दशैँका लागि अग्रिम टिकट बुकिङ असोजको पहिलो साताबाट

काठमाडौँ– दशैँमा उपत्यकाबाट बाहिरिने यात्रुका लागि असोजको पहिलो सातादेखि बसको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ।

यातायात व्यवस्था विभागका अनुसार असोजको पहिलो साताबाट बुकिङ खोल्ने गरी व्यवसायीहरूसँग छलफल भइरहेपनि कुन दिनदेखि खुल्ने भन्ने विषय भने टुंगो लागेको छैन ।

हाकाहाकीसँग कुरा गर्दै विभागका निर्देशक बन्दु प्रसाद बास्तोलाले विभाग र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबीच उक्त विषयमा छलफल भइरहेको तर निर्णय नभएको बताए।

यस अघिका वर्षहरूमा घटस्थापना भन्दा एक साता अगाडि बुकिङ खुल्ला गरिएको भन्दै सोही अनुसारको तयारी भइरहेको उनको भनाई छ।

‘दुवै पक्ष सहमत हुने गरी छलफल हुँदैछ, हामी समयमै बुकिङ खुल्ला गराउछौँ,’ उनले भने। सबै प्रकृया मिलाएर बुकिङ खुल्ला गरिने उनी बताउँछन्।

नेपाल यातायात राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले दशैँका लागि अग्रिम बुकिङको आन्तरिक तयारी भइरहेकाले एक साता पछि अग्रिम बुकिङको मिति तय गरिने बताए।

यसवर्ष बाढी र पहिरोका कारण राजमार्गहरू भत्किएकाले नयाँ सवारी भन्दा पनि भएका गाडीहरूको व्यवस्थापनको विषयमा आन्तरिक तयारी भइरहेको उनले जनाए।

यात्रुलाई सहज रुपमा गन्तव्यमा पुर्‍याउन व्यवसायी तयार भएपनि सरकारी निकायले सडक निर्माणमा पहल नगरेको उनको दाबी छ।

‘हामी यात्रुलाई सहज रुपमा गन्तव्यमा पुर्‍याउन तयार छौँ तर सरकारले सडकको अवस्था अहिलेसम्म राम्रो बनाउन सकेको छैन,’ उनले भने।

महासंघकोे भाडा बढाउने र यातायात संघ–समितिका बैंक खाता फुकुवा गर्नु पर्ने माग यथावत रहेको उनको भनाइ छ। यातायात नीतिको विषयमा सरकार आफैँ अन्योलमा रहेको उनको धारणा छ।

यातायात व्यवस्था विभागले २०७४ चैत १८ गते यातायात व्यवस्थापन कार्यविधी निर्देशिका संशोधन गर्दै सार्वजनिक यातयातको क्षेत्रमा रहेको सिन्डिकेट खारेज गर्ने निर्णय गरेको थियो। व्यवसायीहरू कम्पनीमा जान विभागले सर्कुलर जारी गरेपछि खाताबाट ठूलो रकम निकाल्न थालेपछि २०७५ वैशाख १२ गते बैंक खाता रोक्का गरिएको थियो।

यातयात व्यवसायीहरूले सुरुदेखि नै बैंक खाता खोलिदिन माग गर्दै आएका थिए। बैंक खाता रोक्का हुँदा दुर्घटना बिमा, घाईतेको उपचार गर्न नसकिएको, कर्मचारीलाई तलव खुवाउन नसकिएको व्यवसायीहरूको भनाइ थियो।

संघ समितिहरू कम्पनीमा रुपान्तरण भएपछि यातायात व्यवसायी समितिको बैंक खातामा रहेको रकम रुपान्तरित कम्पनीमा सार्ने व्यवस्था मिलाउने सरकारले निर्णय गरेको थियो।

दशैँमा काठमाडौँबाट घर फर्किनेहरूका लागि सरकारले हरेक वर्ष अग्रिम टिकट बुकिङ खुलाउने गरेको छ। तर, यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ खुलाउनुअघि विभिन्न माग राखेर सरकारलाई दबाव दिँदै आइरहेका छन्।

गत वर्ष यातायात व्यवसायीले दशैँको अग्रिम टिकट बुकिङ खोल्ने समयमा भाडादर समायोजनलाई मुद्दा बनाएका थिए। २०६९ सालपछि वैज्ञानिक रुपमा भाडा समायोजन नभएकाले भाडा समायोजन गर्नुपर्ने व्यवसायीहरूको माग थियो।

विगतका वर्षहरूमा दशैँ लागिसकेपछि बुकिङ खोल्दा एकैपटक काउन्टरमा चाप बढ्ने र टिकट सकिएको बहाना बनाएर तेब्बरसम्म भाडा असुल्ने देखिएको थियो। तथ्यांकअनुसार हरेक वर्ष १५ देखि २० लाख मानिसहरू दशैँ मनाउन काठमाडौँबाट बाहिरिने गरेका छन् । यो वर्ष भने २० लाखभन्दा बढी मानिसहरू दशैँ मनाउन काठमाडौँबाट बाहिरिने पूर्वानुमान गरिएको छ।

Facebook Comments