काठमाडौँ महानगर खुल्ला दिशामुक्त घोषणा

काठमाडौँ– काठमाडौँ महानगरलाई खुल्ला दिशामुक्त महानगरका रुपमा घोषणा गरिएको छ।

मंगलबार एक कार्यक्रमको आयोजना गरी महनगरलाई खुल्ला दिशामुक्त महानगर घोषणा गरिएको हो।

महानगरस्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले आयोजना गरेको महानगरलाई खुल्ला दिशामुक्त महानगर घोषणा गर्ने कार्यक्रममा जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राजवैद्यले महानगरका प्रमुख बिद्यासुन्दर शाक्यलाई महानगर खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएको प्रमाण पत्र प्रदान गरेका थिए।

अवसरमा बोल्दै महानगका प्रमुख शाक्यले महानगरलाई पूर्ण सरसफाइ क्षेत्र बनाउन पर्याप्त सार्वजनिक शौचालयको आवश्यकता पर्ने भन्दै त्यसका लागि प्राथमिकताका साथ काम गरिरहेको बताए।

त्यस्तै वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले घरेलु फोहोर व्यवस्थापनलाई दिगो बनाएर पूर्ण सफाइतिर लाग्ने धारणा राखे ।

कार्यक्रममा खानेपानी र सरसफाइका क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधि, महानगरका वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूको उपस्थिति थियो ।

Facebook Comments