प्लाष्टिक पोखरीको पानीले उकास्यो पाँचथरका किसानको जिन्दगी

पाँचथर – घरको आँगन छेउमा भैंसी गोठ अनि गोठैकोे छेउमा टिनको छानामा वरपर पुराना तन्ना र कपडाले बारिएको भित्र के छ के छ जस्तो लाग्ने संरचना।

पाँचथर कुम्मायक १ सिम्लेका पदमलाल बोहोराले घर छेउमा बनाएको प्लाष्टिक पोखरीलाई यसरी संरक्षण गरेका छन। पाँचथरकै सुख्खा क्षेत्रको रुपमा रहेको कुम्मायक र तुम्बेवा गाउँपालिकाका अधिकांश वडाहरूमा पानीको अभाव भए पछि स्थानीयहरू अहिले पानीका लागि प्लाष्टिक पोखरीको भर पर्नु परेको छ।
खानेपानी अभावले व्याकुल बनेका कुम्मायकबासीहरूलाई प्लाष्टिक पोखरीले ठूलो राहत पुर्‍याएको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङ बताउछन्। पानीको अभाव झेल्दै आएका त्यहाँका कृषकहरूलाई चौपायालाई खुवाउन, फलफूल तथा सागसब्जी सिँचाई गर्न प्लाष्टिक पोखरीले मद्दत पुर्‍याएको कृषि शाखा कुम्मायकका प्राविधिक इमकुमारी तामाङ बताउँछिन्। जिल्लाले नै सुख्खा क्षेत्रको रुपमा घोषणा गरेको कुम्मायकमा गाउँपालिकामा प्रदेश सरकारले यो वर्ष १ सय ३२ वटा प्लाष्टिक पोखरी वितरण गरेको तामाङको भनाइ छ।

‘साढे एक वर्ष अघि गाउँपालिकाले दिएको प्लाष्टिक पोखरीले ठूलो राहत मिलेको छ । यो प्लाष्टिक पोखरीमा पानी जोहो गरेकै कारणले मैले गाई भैंसी पालेको छु साग सब्जी लगाएको छु यो पोखरी नभएको भए म पनि बसाई हिडी सक्थे होला यो पोखरी मेरो जीवनको साहारा बनेको छ। त्यसैले यो पोखरीको पानी सफा राख्न र पानीमा भएका तत्व बचाउन वरिपरि यसरी बारेर राखेको छु। यहाँ जम्मा भएको पानीले सबै थोक गर्न पाइएको छ,’ कुम्मायक १ सिम्लेका बोहोराले भने।

गाउँपालिकाले कृषकहरूलाई प्लाष्टिक पोखरी दिए पछि तरकारी खेतीका लागि राहत पुगेको छ। पहिला पहिला उक्त गाउँमा तरकारी लगाउने चलन नै थिएन। पानी नभएको हुनाले हरियो भन्ने देख्न पाइन्दैनथ्यो तर एक वर्ष अघि देखि प्लाष्टिक पोखरीमा पानी संकलन गरेर त्यही पानीले गरिएको तरकारी खेतीबाट राम्रो आम्दानी हुने गरेको कुम्मायक २ माङजाबुङका कृषक चन्द्रकान्त निरौला बताउँछन्। ‘प्लाष्टिक पोखरीको उपयोगिता धेरै रहेछ यसले तरकारी फलफूल साग सब्जी अनि चौपायाका लागि पनि फाइदा दिने रहेछ,’ उनले भने।

सुख्खा क्षेत्रको रुपमा रहेको कुम्मायक गाउँपालिकाका कृषकले प्लाष्टिक पोखरी पाए पछि तरकारी खेती प्रभावकारी बन्दै गइ रहेको छ । ३ वर्ष अघि सम्म गाउँमा बर्खे तरकारी बाहेक अन्य कुनै तरकारी खेती कसैले लगाएका थिएनन् । एक वर्ष अघि प्लाष्टिक पोखरी बनाएपछि भने आफ्नाे व्यवसाय फस्टाएको तुम्बेवा १ ढुकुरेका कृषक गणेश कार्कीले बताए।

‘प्लाष्टिक पोखरी बनाए पछि त्यसबाट थोपा सिँचाई चलाएर तरकारी खेतीसँगै विभिन्न बोट बिरुवाको नर्संरी स्थापना गरेर बोट बिरुवा बिक्री गर्दै आएको छु,’ उनले भने, ‘अहिले मेरो नर्सरीमा रुद्राक्ष, आँप, कटहर लगायतका बोट बिरुवा छन ।’ प्लाष्टिक पोखरीले आफ्नाे व्यवसायमा ठूलो सहयोग मिलेको कार्की बताउँछन्। गाउँमा नमुना कृषकको रुपमा नाम बनाएका कार्कीले उत्कृष्ट कृषकको रुपमा पुरस्कार समेत पाएका छन्।

गाउँमा प्लाष्टिक पोखरीको माध्यमबाट गरिने तकारी खेतीबाट कृषकहरूले आम्दानी गर्न थाले पछि गाउँपालिकाले १ सय ७७ वटा प्लाष्टिक पोखरी वितरण गरेको तुम्बोवा गाउँपाकिाका योजना शाखा प्रमुख जीवन भण्डारी बताउँछन्।

जलवायु परिर्वतनले सालिन्दा पानी कम पर्ने र बेलामा नपर्ने जस्ता समस्या भइरहेको बेला प्लाष्टिक पोखरीले कृषकहरूलाई ठूलो राहत पुर्‍याएकाले गाउँपालिका लगायत अन्य निकायले समेत कृषकहरूलाई प्लाष्टिक पोखरी वितरण कार्यक्रम अगाडि बढाएको कृषि ज्ञान केन्द्र पाँचथरका सूचना अधिकारी नरहरी निरौलाले जानकारी दिए। खेर गएको पानीलाई बचाएर त्यसलाई तरकारी खेती फलफूल खेती तथा चौपायाका लागि पनि प्रयोग गर्न सकिने हुनाले प्लाष्टिक पोखरी प्रभावकारी रहेको फाल्गुनन्द गाउँपालिकाका कृषि शाखा प्रमुख दिपा राईको धारणा छ।

कृषकहरूले प्लाष्टिक पोखरीको उपयोगिता थाहा पाउँदै गएपछि माग बढेको प्रमुख राई बताउँछिन्। यो साल मात्र १ न प्रदेश सरकारको सहयोगमा सघनबाली विकास कार्यक्रम अन्तर्गत पाँचथरको कम्मायक गाउँपालिकाको ५ न वडा मा २१ र हिलीहाङ ७ न वडामा २२ वटा प्लाष्टिक पोखरी वितरण गरिएको कृषि ज्ञान केन्द्र पाँचथरका सूचना अधिकारी निरौलाले बताए।

‘कार्यक्रम हेर्दा सामान्य जस्तो देखिए पनि हाम्रो जस्तो भौगोलिक विविधता र जलवायु परिवर्तनको कारण पानी पर्ने ठेगान नभएकोे ठाउँका लागि प्लाष्टिक पोखरीले कृषकहरूलाई ठूलो सहयोग पुर्‍याउँछ। धेरै कृषकहरूले प्लाष्टिक पोखरीको माध्यमबाट आफ्नो व्यवसायान प्रगती समेत गरेका छन्, त्यसैले प्लाष्टिक पोखरी तरकारी खेती गर्ने कृषकका लागि बरदान सावित भएको छ,’ कृषि प्राविधिक इमकुमारी तामाङले भनिन् ।

Facebook Comments