धारा छेउमै शौचालय : ‘बस्ती खुला दिसामुक्त, खानेपानी दूषित’

महेन्द्रनगर– कञ्चनपुरकाे भीमदत्त नगरपालिकाका अधिकांश बस्तीमा खानेपानीकाे धारा नजिकै शौचालय निर्माण गरेको पाइएको छ । खानेपानीकाे धारासँगै शौचालय बनाएपछि बस्तीमा रोगको जोखिम पनि उत्तिकै बढेको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका ९, मटेनाको बादी बस्तीमा खानेपानीको धारासँगै बनाइएको शौचालय । तस्बिर : होम योगी /हाकाहाकी

शौचालयसँगै रहेको ह्यान्ड पम्पको पानी प्रयोगले झाडापखला, आउँ, हेपाटाइटिसलगायत पानीजन्य रोगको संक्रमण देखिन थालेको स्थानीय बताउँछन्।

धारा छेउमै शौचालय निर्माण गरेपछि झाडापखला, आउँलगायतका रोग लाग्न थालेको  भीमदत्त नगरपालिका–९ मटेनाकी कमला बादीले बताइन्। ‘पहिला धारा मात्र थिए, त्यतिबेला कुनै पनि रोग लाग्दैन थिए,’ उनले भनिन्,‘धारा छेउमै शौचालय निर्माण गरेपछि अहिले झाडापखला लगायतका समस्या देखिन्छन्।’ खानेपानीको धारा(ह्यान्ड पम्प)सँगै शौचालय बनाएपछि पानीमा कीरा देखिन थालेको स्थानीय सिता बादीले बताइन्। ‘यहाँ बस्ने अधिकांश परिवारको आधा/एक कट्ठा मात्र जमिन छ,’ उनले भनिन्,‘जमिन कम भएकाले धारासँगै शौचालय बनाएका हुन् ।’

४५ जनाको परिवार बसोबास गर्ने बादी बस्तीमा खुला दिसामुक्त घोषणाका बेला अधिकांश परिवारले धारासँगै शौचालय बनाएको सिता बताउँछिन् । ‘खुला दिसामुक्त घोगाणाका बेला पर्याप्त ठाउँ नभएकाले धारासँगै शौचालय बनाइयो,’ उनले भनिन्,‘बस्ती खुला दिसामुक्त भयो, तर खानेपानी दूषित भयो ।’

आर्थिक अभावमा दूषित पानीको प्रयोग
भीमदत्त नगरपालिकाको उत्तरी क्षेत्रमा रहेको बादी बस्तीका स्थानीयले विपन्नताका कारण गाउँमा खानेपानी भएपनि धारा जडान गर्न सकेका छैनन्। गाउँमा खानेपानी भएपनि ४५ परिवारको बसोबास रहेको बादी बस्तीका बासिन्दाले आर्थिक अभावले खानेपानी नपाएको स्थानीय सन्तोष बादीले बताए।

‘गाउँ खानेपानी छ, आर्थिक रुपमा सम्पन्न परिवारले धारा जडान गरेका छन्,’ उनले भने,‘विपन्न परिवार शौचालयसँगै रहेको ह्यान्ड पम्पको पानी प्रयोग गरिरहेका छन् ।’ धारा जडानका लागि ब्रह्मदेव खानेपानी आयोजनाले एकमुष्ठ ७ हजार माग गरेकाले समस्या भएको सन्तोष बताउँछन्। ‘७ हजार तिर्न नसक्दा दुषित पानी प्रयोग गर्दै आएको वर्षौ भयो,’ उनले भने,‘ब्रह्मदेव खानेपानीको धारा जडानका लागि वडा कार्यालयसँग आग्रह गरेका छौँ।’

धारा जडान गर्न नसक्दा ४५ बादी परिवार शौचालयसँगै रहेको ह्यान्ड पम्पको दूषित पानी प्रयोग गर्न बाध्य भएको स्थानीय कल्पना बादीले बताइन् । ‘धारा जडानका लागि एकै पटक ७ हजार तिर्न सक्दैनौं,’ उनले भनिन्, ‘खानेपानी आयोजनाले किस्तामा तिनुपर्ने व्यवस्था गरे रकम तिर्न सकिन्छ ।’ बादी बस्तीमा ब्रह्मदेव खानेपानी आयोजनाको धारा जडानका लागि पहल भइरहेको भीमदत्त नगरपालिका–९ का वडा अध्यक्ष राम नाथले बताए । ‘खानेपानी आयोजनाले बस्तीसम्म खानेपानी पु¥याएको छ, केही परिवारले धारा जडान गरेका छन्,’ उनले भने,‘धारा जडान गर्न बाँकी परिवारलाई खानेपानीको व्यवस्थापनका लागि वडा कार्यालय सहयोग गर्छ।’ वडा कार्यालयको पहलमा ब्रह्मदेव खानेपानी आयोजनाले विपन्न परिवारलाई धारा जडान शुल्कमा २ हजार छुट दिएको वडा अध्यक्ष नाथ बताउँछन्। ‘वडा कार्यालयकै पहलमा किस्तामा रकम बुझाउन चाहने परिवारलाई पनि आयोजनाले धारा जडान गर्ने व्यवस्था मिलाएको छ,’ उनले भने,‘चाँडै सबै परिवारले खानेपानीको प्रयोग गर्न पाउँछन् ।’

Facebook Comments