहिले कर्णाली प्रदेश बाहेक अन्य सबै प्रदेशमा फैलिसकेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगुको सबैभन्दा बढी संक्रमण प्रदेश नं १ मा देखिएको छ। प्रदेश नं १ का १८ मध्ये ९ जिल्लामा डेंगुको संक्रमण फैलिएको छ। सुनसरी र झापा जिल्लामा सबैभन्दा बढी संक्रमित देखिएका छन्।

प्रदेश नं ३ को चितवनमा बढी संक्रमण देखिएको छ। त्यसैगरी काभ्रे, सिन्धुली लगायतका पहाडी जिल्लामा समेत संक्रमण भेटिएको छ। उपत्यकाका भक्तपुर र ललितपुरमा केही संक्रमित भेटिएका छन् र यी जिल्ला बढी जोखिममा रहेको सरकारी अधिकारीहरूको भनाइ छ। प्रदेश नं २ का प्राय सबै जिल्लामा डेंगुको प्रकोप फैलिएको छ। काठमाडौँ उपत्यकामा मात्रै पाँच दर्जन भन्दा बढी डेंगुका बिरामीहरू फेला परेका छन्।

डेंगुलाई विश्वकै एउटा स्वास्थ्य चुनौतीको रुपमा लिने गरिन्छ । विशेषत अफ्रिका, अमेरिकी देशहरू, साउथ इष्ट एसियन मुलुकहरू र वेस्टर्न प्यासेफिक मुलुकहरूमा यसको बढी प्रकोप रहेको पाइन्छ।

के हो डेंगु?
डेंगु एक भाइरसद्वारा लाग्ने संक्रमण हो, जुन एडिज नामको लामखुट्टेको टोकाइबाट हुने गर्दछ। विभिन्न प्रकारका एडिजमध्ये एडिज एलवोपिक्टस र एडिज एजेप्टी मुख्य हुन्। डेंगु भाइरस चार प्रकारका हुने प्रमाणित भइसकेकोमा यी सबै नेपालमा पाइन्छन, जसलाई डेङ्गु भाइरस १,२,३,४ भनिन्छ । एडिज लामखुट्टेको शरीर र खुट्टामा सेता–काला धब्बाहरू हुन्छन्। त्यसैले गर्दा यसलाई टाइगर लामखुट्टे पनि भनिन्छ।

यो लामखुट्टेको विशेषता अरु लामखुट्टेभन्दा फरक प्रकृतिको छ। यसले दिउँसो टोक्दछ भने सफा र स्थिर पानीमा यसले अण्डा पार्ने गर्दछ। पोथी लामखुट्टेले आफ्नो अण्डाको विकासका लागि रगत चुस्ने गर्दछ। आफ्नो १४ देखि २१ दिनको जीवनचक्रमा यसले करिब ३ सयवटा अण्डा पार्दछ।

डेगुको शुरुवात
सन् १९५३ र १९५४ को बीचमा फिलिपिन्समा पहिलो पटक डेंगु देखिएको थियो भने १९५८ मा थाइल्याडमा देखिएको थियो। सन् १९६३ मा भारतमा देखिएको थियो र त्यस पछि कम्रश अफ्रिका र उत्तर अमेरिकी देशमा एकैपटक डेङगुको पहिचान भएको थियो । भारतमा लामो समयदेखि डेङगु एक प्रकोपको रुपमा देखा परेपनि नेपालमा त्यसको प्रकोपको विषयमा कुनै अभिलेख नै थिएन्।

सर्वप्रथम सन् २००४ मा यस रोगका कारण मानिसको मृत्यु भएको पहिचान भएको थियो । त्यसपछि सन् २००६ मा तराईका केही आधा दर्जन जिल्लामा यो रोग महामारीको रुपमा देखा परेको थियो।

खुला सीमानाका कारण यो भाइरस भारतबाट नेपाल सरेको विभिन्न अध्ययनले देखाएका छन्। सन् २०१० सम्म आइपुग्दा समेत यो एउटा महामारीको रुपमा नै देखाप¥यो । सन् २०१० मा रुपन्देही र चितवन लगायतका दुई दर्जनभन्दा बढी जिल्लामा यो महामारीको रुपमा नै फैलिएको थियो। काठमाडौँ उपत्यमा पहिलोपटक सन् २०१० मा डेंगु देखिएको थियो। संसाभरको पछिल्लो अवस्थालाई हेर्ने हो भने हरेक वर्ष नयाँ ठाउँमा डेंगुको लक्षण देखिने गरेको छ।

ज्वरोलाई सबैले सामान्य रुपमा लिने भएकाले रुघाखोकी होला भनेर मानिसले खासै वास्ता गदैनन् जसले गर्दा परिस्थिति जटिल बनाउँछ । लामखुट्टेको टोकाइका कारण डेंगु रोग लाग्ने भएकाले सबैभन्दा उत्तम उपाय भनेको टोकाईबाट बच्नु नै हो। विशेषत कुनै सफा भाँडोमा लामो समयसम्म पानी राख्दा त्यसबाट डेंगुको संक्रमण गर्ने लामखुट्टे सर्नसक्छ। त्यसैले रोकथामको सबैभन्दा उत्तम बाटो भनेको नै जनचेतना फैलाउनु हो। डेंगु सरुवा रोग भने होइन्, यो एक व्यक्तिबाट अर्काे व्यक्तिमा सदैन् ।

काे उच्च जोखिममा ?
एक वर्षभन्दा मुनिका बच्चाहरू र ६० वर्षमाथिका वृद्धवृद्धाहरू, मोटोपन भएका व्यक्तिहरू, गर्भवती महिला, पेप्टिक अल्सर भएकाहरू, रगत नजम्ने रोग भएका जस्तोः थ्यालेसेमिया, जन्मजात मुटुका रोगीहरू, मधुमेह, उच्च रक्तचाप, कलेजोको सिरोसिस, मृगौला फेलियर भएका दीर्घ रोगीहरू, स्टेरोइड, पेनकिलर आदि प्रयोग गरिरहेकाहरू उच्च जोखिममा पर्दछन्।

लक्षणहरू
दुईदेखि सात दिनसम्म उच्च ज्वरो आउने
निरन्तर टाउको दुख्ने
निरन्तर वान्ता हुने
मांसपेशी र हाडका जोर्नीहरू दुख्ने
छाला रातो हुने र बिबिराहरू देखा पर्ने
कलेजोको आकार बढ्ने
अल्छी लाग्ने
आँखको भित्री भागमा दुखाई
पेट गडबढी
कान र नाकबाट रगत समेत आउन सक्छ

कसरी बच्ने ?
हात र खुट्टा पुरै ढाक्ने खालको कपडा लगाउने
लामखुट्टे मार्ने स्प्रे र धुपहरूको प्रयोग गर्ने
भाँडामा सफा पानी लामो समयम्म जम्मा नगर्ने
आफ्नो घर वरपरको वातावरणलाई सकेसम्म सुख्खा राख्ने
डेंगुको संक्रमण हुने बित्तिकै अस्पतालमा भर्ना नै हुनुपर्छ भन्ने छैन। तर, डाक्टरको निगरानीमा बस्ने आराम गर्ने र पर्याप्त मात्रामा झोल पदार्थहरू खाने गर्नुपर्छ

Facebook Comments