प्लास्टिक सहरी पशुपालनका लागि अभिशाप

आज हामी बाँचेको युगलाई प्लास्टिक युग भनियो भने अतिशयोक्ति नहोला किनभने आज प्रत्येक घर, पसल, कार्यालय, अर्थात सबै क्षेत्रमा पोलिथिन झोलाको प्रयोग प्रचूर मात्रामा भइरहेको छ। यसको अत्यधिक प्रयोग र सुरक्षित व्यवस्थापन नगर्नाले केवल सहरी क्षेत्रमा खुल्ला चरीचरन चर्ने पशु चौपायालाई मात्र असर नगरेर मानव स्वास्थ्यमा पनि प्रतिकूल प्रभाव पारेको छ।

लेखक : डा केदार कार्की

पशुहरू खाद्य पदार्थलाई अखाद्यबाट छुट्याउन असमर्थ हुन्छन् जसले गर्दा खाद्य सामग्रीसँगै अन्य अखाद्य पदार्थ जस्तै पोलिथिन, कागज, लुगा, टाँक, सियो आदि खाने गर्दछन्। यो समस्या बाहिर छाडा छोडिएका पशुहरूमा बढी पाइन्छ । पोलिथिनका झोला पशुहरूको पेटमा बिस्तारै जम्मा हुन्छन् र एक आपसमा अल्झिएर भकुण्डो वा डोरीको रूपमा विकसित हुन्छन्। जस्ले गर्दा पशुको पाचन क्रियामा प्रतिकूल प्रभाव पर्न थाल्दछ। पशु निरन्तर शारीरिक रूपमा कमजोर हुनुका साथै दूध उत्पादन घटेर जान्छ।

अन्ततः पशुको अकाल मृत्यु हुन्छ। यस समस्याबाट बच्नका लागि मानिसले पोलिथिन झोलाको उपयोग बारे आत्ममन्थन गर्नु पर्ने बेला आएको छ।

पशुले किन पोलोथिन झोला खान्छ ? पशुहरूको शरीरमा खनिज तत्वको कमी भएमा, पशु मालिकले पर्याप्त दाना, आहार नदिइ चर्न छाडा छोडेमा र पोलिथिन झोलामा घरेलु तथा भान्साबाट निस्कने सडेगलेका खाद्य वस्तु राखेर फालेमा पशुले पोलिथिन खाने गर्दछ।

पशुमा पोलिथिन झोला निलेपछि पर्ने प्रभावः

जब पशुहरूले सडक, गल्ली तथा टोलबाहिर फ्याँकिएका फोहोरमैला, लुगाफाटो, फलफुल, तरकारी आदि खान्छन् अनि यिनलाई ट्रोमेटिक रेटिकुलाइटिस हुन्छ जस्ले ज्वरो आउने, पेट दुख्ने, दिशा गोटा पर्ने, धनुषको जस्तो कम्मर हुने गर्दछ। पोलिथिनमा गाँठो पारेर फ्याँकेका पदार्थ सड्दै गल्दै गरेका हुन्छन्।

यी सडेगलेका वस्तुसँगै पशुले पोलिथिन थैला निल्दछन्। जस्ले पशुको पाचन तन्त्रमा विभिन्न समस्याहरू निम्त्याउँछ। पोलिथिन पशुको ग्रास नलीमा अडकिएमा ग्रास नलीको मार्ग अवरोध हुन सक्छ। फोक्सो सङ्कुचित हुन गइ श्वास तीव्र गतिमा हुन्छ। जसले शरीरमा चाहिने अक्सिजनको आपूर्ती कम भएर जान्छ र समयमा उपचार नपाइ मृत्यु वरण गर्न पुग्दछ।

बचाउ वा उपचारः

सर्वप्रथम जनसमुदायलाई पशुमा पोलिथिन थैलाबाट पर्ने दुष्प्रभावका बारेमा जानकारी गराउनु पर्दछ। फलफूल तथा तरकारीबाट निस्कने फोहोर मैला पोलिथिनमा फाल्नु हुँदैन। बजारबाट सामान ल्याउन र राख्न पोलिथिनको साटो जुट अथवा कपडाको झोला उपयोग गर्न प्रोत्साहित गर्नु पर्दछ।

गाउँपालिका, नगरपालिका, नगर परिषद्, नगर निगमले पोलिथिन तथा अन्य फोहर मैलाको लागि यथा सम्भव ठाउँ यकीन गरी तिनको वैज्ञानिक तरिकाबाट स्थायी समाधानको उपाय खोज्नु पर्दछ।

पोलिथिनलाई कानूनी रूपबाट पूर्णतया प्रतिबन्धित गरिनुपर्दछ र अरु विकल्पको खोजी गर्नु पर्दछ। पोलिथिनमाथि प्रतिबन्ध लागएको कुरा चले पनि सबैजसो सार्वजनिक ठाउँमा पोलिोथिनको थुप्रो लागेको भेटिन्छ। अतः सरकारले गरैकानूनी तरिकाबाट पोलिथिन बनाउने फ्याक्ट्रीहरूमा प्रतिबन्ध लगाउनुपर्छ। यस काममा जनसमुदायले सरकारलाई सहयोग गर्नु पर्दछ।

पशुपालक कृषकले पनि आफ्ना पशुलाई त्यस्ता ठाउँमा चर्न दिनु हुँदैन जहाँ पोलिथिनजन्य फोहोर मैलाको थुप्रो लागेको हुन्छ। रुमिनोटोमी अप्रेशनद्वारा पशुहरूको पोलिथिन निकाल्नु एक मात्र उपचार मानिन्छ जुन धेरै जटिल र महँगो छ। जुन पशुमा गर्न सहज छैन। त्यसैले पशुलाई पोलिथिन खानबाट रोक्नु नै यस समस्याको सर्वोत्तम उपाय मानिन्छ। यसमा हामी सबे सचेत हुनुपर्दछ।

Facebook Comments