नविकरणीय उर्जाको एक दशक : २० खर्ब ५० अर्ब अमेरिकी डलर लगानी, चीन सबैभन्दा अगाडि

काठमाडौँ – पछिल्लो दशकमा नविकरणीय उर्जामा विश्वव्यापी लगानी चार गुणाले बढेको एक अध्ययन प्रतिवेदनले जनाएको छ। सन् २०१० देखि २०१९ सम्ममा नविकरणीय उर्जा क्षमतामा विश्वव्यापी लगानी २० खर्ब ५० अर्ब अमेरिकी डलर भन्दा माथि पुगेको उक्त प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनका अनुसार नविकरणीय उर्जामा विश्वव्यापी लगानी झण्डै २० खर्ब ६० अर्ब अमेरिकी डलर पुग्न लागेको छ। त्यसमा अन्य प्रविधिको तुलनामा सौर्य उर्जा उत्पादनमा सबैभन्दा धेरै वृद्धि भएको छ।

‘युएन ग्लोबल क्लाइमेट एक्शन सम्मेलन’ हुनुपूर्व सार्वजनिक गरिएको ‘नवीकरणीय उर्जा लगानी २०१९’ को रिपोर्ट अनुसार यस क्षेत्रमा लगानी चार गुणाले बढेको छ । सन् २००९ मा ४१४ गिगावाट नवीकरणीय ऊर्जा उत्पादन हुन शुरु भएकोमा २०१९ को अन्त्य सम्ममा लगभग (ठूलो जलविद्युत बाहेक) १६५० गिगावाट सम्म पुग्ने अनुमान गरिएको छ।

सौर्य ऊर्जाले एक दशकमा नवीकरणीय ऊर्जाको लगानीमा २० खर्ब ६० अर्ब अमेरिकी डलरको आधा १० खर्ब ३० अर्ब अमेरिकी डलर योगदान गरेको छ । सन् २०१० को शुरुवातमा सौर्य उर्जा एक्लैले २५ गिगावाट विद्युत उत्पादन गरेकामा २०१९ को अन्त्य सम्ममा ६६३ गिगावाट उर्जा उत्पादन गर्ने प्रतिवेदनले जनाएको छ । उक्त उर्जा अमेरिकाको करिब १० करोड घरहरूलाई प्रत्येक वर्ष आवश्यक पर्ने बिजुली प्रदान गर्न पर्याप्त छ।

विश्वव्यापी विद्युत उत्पादनको हिस्सामा नविकरणीय उर्जाको भाग सन् २०१८ मा १२.५, २०१७मा ११.६ प्रतिशत थियो। यसले गत वर्ष मात्र अनुमानित २ अर्ब टन कार्बनडाइअक्साइड उत्सर्जनलाई रोकेको छ। यो एक उल्लेखनीय बचत हो। किनकी सन् २०१८ मा कुल विश्वव्यापी रुपमा १३.७ अर्ब टन कार्बनडाइअक्साइड उत्सर्जन भएको थियो।

सबै ठूला विद्युत उत्पादन गर्ने प्रविधिहरू (जिवाश्म र शून्य कार्बन) सहित यस दशकमा कुल २ हजार ३ सय ६६ गिगावाट बराबरको उर्जा उत्पादन गर्ने प्रविधिहरू स्थापना भएको छ । यसमा सबैभन्दा ठूलो भाग ६३८ गिगावाट उत्पादनसहित सौर्यले उर्जाको छ, ५२९ गिगावाट विद्युत उत्पादन गर्ने कोइला दोस्रो, ४८७ गिगावट उत्पादन सहित हावा तेश्रो र ग्याँसबाट ४३६ गिगावाट उर्जा उत्पादन भएको छ।

प्रतिवेदनका अनुसार यो दशकमा नविकरणीय उर्जामा लगानी गर्नेको प्रतिस्पर्धा समेत नाटकीय रुपमा वृद्धि भएको छ। उर्जाको खपत खर्चलाई हेर्ने हो भने सौर्य उर्जामा ८१ प्रतिशतले घटेको छ । हावा (टर्बाइन)को खपत खर्च ४६ प्रतिशतले घटेको छ।

समग्रमा नविकरणीय ऊर्जामा लगानी सन् २०१८ सम्ममा २८८.३ अर्ब डलर पुग्यो जुन २०१७ को तुलनामा ११ प्रतिशतले कमी थियो । २०१७मा नविकरणीय उर्जामा लगानी ३२५ अर्ब अमेरिकी डलर थियो।

‘नविकरणीय उर्जामा लगानीले दीगो र लाभदायक भविष्यको लागि पनि लगानी गर्दैछ, यसकोे अविश्वसनीय वृद्धि अन्तिम दशकले देखाएको छ,’ संयुक्त राष्ट्र पर्यावरण कार्यक्रमका कार्यकारी निर्देशक ईन्जर एन्डरसनले भने, ‘तर हामी यतिमा मात्रै सन्तुष्ट हुन सक्दैनौं। ग्लोबल पावर सेक्टरको उत्सर्जन यस अवधिमा लगभग १० प्रतिशतले बढेको छ। यो कुरा स्पष्ट छ कि हामीले अन्तर्राष्ट्रिय जलवायु र विकास लक्ष्यहरू प्राप्त गर्ने हो भने नविकरणीय उर्जालाई द्रुत गतिमा अघि बढाउनु आवश्यक छ।’

‘हावा, सौर्य र जियोथर्मल उर्जा प्रयोग गर्न प्रविधिहरु उपलब्ध छन् र तिनीहरू प्रतिस्पर्धात्मक र स्वच्छ छन् । १० वर्षभित्र जर्मनीले नविकरणीय उर्जा मार्फत दुई तिहाई उर्जा उत्पादन गर्नेछ । हामी देखाउँदैछौँ की एक औद्योगिक देशले आफ्नो अर्थ व्यवस्थालाई जोखिममा नपारी कोइला र आणविक उर्जालाई विस्थापित गर्न सक्छ,’ पर्यावरण, प्रकृति संरक्षण र आणविक सुरक्षाका लागि जर्मनीका संघीय मन्त्री स्वेनेज शुल्जले भने।

विश्वव्यापी लगानी बढ्दै, चीन सबैभन्दा अगाडि
यस दशकमा चीन नविकरणीय उर्जाको उत्पादनमा सबैभन्दा बढी लगानी गर्ने देश बनेको छ। चीनले यस क्षेत्रमा सन् २०१० देखि २०१९ को बीचमा ७५८ अर्ब अमेरिकी डलर लगानी गरेको छ। त्यस्तै संयुक्त राज्य अमेरिका ३५६ अर्ब डलर लगानी गरेर दोस्रो स्थानमा छ र जापान २०२ अर्ब डलरको लगानीमा तेश्रो स्थानमा छ।

त्यसैगरी युरोपले समग्रमा ६९८ अर्ब अमेरिकी डलर नविकरणीय उर्जामा लगानी गरेको छ जस्मा जर्मनीले १७९ अर्ब डलर र युनाइटेड किङ्गडमले १२२ अर्ब डलर लगानी गरेको छ।

गत वर्षको तुलनामा यस वर्ष नवीकरणीय ऊर्जामा लगानी विश्वव्यापी रुपमा बढेको छ। यस वर्ष विश्वका २९ देशहरू मध्ये प्रत्येकले १ अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गरेका छन्।

युएन इभारमेन्ट डट ओआरजीमा प्रकाशित समाचारको भावानुवाद । अनुवाद : अमिष रेग्मी

Facebook Comments