ट्रिपर बन्दैछ सडक आतंक, बनावटदेखि सञ्चालनसम्म समस्यै समस्या

काठमाडौँ– ट्रिपर देख्नासाथ भोलिको समाचारको पात्र पो भइने हो कि भन्ने डर लाग्छ उनलाई। बाटोमा ट्रिपर देख्ने बित्तिकै उनी बाटो छोड्न हतारिन्छिन्।

‘म त ट्रिपरलाई जहिल्यै साइड छोड्ने चालकमा पर्छु,’ उनले भनिन्।

कलंकी–१४ बस्दै आएकी अनिता आचार्य आफूले अधिकांश समय प्रयोग गर्ने कलंकी कान्तिपथ सडक खण्डमा ट्रिपर हुइँकिएको नै पाउँछिन्। आफूले सडक र सवारीको विषयमा बुझेपनि सडकको हालत राम्रो नभएका कारण ट्रिपरसँग डर लाग्ने उनले बताइन्।

‘सडकको हालत राम्रो छैन, त्यसमाथि अधिकांश ट्रिपर चालक युवा छन्,’ उनले भनिन्। यो भनेको गरिहालिन्छ नि अथवा सकिहालिन्छ नि भनेर नहुँदो कुरो पनि आँट्ने उमेर भएकाले युवा चालकहरू संयमित नहुने उनको बुझाइ छ।

त्यस्तै ट्रिपरका पार्टसहरू निकै बलिया हुने हुँदा दुर्घटना भइहाल्यो भने पनि हामीलाई केही हुँदैन भन्ने सोचाइ उनीहरूमा छ, उनले सुनाइन्।

‘त्यसमाथि स्कुटरमा हिँडेकी चालकलाई देखेर अधिकांशले लडाइदिऊँ न, जिस्काइदिऊँ न, कतिको कन्फिडेन्स रैछ जाँचौँ न भनेर समेत साइड च्याप्दै ल्याउँछन्,’ उनले सुनाइन्।

आचार्य त एक प्रतिनिधि पात्र मात्र हुन्। अधिकांश मोटरसाइकल र स्कुटर चालको सडक अनुभव यहि नै हो। अधिकांश ट्रिपर चालक कम उमेरका भएकाले गैरजिम्मेवारीपूर्ण तरिकाले चलाउँछन्। दुईपाङ्ग्रे चालकमा पनि लेन मिच्ने, गलत तरिकाबाट ओभरटेक गर्ने, सानो बाटो देख्यो कि छिर्न खोज्ने प्रवृत्ति बढ्दो छ।

पछिल्लो समयमा ट्रिपरलाई काठमाडौँ उपत्यकामा दिउँसको समयमा ट्रिपरलाई प्रतिबन्ध लगाएपछि काठमाडौँ भित्रिने नाकाहरूमा ट्रिपरको लामो लाइन लाग्छ। जब साँझपर्छ, एकैचोटी हजारौको संख्यामा भित्रिने गर्दछन्। जसले गर्दा सडकमा स्कुटर चालकको लागि एउटा आतंक नै सिर्जना गर्छ। स्कुटरको लागि मात्र होइन्, बाटो काट्नको लागि समेत निकै कठिन हुने गर्दछ।

गत भदौ ८ गते काठमाडौँको सिनामंगलमा तिनकुनेबाट गौशालातर्फ जाँदै गरेको बा २ ख ४३१७ नं को ट्रिपरले तीनवटा मोटर साइकललाई ठक्कर दिँदा एक जनाको घटना स्थलमै मृत्यु भयो भने पाँच जना घाइते भए।

त्यसअघि भक्तपुरमा पनि ट्रिपरको ठक्करबाट स्कुटरमा सवार एक युवतीको मृत्यु भएको थियो । यी त प्रतिनिधि घटना मात्रै हुन्। देशभर आर्थिक वर्ष २०७५/०७६मा २१ जनाको मृत्यु ट्रिपरको ठक्करबाट भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्क छ।

महाशाखाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७३/०७४मा १९ र ०७४/०७५ मा २१ जनाको मृत्यु भएको थियो । त्यस्तै चालू आर्थिक वर्ष ०७६/०७७ मा ट्रिपरको ठक्करबाट २ जनाको मृत्यु भइसकेको छ।

पछिल्ला दिनहरूमा सडक दुर्घटनाको मुख्यकारण ट्रिपरलाई पनि मानिँदै आएको छ। सरकारले ट्रिपरको लागि सीमित समय तोकेको भए तापनि लापरबाहीका कारण दुर्घटना बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिएसपी पदमबहादुर बिष्ट बताउँछन्।

सवारी दर्ता भएकाले आफूहरूले सडकमा गुड्न प्रतिबन्ध लगाउन नमिल्ने भन्दै सम्बन्धित निकायहरूले त्यसतर्फ गम्भीर भएर सोच्नु पर्ने उनले बताए।

ट्रिपरको बनावट अनुसारको नेपालको पूर्वाधार छ या छैन ? धेरै सवारीको चाप हुने स्थाहरूमा गुडाउन दिने वा नदिने भन्नेमा यातायात व्यवस्था विभागले निर्णय गर्नुपर्ने उनको भनाइ छ। ट्रिपरबाट दुर्घटना हुनुमा अस्वस्थ्य प्रतिस्पर्धा र त्यसको बनावट मान्छन् बिष्ट।

‘ट्रिपरको बनावट नै यस्तो हुन्छ कि चालकको दृश्यता नै कम हुन्छ र दुर्घटनाको सम्भावना बढी,’ उनले भने।

अन्य सवारीको सहजता लागि मुख्य नाकाहरूमा ट्रिपर चल्ने समयमा बढी सर्तकता अपनाएको बिष्टले बताए । एकैपटक ट्रिपर छोड्दा रेलको जस्तो लाम हुने भएकाले मुख्य प्रवेश नाकाहरूमा एक पटकमा १० वटा पठाउने गरेको उनले जानकारी दिए।

तैपनि बेलुकी सात बजेपछि काठमाडौँको मुख्य नाका थानकोट होस् या पूर्वी नाका साँगा होस् ट्रिपरको ताँती हुइँकिएर आउँदा अन्य सवारी चालकमा त्रास बढी नै रहेको छ।

दुर्घटना न्यूनीकरणको उपायः बनावटमा सुधार
विज्ञहरूले ट्रिपरको बनावटमा नै समस्या रहेको बताएका छन्। दुर्घटना कम गर्ने हो भने अहिलेको ट्रिपरको इन्जिन र अन्य भागहरू परिवर्तन गर्नुपर्ने उनीहरूको सुझाव छ। हाकाहाकीसँग कुरा गर्दै ट्राफिक इन्जिनियर आशिष गजुरेलले प्राविधिक सुधार एक विकल्प भएको बताए।

उनले भने, ‘ट्रिपरको इन्जिन नै ३० किमी प्रति घण्टा सेट ग¥यो भने मात्रै हो नत्र त अन्य विकल्प चाहिँ छैनन् ।’

दुर्घटनाको मुख्य कारण ट्रिपर चालकसहित अन्य सवारी चालकको पनि रहेको मान्छन् उनी । रातिको समयमा सडक खाली हुने र सवारीहरू तीव्र गतिमा गुड्ने भएकाले पनि दुर्घटना बढी हुने गरेको उनको भनाइ छ।

सवारी चालक अफैँ सर्तक भए भने पनि अहिले भइरेको दुर्घटनाको संख्यामा कमी आउँने उनी बताउँछन्।

‘अन्य देशमा हुने पनि त्यही हो ट्रिपरका लागि सीमित समय तोकिएको हुन्छ, बाँकी त चालक सर्तक रहने त हो,’ उनले भने।

पूर्वाधार निर्माणले बढायो टिप्पर संख्या
पछिल्लो दशकमा पूर्वाधार निर्माणले गति लिएसँगै ट्रिपरको संख्या पनि बढेको छ। विशेष गरी ठूला–ठूला निर्माणका लागि चाहिने सामग्री ओसारपसारमा ट्रिपर र कै प्रयोग गरिन्छ। नेपालमा मात्र नभएर भारतलगायत दक्षिण एसियाली मुलुकहरूमा पनि टिप्परको प्रयोग बढ्दै गएको छ भने त्यसबाट हुने दुर्घटनामा समेत उल्लेखनीय रूपमा वृद्धि भएको छ।

विश्व स्वास्थ्य संगठनद्वारा प्रकाशित विश्व सडक सुरक्षा २०१८ प्रतिवनेदनका अनुसार सडक दुर्घटनामा परी मृत्यु हुनेमा ५४ प्रतिशत पैदलयात्री, साइकल र मोटरसाइकल चालक पर्दछन्। त्यसमध्ये आदिभन्दा बढी ट्रिपरबाट हुने गदर्छन्।

सोही प्रतिवेदनका अनुसार आर्थिक वृद्धिदर कम भएका देशमा विश्वको कूल सवारीसाधनमध्ये १ प्रतिशत मात्र पर्दछन्। तर १३ प्रतिशत मानिसले सडक दुर्घटनामा परी ज्यान गुमाउँछन् । आर्थिक वृद्धिदर बढी भएका देशमा विश्वको ४० प्रतिशत सवारी साधन छन् तर जम्मा ७ प्रतिशत मात्रै सडक दुर्घटनामा परि ज्यान गुमाउँछन् । आर्थिक वृद्धिदर कम भएका देशमा ट्रिपरको प्रयोग बढी भएको देखिन्छ।

ट्रिपरको बनावट
ट्रिपरको आकार अन्य सवारीसाधन भन्दा निकै ठूलो हुन्छ र ठूलो आकारले गर्दा नजिकैका साना सवारीसाधन जस्तै स्कुटर, मोटर साइकल, कार र पैदल यात्रुलाई चालकले देख्न मुस्किल पर्छ।

अन्य सवारीसाधन भन्दा ट्रिपरको गति पनि उच्च हुन्छ। अरु सवारी साधनको तुलनामा ट्रिपरको ब्रेक भनेको ठाउँमा नलाग्ने भएकोले दुर्घटना हुँदै आएको छ।

यस्तो छ सवारी दर्ताको अवस्था
यातायात व्यवस्थापन विभागको ०४६ \०४७ को विवरण हेर्ने हो भने क्रेन, डोजर, एस्काभेटर, ट्रक गरी ६ हजार ५ सय ३२ सवारी दर्ता भएका थिए। आर्थिक वर्ष ०७४/०७५ सम्म आइपुग्दा दुई गुणाले वृद्धि भएर १२ हजार एक सय ५४ सवारी दर्ता भएका छन्।

पछिल्लो पाँच वर्षको तथ्याङ्क हेर्दा हरेक वर्ष हेवी सवारी दर्ता हुने क्रम हजारको संख्यामा वृद्धि हुँदै गएको छ । आर्थिक वर्ष २०७०/०७१ मा २ हजार ७ सय ८९ दर्ता भएकोमा आर्थिक वर्ष २०७१/०७२ मा दुई गुणाले वृद्धि भई ४ हजार २ सय ३६ सवारी दर्ता भएका थिए । त्यस्तै आर्थिक वर्ष ०७२/०७३ मा ८ हजार ३ सय २८, ०७३/०७४ मा १२ हजार ७ सय १२, ०७४/०७५मा १२ हजार १ सय ५४ सवारी दर्ता भएको जनाएको छ।

आर्थिक वर्ष २०७५/०७६ को फागुन मसान्तसम्म ९ हजार ९ सय ५८ हेवी सवारी दर्ता भएका छन्। आर्थिक वर्ष २०७४/०७५मा मेचीमा २ सय ४९, कोशीमा ६ सय ७२, सगरमाथामा ७४, जनकपुरमा २ सय २८, नारायणीमा ३ हजार ७ सय ४६, बाग्मतीमा ४ हजार १ सय ४, गण्डकीमा ५ सय ४४, लुम्बिनीमा १ हजार ५ सय ४६, धौलागिरीमा १, राप्तीमा २ सय २, भेरीमा ३ सय ७२, सेतीमा ३ सय ४१, महाकालीमा ७५ गरी १२ हजार १ सय ५४ साना ठूला सवारी दर्ता भएका छन्।

कसुरदारलाई सजाय के ?
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले सवारी सम्बन्धी विभिन्न कसुरजन्य कार्यहरूलाई अपराधीकरण गरी कसुर गर्ने व्यक्तिलाई सजायको व्यवस्था गरेको छ। उक्त ऐनमा उल्लेखित कसुरहरू मध्ये दफा १६१ को उपदफा (१) मा ज्यान मार्ने मनसाय लिइ सवारीले किची वा ठक्कर दिइ ज्यान मार्नलाई जन्म कैदको व्यवस्था गरेको छ।

सोही ऐनको दफा १६१ को उपदफा (१) मा उल्लेखित कसुरमध्ये ज्यान मार्ने मनसाय लिइ किची वा ठक्कर दिए र घाइते बनाएमा कसुरदारलाई न्यायिक स्वविवेकमा सजाय निर्धारण गर्नुपर्ने गरी सम्बन्धित दफा तथा उपदफाहरूमा सजायँको माथिल्लो र तल्लो हदको व्यवस्था गरिएको छ। यसैगरी दफा १६१ को उपदफा (३) र उपदफा (५) मा उल्लेखित कसुर तथा दफा १६२ को उपदफा (३) मा उल्लेखित कसुर गर्ने कसूरदारलाई सम्बिधित दफा तथा उपदफाहरूमा ३ वर्षसम्मको कैद तथा ३० हजार सम्म जरिवाना हुने व्यवस्था गरिएको छ। साथै, सवारी सम्बधी कसुर गर्ने कसुरदारलाई सोही ऐनको दफा १६१ को उपदफा (४) र दफा १६२ को उपदफा (२) तथा अपराध संहिता एवम् अन्य प्रचलित कानून बमोजिम थप सजाय हुने व्यवस्थासमेत रहेको छ।

Facebook Comments