वातावरण पनि जोगाऔँ विमानस्थल पनि बनाऔँ

काठमाडौं – पर्यटन विकासका लागि पूर्वाधारको समुचित व्यवस्थापन अत्यावश्यक रहन्छ। २१ औ शताब्दीका शौखिन हाइइण्ड(बढी खर्च गर्ने) विगतमा झै अनेकौँ दुःख कष्ट सहेर यात्रा गर्न रुचाउँदैनन्। आजका सभ्रान्त पर्यटक छोटो समयमा धेरै पैसा खर्च गरे भए पनि आफ्नो भ्रमणलाई अवस्मिरणीय बनाउन लालायित रहन्छन्। र, त्यस्ता यात्रीहरू विमानभित्र तथा एयरपोर्टमा ‘स्टेट अफ द आर्ट’ सेवा चाहना राख्दछन्। तर, एउटा मात्र रनवे भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पर्यटकलाई आधारभूत अन्तर्राष्ट्रिय स्तरको सुविधा दिन नसकिरहेको जग जाहेर छ।

लेखक : पूर्णहरि अमात्य

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सबै सैनिकहरूले समेत प्रयोग गर्ने हुनाले अर्को अन्तर्राष्ट्रिय विमानस्थल वैकल्पिक राजधानी बाहिर निर्माण हुनुपर्छ भन्ने चर्चा भएको दुई दशक भन्दा बढी भइसकेको छ। तर, दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल बाराको निजगढमा बन्ने कुरा दन्त्यकथा झै लाग्न थालेको छ। हालसम्म यहाँ एयरपोर्ट बन्ने स्थालको डिर्माकेशन(चार किल्ला) गरी साइनबोर्ड झुण्डाइएको छ। निजगढ विमानस्थल निर्माणका लागि ८ हजार हेक्टर जग्गा(झण्डै बाह्र हजार विघा) चाहिने र निर्माणका लागि १.२१ अर्ब अमेरिकी डलर खर्च लाग्ने नेपाल हवाई प्राधिकरणले जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चारैतिर डाँडा भएकोले उडन र अवतरण गर्न जोखिमयुक्त रहेको हवाई विज्ञहरूको कथन छ । तर, त्यसमा पनि हिउँदमा बाक्लो हुस्सु लाग्नाले उडान र अवतरण गर्न नसक्नाले कयौँ उडानहरू रद्द हुनुका साथै विमानहरू मौसमको प्रतिकुलताले बाध्य भइ छिमेकी मुलुकका एयरपोर्टमा अवतरण गर्न बाध्य हुन्छन् । अतः नेपालमा आउने पर्यटकको आवागमनलाई सहज बनाउन दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढ जति सक्यो छिटो बनाउनु अपरिहार्य छ। अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि केही पूर्वशर्तहरू पनि आवश्यक हुन्छन्। जस्तै त्यस वरपर बाक्लो बस्ती, पर्यटकीय गन्तव्यहरू, सडक सञ्जाल तथा औद्योगिक, व्यापारिक केन्द्रहरू।

निजगढबाट विरगञ्ज नेपालको आयात निर्यातको प्रमुख नाका तथा आर्थिक राजधानी मात्र ५० किलोमिटर पर, हेटौँडा औद्योगिक क्षेत्र २४ किलोमिटर र हिन्दुहरूको आस्थाको केन्द्र जनकपुरधाम १३० किलोमिटरको दूरीमा मात्र छन्। निजगढबाट केही किलोमिटर पर मात्र ऐतिहासिक धरोहरस्थलहरू सिम्रोनगढ, गढीमाई, विन्धवासिनाी(पर्सा) र मूटनदेवी(हेटौँडा)छन्। पूर्व पश्चिम राजमार्ग निजगढ भएर जाने हुनेले मुलुक भरिकै सडक सञ्जालसँग आवद्ध छ। झन राजधानीबाट फास्ट ट्र्याक(द्रुतमार्ग) ७२.५ किलोमिटरको निर्माणले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणले त्यस क्षेत्रको मात्र नभइ मुलुककै आर्थिक तथा सामाजिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने निश्चित छ। उक्त फास्ट ट्र्याक निर्माणमा संलग्न नेपाली सेनाका अनुसार निजगढबाट काठमाडौँ ६२ मिनेटमै पुगिनेछ।

हालसम्म २६ वटा विदेशी विमान कम्पनीहरूले नेपालमा उडान गरिरहेका छन् र ३८ वटा मुलुकहरूसँग द्विपक्षीय हवाई सम्झौता भएका छन् । हामीले समयानुकुल उदार हवाई नीति बनाउने हो भने कयौँ अन्तर्राष्ट्रिय विमान कम्पनीहरू नेपालमा उडान गर्न इच्छुक रहेको सम्बद्ध सुत्रहरू बताउँछन्। केहीदिन पहिले नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराई तथा त्यस मन्त्रालयका उच्च पदस्थ अधिकारीहरू तथा पर्यटन व्यवसायीहरूको उपस्थितिमा पर्यटन सम्बन्धी अन्तक्र्रिर्या कार्यक्रममा हिमालय एयरलाइन्सका भाइस प्रेसिडेण्ड विजमलाल श्रेष्ठ र टर्कीस् एयरलाइन्स(नेपाल)का व्यवस्थापकले नेपालमा हवाई इन्धन अन्य मुलुकको तुलनामा महंगो भएको गुनासो पोखेका थिए । हवाई इन्धन बाहेक नेपलमा एयरपोर्ट ह्याण्डलिङ चार्च समेत अन्य मुलुक भन्दा मंहगो रहेको पर्यटन व्यवसायीहरू बताउँछन्।

निजगढमा दोश्रो अन्तर्राष्ट्रिय विमानस्थलको चर्चा चलेदेखि हालसम्म नेपाल सरकार गम्भीर भइदिएको भए धेरै वर्ष अघि नै सञ्चालनमा आइसक्थ्यो होला। नेपाल सरकारको अनुमतिमा दक्षिण कोरियाको एउटा कम्पनीलाई विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न लगाइयो । तर, त्यो प्रतिवेदन कार्यान्वयन हुनुको साटो मन्त्रालयको दराजमा थन्किएको छ । मलेसिया, भारत, चीन, कतार, जर्मनी फ्रान्स र स्वीजरल्याण्डका कम्पनीहरू पनि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन इच्छुक छन् । तर, नेपाल सरकारको अकर्माण्यताले उक्त कार्य अघि बढ्न सकिरहेको छैन् ।

नेपाल सरकार निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल कुन मोडालिटीमा बनाउने भन्ने टुंगोमा पुग्न सकेको देखिदैन । पर्यटनमन्त्रीले निजगढमा बन्ने एयरपोर्टको शिलान्याश यसै वर्ष गर्ने घोषणा त गरे तर त्यसका लागि खोई बजेटको व्यवस्था ? अन्तर्राष्ट्रिय विमानस्थल खेलाँचीको कुरा पक्कै होइन। त्यसका लागि ठूलो धनराशीका साथै अनुभव प्राप्त प्राविधिकको आवश्यकता हुन्छ। चीनको बेइजिङ्गको अन्तर्राष्ट्रिय विमानस्थलको डिजाइन इराकी मूलका अमेरिकी आर्किटेक्चरले गरेका हुन् । भारतको बेंगलाेरको अन्तर्राष्ट्रिय विमानस्थल एउटा कन्सोटोरियम खडा गरेर निर्माण भएका हुन्, भारत सरकारले निर्माण गरेको होइन । त्यसैले अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण जस्तो जटिल प्रक्रिया सफल बनाउन हामीले कन्सोटोरियम खडा गर्नु उपयुक्त देखिन्छ । हामीले अहिले गरेको अनुभवबाट पाठ सिक्नु बेश हुनेछ ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने क्रममा त्यहाँको पर्यावरणमा नकारात्मक असर पर्ने बारे पनि खुबै चिन्ता व्यक्त गरिएका सुनिन्छ । तर, त्यसै क्षेत्रबाट खुलेआम भारततर्फ काठ तस्करी र नदीजन्य ढुंगा, गिट्टी र बालुवाको असीमित दोहनबारे खासै चर्चा हुँदैन । निश्चय पनि अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माण गर्दा त्यहाँको पर्यावरणमा असर नपर्ला भन्न सकिन्न । हाम्रो मात्रै के कुरा भारतको मुम्बइमा ‘नवि मुम्बइ’ अन्तर्राष्ट्रिय विमानस्थल बन्ने क्रममा र हाल लण्डनमा विमानस्थलको विस्तार गर्ने क्रममा पर्यावरणमा पर्ने असर बारे बहस जारी छ ।

हामीलाई दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल नभइ भएको छैन् । र पर्यावरणको सन्तुलन पनि कायम राख्नु छ । अतः सकेसम्म पर्यावरणमा नकारात्मक असर कम पर्ने गरी निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अविलम्ब निर्माण गर्न अग्रसर हुनु आजको आवश्यकता हो पूर्ण बहुमतको बलियो सरकारको डिंग हाँकेर मात्र काम चल्नेवाला छैन् अब । जनताले सर्भिस डेलिभरी गरेको हेर्न चाहन्छन् र त्यसैमा वर्तमान सरकारको भविष्य टिकेको छ।

नेपालले अन्य मुलुकसँग प्रतिस्पर्धा गर्न सक्ने भनेको एक मात्र पर्यटन उद्योग हो । किनकी सगरमाथा नेपाल बाहेक अन्य ठाउँमा छैन् । हाम्रो जस्तो भौगोलिक, जैविक विविधता, अनुपम सांस्कृतिक सौन्दर्यता र जीवन्त संस्कृति अन्यत्र छैन्। करोडौँ विदेशीहरूले हेर्ने लोन्ली प्लानेट, ट्रिप एडभाइजर, बीबीसी तथा अन्य पर्यटन सम्बद्ध संस्थाहरूले नेपालका पर्यटन र विशेषताहरूको बारेमा सकारात्मक श्रव्यदृश्य समाचार पस्किन पछि पर्दैनन् । तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दूरावस्था बारे चर्चा गर्न छाड्दैनन् पनि।

केही जंगल मासेर त्यत्रो ठूलो क्षेत्रफलमा किन विमानस्थल बनाउनु पर्यो भन्ने प्रश्न अघि सार्छन् । तर, हामीले के बुझ्नुपर्छ भने नेपाल विश्वको दुई विशाल जनसंख्या तथा उदाउँदो अर्थतन्त्रको माझमा रहेकाले नेपालले आफ्नो पर्यटकीय गन्तव्यहरूको आक्रामक बजारीकरण गर्न सकेको खण्डमा पर्यटक आगमन बढ्ने छ । भैरहवा र विरगञ्ज जस्ता सीमाकृत शहरमा आधुनिक सुविधायुक्त होटल, रिसोर्ट खुलेपछि गर्मीयाममा हनिमुनका लागि मात्र होइन वरवधु दुबै पक्ष नेपलमा आइ विवाह कार्य सम्पन्न हुन थालेका छन्। केही वर्ष पहिले एउटा विवाह समारोहमा भारतीय मुलका टाइकुन लक्ष्मीनारायण मित्तल, उत्तरप्रदेशका मुख्यमन्त्री अखिलेश यादव तथा भारतीय व्यापारीहरू आफ्ना निजी विमानमा काठमाडौँ आउँदा प्लेन पार्किङ गर्न हम्मे हम्मे परेको थियो ।

सस्तो इन्धन, ह्याण्डलिङ चार्जमा कटौति २४ सैँ घण्टा एयरपोर्ट खुला र त्यहाँ स्टेट अफ द आर्ट सुविधा उपलब्ध गराउने हो भने नेपाल हवाई उडानको हब बन्ने बलियो सम्भावना छ । रामहरि जोशी पर्यटनमन्त्री हुँदा एकैपटक  नेपाल एयर तथा एभेरष्ट एयरलाई डोमेस्टिक उडानका लागि स्वीकृति दिँदा खोइ त्यत्रो संख्यामा यात्री भनेर आलोचना गरिएको थियो । तर, आज हेरौँ त नेपालका अग्रिम शहरहरूमा हवाई यात्रा गर्न अग्रिम बुकिङ नगरे सिट पाउन मुश्किल हुन्छ। अन्तर्राष्ट्रिय एयरपोर्ट ५/१० वर्षको होइन ५० वर्षको हवाई यात्रु संख्या अनुमान गरेर निर्माण गरिनु बुद्धिमानी हुन्छ ।

लेखक नेफेजका सदस्य हुन्।

Facebook Comments