सामुदायिक वनबाट लाखाैँकाे आम्दानी गर्दै उपभाेक्ता

महेन्द्रनगर – सामुदायिक वनको आम्दानीको मुख्य स्रोत काठ हो। काठ बिक्री–वितरणका लागि सामुदायिक वनका उपभोक्ता र पदाधिकारीले अनेकौँ तौरतरिका अपनाउँछन्। तर, कञ्चनपुरका अधिकांश सामुदायिक वन उपभोक्ता समितिले जडीबुटी तथा गैरकाष्ठ वन पैदावार लगाएर आम्दानी गर्दै आएका छन्।

जडीबुटी तथा गैरकाष्ठ वन पैदावारको बिक्रीबाट भएको आम्दानीले वन संरक्षण र विकासका काम भइरहेका छन्। वनको आम्दानी बढाउन जडीबुटी खेतीसँगै गैरकाष्ठ वन पैदावार लगाउने गरेको सामुदायिक वन समन्वय समिति कञ्चनपुरका अध्यक्ष शिवदत्त पन्तले बताए। उनका अनुसार कञ्चनपुरका अधिकांश सामुदायिक वनमा अम्रिसो, नेपियर, बोझो, वेत, पिपला, सतावरी, हर्रो, अमलालगायतका वन पैदावार लगाएर आम्दानी गरिन्छ।

‘पछिल्लो समय सामुदायिक वनबाट उपभोक्ताले आम्दानी गर्दै वन जोगाएका छन्। वनमा पाइने जडीबुटी र अम्रिसो बिक्री गर्छन्, त्यसैबाट आएको आम्दानीको केही प्रतिशत वन संरक्षण र विकासमा खर्च हुन्छ,’ उनले भने। सामुदायिक वनमा वन पैदावार लगाउँदा स्थानीय उपभोक्ताको आय आर्जनसमेत बढेको उनको भनाइ छ। ‘वनमा गरिएको जडीबुटी, तरकारी खेती र माछापालनले गरिब विपन्न परिवारका उपभोक्ताले रोजगारी पाएका छन्, उनिहरूको आर्यआर्जन बढेको छ,’ उनले भने, ‘पछिल्लो समय उपभोक्ताले वन संरक्षणसँगै आम्दानी बढाउनेतर्फ जोड दिएका छन्।’ केही वर्ष अगाडिसम्म सामुदायिक वन गाईवस्तु चराउन र दाउराका लागि उपयोग गरिन्थ्यो। तर, पछिल्लो समय वन उपभोक्ताको आम्दानीको स्रोत बनेको छ।

कृष्णपुर नगरपालिका–१ दोमिल्लाको ऐश्वर्य सामुदायिक वनले आम्दानी बढाउनका लागि अम्रिसो लगाएको छ। अम्रिसो बिक्रीबाट भएको आम्दानीले वनको संरक्षणसँगै विकासको काम भइरहेको ऐश्वर्य सामुदायिक वनका अध्यक्ष रामसिंह धामीले बताए। ‘केही वर्षअगाडिसम्म वनको आम्दानीको स्रोत काठ थियो, अहिले अम्रिसो खेती सुरु गरेपछि अम्रिसो मुख्य आम्दानीको स्रोत भएको छ,’ उनले भने,‘अम्रिसो र घाँस बिक्रीबाट वार्षिक २ लाख बढी आम्दानी हुन्छ।’ ऐश्वर्य सामुदायिक वनले ३ वर्षअघि ५ रुपैयाँका दरले अम्रिसोको बिरुवा किनेर ५ हेक्टरमा रोपेको थियो । पश्चिम तराई भू–परिधि कार्यक्रम (ताल) को सहयोगमा थप १० हेक्टरमा अम्रिसो बिस्तार गरिएको अध्यक्ष धामीले बताए।

‘ताल परियोजनाको सहयोगमा १० हेक्टरमा २० हजार अम्रिसो र १० हजार नेपियरका बिरुवा रोपेका छौँ,’उनले भने,‘अम्रिसो राम्रै उत्पादन हुन्छ, बजार पनि राम्रो छ।’ सामुदायिक वनले अम्रिसोबाट कुच्चो बनाएर ४० रुपैयाँमा बिक्री गर्दै आएको छ ।

पाँच वनमा अम्रिसो खेती

तराई भू–परिधि कार्यक्रम (ताल)को सहयोगमा कृष्णपुर नगरपालिकाका ५ सामुदायिक वनमा अम्रिसो रोपिएको छ। ताल परियोजनाको ३ लाख ७९ हजार ४ सय रुपैयाँको सहयोगमा कृष्णपुरको ऐश्वर्य सामुदायिक वन, जय शङ्कर सामुदायिक वन, दीपेन्द्र स्मृति सामुदायिक वन, गोलाबारी सामुदायिक वन, र नन्दीपुर ओखलफाँटा सामुदायिक वनमा अम्रिसो रोपिएको हो।

५ सामुदायिक वनमा ५४ हजार २ सय अम्रिसोका बिरुवा रोपिएको सामुदायिक वन समन्वय समितिका अध्यक्ष शिवदत्त पन्तले बताए। उनका अनुसार ऐश्वर्य सामुदायिक वनमा २० हजार, जय शङ्कर सामुदायिक वनमा ७ हजार ५ सय, दिपेन्द्र स्मृति सामुदायिक वनमा १२ हजार, गोलाबारी सामुदायिक वनमा १० हजार र नन्दीपुर ओखलफाँटामा ५ हजार बिरुवा रोपिकोे छ। ‘अम्रिसो रोपणले वन उपभोक्ताहरूको आयआर्जन र जीविकोपार्जनमा सहयोग पुग्छ,’ उनले भने,‘स्थानीय उपभोक्ताले अब गाउँमै रोजगारी पाउँछन्।’

Facebook Comments