मेलम्चीको अन्योलता कायमै, श्रमिकको आन्दोलन स्थगित, ‘भेण्डर’को जारी

काठमाडौँ– भुक्तानी विवादका कारण रोकिएको मेलम्ची खानेपानी आयोजनाको काम अगाडि बढाउन बाटो खुलेको सरकारले दाबी गरेपनि ‘भेण्डर’ तथा सामान सप्लायर्सहरू भने आन्दोलनरत नै छन्।

आइतबार सिएमसी पीडित नेपाली श्रमिक, स्थानीय भेण्डर तथा सप्लायर्स कम्पनीका प्रतिनिधि र खानेपानी मन्त्रालयका पदाधिकारीबीच भएको वार्तामा आन्दोलन फिर्ता लिइएको बताइए पनि  संयोजकले भने आन्दोलन जारी नै रहेको जनाए।

हाकाहाकीसँग कुरा गर्दै संयोजक उत्तमकुमार श्रेष्ठले केही व्यक्तिबीच भएको सहमति आफूहरूलाई स्वीकार्य नहुने र आन्दोलन नरोकिने बताए।

आइतबारको वार्तामा मजदुरहरूबीचमा मात्रै सहमति भएको भेण्डर बालकृष्ण दुलाल बताउँछन्। मन्त्रालयसँग वार्ता चलिरहेकाले आन्दोलन फिर्ता भएको भन्न नमिल्ने उनको भनाइ छ।

‘मन्त्रालयसँग वार्ता जारी छ, अन्दोलन केही दिनलाई मात्रै स्थगित भएको हो,’ उनले भने। बाँकी रहेको भुक्तानी रकम आफूहरूलाई उपलब्ध गराएपछि मात्र आन्दोलन पूर्ण रुपले बन्द गर्ने उनले जनाए।

यता मन्त्रालय भने श्रमिक र भेण्डरहरूसँग सहमति भएको बताउँछ। हाकाहाकीसँग कुरा गर्दै खानेपानी मन्त्रीका प्रेस सल्लाकार सुकदेब चापागाईंले स्थानीय भेण्डर तथा सप्लायर्सहरू वार्ताबाटै सहमतिमा जान तयार रहेको बताए।

‘हिजो(आइतबार) भएको वार्तामा केही भेण्डरहरू पनि हुनुहुन्थ्यो र उहाँहरू वार्ताको लागि तयार हुनु भएको छ,’ उनले भने, ‘श्रमिकहरूले दाबी गरेको रकम ८ करोड र छुटेकाहरूको ३ करोड भुक्तानी हुन बाँकी छ। छुटेका श्रमिकहरूको नाम संकलन गरी दुई महिना भित्र प्रमाणसहित निवेदन दिन भनिएको छ। रकम भुक्तानी गर्न बाँकी भएको पुष्टी भएपछि मन्त्रालयको सिफारिसमा मन्त्रीपरिषद्ले निर्णय गर्ने छ ।’

छुटेकाहरूको नाम जति छिटो उपलब्ध भयो रकम पनि त्यति नै छिटो उपलब्ध गराउने उनको भनाई छ। भेण्डर तथा सप्लायर्स कम्पनीहरूले भुक्तानीका लागि १ अर्ब ६७ करोडको रकम दाबी गरेको चापागाईंले जानकारी दिए ।

मेलम्ची खानेपानी आयोजनाको काम छाडेर भागेको इटालियन ठेकेदार कम्पनी सिएमसी दि रेभेनाबाट भेण्डर तथा स्थानीय सप्लार्यसहरूले पाउनुपर्ने रकमको विषयमा टुंगो नलाग्दा विवाद लम्बिएको थियो।

बाँकी कामको ठेक्का चिनियाँ कम्पनीलाई
सीएमसी काम अलपत्र छाडेर भागेको आठ महिनापछि सरकारले मेलम्ची खानेपानी आयोजनाको बाँकी कामको ठेक्का चिनियाँ कम्पनी सिनोहाइड्रोलाई दिने भएको छ।

प्रशासकीय सम्झौता बाँकी रहेकाले अबको केही दिनमा आयोजनाको काम अगाडि बढ्ने खानेपानी मन्त्रालयले जनाएको छ।

आयोजनाको ९० प्रतिशत काम सकिएको छ, तैपनि कहिले सम्पन्न भन्ने विषय अझै टुंगो लाग्न सकेको छैन् । अहिलेसम्म आयोजनामा ४२ अर्ब ५४ करोडभन्दा बढी खर्च भइसकेको छ। आयोजनाको बाँकी काम सम्पन्न गर्न सरकारले आर्थिक वर्ष ०७६÷७७ मा सात अर्ब ३९ करोड बजेट विनियोजन गरेको छ।

Facebook Comments