दक्षिण एसियाकै पहिलो पेट्रोलियम पाइपलाइन सञ्चालनमा

काठमाडौँ– नेपाली पक्षले जहिले पनि भारतसँग गर्ने गुनासो हो, भारतले परियोजनाहरू होल्ड गर्छ तर समयमा नै निर्माण सम्पन्न गदैन् । हुन पनि यस्ता केही परियोजनाहरू छन्, जो दशकौँसम्म सम्पन्न भएका छैनन् ।

उदाहरणको लागि पञ्चेश्वर परियोजना, लामो समयदेखि होल्डमा रहेको छ, खासै प्रगती भएको छैन्। अन्य केही परियोजनाको हालत पनि त्यही छ । तर, नेपाल–भारत पेट्रोलियम परियोजना भने निर्धारित समय भन्दा पहिला नै सम्पन्न भयो ।

मंगलबार दुबै देशका प्रधानमन्त्रीले सो पाइपलाइनको औपचारिक शुरुवात गरेका छन् । वास्तवमा यो परियोजना १५ महिनामा नै सम्पन्न भएको थियो । लामो समयदेखि चर्चामा रहेको उक्त पाइपलाइनको निर्माण अवधि साढे २ वर्ष अनुमान गरिएको थियो ।

विशेषत सन् २०१४ मा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणसँगै यो विषयले प्राथमिकता पाएको थियो । यस खाले परियोजना दक्षिण एसियामा नै पहिलो भएका कारण पनि यतिवेला यसको निकै चर्चा भईरहेको छ । संयोग नै मान्नुपर्छ, सन् २०१५ मा नेपालले नयाँ संविधान जारी गरेपछि भारतले नाकाबन्दी लगायो । यही पृष्ठभूमिमा नेपाललाई चाहिने ३३ प्रतिशत डिजेल र पेट्रोल चिनबाट ल्याउने विषयमा समेत कुराकानी भएको थियो ।

विसं २०६१ मा नेपाल र भारत सरकारबीच उक्त पाइपलाइन निर्माणको प्रारम्भिक सम्झौता भएको थियो । तर, यसको निर्माण कार्य भने करिव १३ वर्षपछि २३ फागुन २०७४ शुरू भएको हो ।
शुरुमा पाइपलाइनबाट साढे छ सय किलोलिटर पानी र एक हजार किलोलिटर डिजेल पठाएर परीक्षण गरिएको थियो । परीक्षणका क्रममा पटनाबाट अमलेखगञ्जसम्म डिजल आइपुग्न करिब १८ घण्टा लागेको थियो ।

पेट्रोलियम पदार्थ भारतको बरौनीदेखि बिहारको राजधानी पटना, मोतिहारी र अमलेखगञ्जसम्मको भू–भागबाट आएको डिजेलको शुद्धतासमेत परीक्षण भइसकेको छ । सो आयोजनामा नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेशनले संयुक्त रुपमा रू ७५ करोड लगानी गरेका छन् ।

भारत सरकारको चार अर्ब ४० करोडको आर्थिक सहयोगमा निर्माण भएको पाइपलाइनको लम्वाई ७० किलोमिटर रहेको र पाइपलाइन भारततर्फ ३२.५ किलोमिटर तथा नेपालतर्फ ३७.५ किलोमिटर लम्वाई रहेको छ । पाइपलाइनबाट प्रतिघण्टा दुई सय किलोलिटर पेट्रोलियम पदार्थ आउनेछ ।

दोस्रो चरणमा सो पेट्रोलियम लाइन चितवनसम्म विस्तार गर्ने तयारी छ । त्यसैगरी ग्यास पाइपलाइन निर्माणका लागि पनि दुई देशको बीचमा कुराकानी भइरहेको छ।

नेपाल आयल निगमको अमलेगञ्ज डिपोमा १६ हजार किलोलिटर भण्डारण गर्ने ट्याङ्की निर्माण गरिएको छ । पाइपलाइन सञ्चालनमा आएपछि अब वार्षिक दुई अर्ब बचत हुने बताइएको छ ।
त्यसैगरी, इण्डियन आयल कर्पोरेशनको र नेपाल आयल निगमले अमलेखगञ्ज थप भण्डारणको लागि डिपोको निर्माण गरिरहेका छन् ।

नेपाल आयल निगमले त्यसको लागि ७५ करोड लागतको अनुमान गरेको छ । जसका लागि भारतिय र नेपाल आयल निगमले वीरगन्ज महानगरपालिका, सडक विभाग र वातावरण तथा वन विभाग लगायतका सरकारी निकायहरूसँग सहर्काय गरिरहेका छन्।

पेट्रोलियम पाइपलाइनको सुरुवात भएसँगै अब नेपालमा तेल ढुवानी सहज हुने भएको छ । अब ढुवानी लागत, जोखिमता लगायतका विविध समस्याहरू समाधान हुने र यसले पेट्रोलियम पदार्थको बजार मूल्यमा समेत फरक पार्ने नेपाल आयल निगमले जनाएको छ ।

अहिले नेपालले १३ नाकाबाट पेट्रलियम पदार्थको ढुवानी गर्दै आइरहेको छ। रक्साल–विरगञ्च भारत–नेपाल व्यापारको मुख्य नाका हो । पाइपलाइनको उद्घाटनसँगै उक्त क्षेत्रमा ट्रकहरूको चहलपहल कम भइ प्रदषण घट्ने विश्वास लिइएको छ । यसबाट पर्यावरण विनाश, राजमार्गमा हुने ट्राफिक जाम, दुर्घटना, ढुवानी गर्दा पेट्रोल पर्दाथमा हुने चुहावटलगायतका समस्या समाधान हुने बताइएको छ ।

सन् १९७४ देखिको भारत र नेपालको पेट्रोलियम व्यापार लाई पाइपलाइनले झ्नै बलियो बनाएको जनाइएको छ । पाइपलाइनको सुरक्षाको जिम्मेवारी नेपाल सरकारले सेनालाई दिने भएको छ । सन् २०१४ मा पेट्रोलियम पाइपलाइन परियोजना अघि बढाउन भारत र नेपाल बीच हस्ताक्षर भएको थियो तर, भारतले नेपालमा नाकाबन्दी लगाएपछि पेट्रोलियम पाइपलाइन परियोजनाबारे कुनै छलफल अगाडि बढेको थिएन ।

नाकाबन्दी खुले लगत्तै प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा गएका थिए सो भ्रमणका क्रममा २०७३ चैत २४ गते ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा पाइपलाइनको सिलान्यास गरे ।

आईओसीले पाइप किन्ने, बिछ्याउने, विद्युतीय तथा मोटर, सिस्टम र कम्युनिकेशन तथा अमलेखगन्ज डिपोको कामका लागि पाँच टेण्डर गरिएको थियो । पेट्रोलियम पाइपलाइन निर्माण र अमलेखगन्ज डिपो स्तरीकरणको सम्पूर्ण खर्च भारतीय आयल निगमको रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विद्युतीय माध्यम रिमोटद्वारा पाइपलाइनको औपचारिक उद्घाटन गरेका हुन् । ओलीले सिंहदरबार र मोदीले दिल्लीबाट रिमोर्टमार्फत पाइपलाइनको उद्घाटन गरेका हुन् ।

मंगलबार मोतिहारी–अमलेखगञ्च पेट्रोलियम पाइपलाइन उद्घाटनमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतको साझेदारी केही आयोजनामा मात्र सीमित नरहेको तर साझेदारीले रेलवे, वाटरवे, जलविद्युत उत्पादन, एकीकृत भन्सार जाँच चौकी, पर्यटन, कृषि लगायतका क्षेत्रमा विस्तार भएको बताए ।

केही वर्षयता भारतीय सहयोगमा सञ्चालित आयोजनाको प्रगति राम्रो रहेको भन्दै उनले भूकम्पपछिको पुनर्निर्माणमा गोरखा र नुवाकोटमा गरी भारतीय सहयोगमा ५० हजार घर बनेको जानकारी दिए।


त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजनामा अपेक्षा गरेभन्दा अगाडि नै काम भएको भन्दै खुसी व्यक्त गरे । नेपाल भारत सहयोगका परियोजनाहरूको काम पनि सन्तोषजनक रहेको उनको भनाइ थियो।

साथै भारतिय प्रधानमन्त्री मोदीले आजको दिनलाई भारत–नेपाल मित्रताको विशेष दिन भनेका छन् ।

ट्वीट् गर्दै उनले लेखे, ‘भारत–नेपाल मित्रताको विशेष दिन !
मेरा मित्र, प्रधानमन्त्री ओली र मैले संयुक्त रुपमा भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म रहेको दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पेट्रोलियम पदार्थ पाइपलाइनको उद्घाटन गर्यौं ।’

त्यसैगरी ट्वीट् मार्फत नै उनले मोतिहारी–अमलेखगञ्ज पाइपलाइनले नेपालका जनतालाई सुलभ मूल्यमा अझैं सफा पेट्रोलियम पदार्थ दिने उल्लेख गरेका छन्।

‘प्रगतिको फल मित्र राष्ट्रहरुसँग बाँड्दै !
मोतिहारी–अमलेखगञ्ज पाइपलाइनले नेपालका जनतालाई सुलभ मूल्यमा अझैं सफा पेट्रोलियम पदार्थ दिनेछ ।
म हर्षित छु कि नेपाल र भारतबीचको सहकार्यले हाम्रा जनताको परस्पर लाभका लागि नयाँ उचाइ प्राप्त गर्दैछ,’ उनले ट्वीट्मा लेखेका छन्।

Facebook Comments