कृषिका आधा दर्जन बोर्ड, संस्थान नेतृत्वविहीन

काठमाडौँ– ‘नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले कृषकको आवश्यकता सम्बोधन हुने गरी अनुसन्धान गर्न सकेन।’

साउन २७ मा कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले यसरी असन्तुष्टि पोखिरहँदा नार्क डेढ वर्षदेखि निमित्तको भरमा चलिरहेको विषयमा मौन रहे।

कसानको पक्षमा कृषि अनुसन्धान परिषद्ले कामै नगरेपछि त्यसको विकल्पमा किसान आवास परियोजना कार्यक्रम सुरु गर्न लागिएको भनेर मन्त्री खनालले बताइरहँदा बोर्ड तथा संस्थानहरूले किन काम गर्न सक्दैनन् भनेर बुझ्न जरुरी हुन्छ । कुनै पनि निकायलाई लक्ष्य अनुसार गन्तव्यमा लैजान सबल र सक्षम नेतृत्व चाहिन्छ तर कृषि क्षेत्रका आधा दर्जन बोर्ड र संस्थान हाकिमविहीन छन् । अर्थात् निमित्तको भरमा चलिरहेका छन् ।

कार्यकारी निर्देशक यमराज पाण्डेको अवकाशपछि नार्क निमित्तै निमित्तका भरमा सञ्चालित छ । पाण्डेको अवकाशपछि बैद्यनाथ महतो कामु कार्यकारी निर्देशक भए। तर, उनले पनि अवकाश पाएपछि टेकबहादुर गुरुङ कामु भए । गुरुङ कामु भएको पनि ६ महिना सकिएपछि हाल निमित्त प्रमुख छन्।

कार्यकारी निर्देशक नियुक्त गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खुला सूचना जारी गर्नुपर्ने हुन्छ। त्यसपछि मन्त्रालयको सचिवको नेतृत्वमा भएको छनोट समितिले योग्य उम्मेदवारबाट तीनजनाको नाम छनोट गरी मन्त्रिपरिषद्मा प्रस्ताव गर्नुपर्छ। मन्त्रिपरिषद्ले तीनमध्ये एकजनाको नाम छनोट गरी कार्यकारी निर्देशक नियुक्त गर्नुपर्ने व्यवस्था छ। हाल नार्कसम्बन्धी मुद्दा पनि अदालतमा बिचाराधिन छ।

नार्कको कार्यकारी निर्देशकमा बाली तथा बागवानी महाशाखाका प्रमुख मुख्य वैज्ञानिक डा. दीपक भण्डारी, प्रशासन महाशाखाका प्रमुख वरिष्ठ वैज्ञानिक डा. सीताराम अर्याल, योजना महाशाखाका प्रमुख रामचन्द्र अधिकारी र लेख महाशाखाका प्रमुख रामबहादुर केसीको रुचि देखाएका छन्।

कृषि सामग्री कम्पनी पनि निमित्तको भरमा चलिरहेको छ। कृषिका प्रबन्धक सञ्चालकका रूपमा अमर खैरले तीन वर्ष काम गरेकोमा अवकाश पाए। लगत्तै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रबन्धक सञ्चालक नियुक्त गर्न सूचना जारी गरेकोमा उक्त सूचनाको विपक्षमा कर्मचारी समूहबाट पाटन उच्च अदालतमा रिट दायर भयो। मुद्दा किनारा लागेको समय धेरै भइसक्दा पनि तीन महिनाअघिसम्म मन्त्रालयले खैरलाई नै करिब चार वर्षसम्म निमिक्तको जिम्मेवारी दिएको थियो। हाल कृषि सामग्रीमा अच्युत पौडेल निमित्त भएर चलाउँदै आएका छन्।

दुग्ध विकास संस्थानबाट गंगा तिमल्सिनाको अवधि सकिएपछि डा. ईश्वरीप्रसाद अधिकारीले निमित्त पाएका थिए । तर अधिकारीको पनि अवधि सकिएपछि ईश्वरी न्यौपानेले निमित्त चलाए । न्यौपानेको पनि जागिरको अवधि सकिएको हुँदा अहिले वित्तीय विभागका प्रमुख शैलेन्द्रकुमार घिमिरले निमित्त चलाइरहेका छन् ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यकारी निर्देशक शेषकान्त गौतमको अवधि सकिएपछि पद रिक्त छ। कपास विकास समिति प्रमुखको पद पनि रिक्त छ।

संस्थानको प्रमुख नियुक्त गर्न नयाँ मापदण्ड बनाइएको र मन्त्रिपरिषद्बाट पारित भएसँगै अगाडि बढाइने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले बताए।

Facebook Comments