काष्ठमण्डपको पुनःनिर्माण ५० प्रतिशत सम्पन्न

काठमाडौँ– काष्ठमण्डप पुनःनिर्माणको काम हालसम्म ५० प्रतिशत सम्पन्न भएको छ। लक्ष्यअनुरुपनै काम भइरहेकाले तोकिएकै समयमा काम सक्ने जनाइएको छ।

निर्माणअन्तर्गत अहिले मुख्य चारवटा थाम राखी बीचमा गारो लगाउने काम सकिएको काष्ठमण्डप पुनःनिर्माण समितिले जानकारी दिएको छ। निर्माणमा अहिले दैनिक ३० जना कामदारले नियमितरुपमा काम गरिरहेका छन्।

शुरुको समयमा निर्माणका लागि काठ, इँटाजस्ता निर्माण सामग्री समयमा उपलब्ध गराउन नसक्दा पनि ढिला भएको थियो अब त्यो अवस्था नआउने बताइएको छ।

विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणका लागि अघिल्लो वैशाख ३१ गते क्षमापूजा गरिएको थियो। गत कात्तिक २२ गते शुभारम्भ पूजा गरेर विधिवत् रुपमा यस सम्पदाको पुनःनिर्माण शुरु भएको हो। तीन वर्षभित्र पुनःनिर्माण सक्ने लक्ष्यका साथ काष्ठमण्डप पुनःनिर्माणले गति लिएको छ।

चार वर्षभित्र निर्माण कार्य सक्ने गरी सातौँ शताब्दीको काष्ठमण्डप पुनःनिर्माणको काम भइरहेको छ।

प्रयोग गरिएका चारवटा थाममध्ये तीन वटा नयाँ प्रयोग गरिएको हो भने एउटा थाम पुरानै प्रयोग गरिएको समितिले जानकारी दिएको छ।

यस ऐतिहासिक सम्पदा पुनःनिर्माणको लागि १९ करोड खर्च लाग्ने अनुमान गरिएकोमा काठमाडौँ महानगरपालिकाले पुनःनिर्माण समितिलाई पाँच करोड ५० लाख सहयोग प्रदान गरिसकेको छ।

Facebook Comments