पहिरोले सुर्खेतको खानेपानी संरचनामा क्षति, पानी वितरण ठप्प

सुर्खेत- अविरल वर्षाले खानेपानीका संरचनामा क्षति पु-याएपछि वीरेन्द्रनगरका अधिकांश क्षेत्रमा तीनदेखि पानी वितरण पूर्णरुपमा ठप्प भएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले जनाएको छ।

वर्षापछिको पहिरोले खानेपानीका अधिकांश संरचनामा क्षति पु-याएको हुँदा खानेपानीका मुख्य स्रोत झुप्रा मुहान, खरी–बोरी खोला, इत्राम र खोर्के मुहानबाट इत्राम र अन्य संकलन केन्द्रमा पानी नझरेपछि समस्या आएको हो।

वर्षाले एकै पटक सबै स्रोतमा क्षति पुगेकाले वितरण ठप्प हुन पुगेको छ। खरीबोरी खोलाबाट आएको पाइपलाइन दोबिल्ला नजिक पहिरोले क्षति पु-याएको छ। वर्षाका कारण झुप्राको लाइनबाट अत्याधिक धमिलो र लेदो पानी मात्रै आएकाले संकलन केन्दमा हालिएको छैन्। वर्षाले झुप्राको इन्टेकसमेतमा क्षति पुगेको, इत्राम र खोर्के खोलाको स्रोतमा पनि भल पसेका कारण संकलन केन्द्रसम्म पानी ल्याउन सकिएको छैन्।

बुलबुले स्रोतमा भने ट्रान्समिटर जलेर बिग्रिएपछि पानी वितरण प्रभावित भएको संस्थाले जनाएको छ।

पहिरोले पाइपलाइन र अन्य संरचनामा ठूलो क्षति पु-याएकाले मर्मत भइरहेको छ। संरचनामा क्षति पुगेलगत्तै मर्मत टोली फिल्डमा खटिएको बताइएको छ।

कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा हाल १७ हजार धारामार्फत खानेपानी सेवा दिइरहेको संस्थाले सुख्खा खडेरी र वर्षातमा पानी वितरणमा समस्या झेल्दै आएको छ।

Facebook Comments