‘मोदी खोला जलविद्युत आयोजना निर्माणले खानेपानीको श्रोत सुक्यो’(पूर्ण प्रतिवेदनसहित)

काठमाडौँ – पर्वतको मोदी खाेलामा निर्माण भइरहेका जलविद्युत आयोजनाका कारण माछाको उत्पादन तथा खानेपानीको परिणाम घटेको एक अध्ययन प्रतिवेदनले जनाएको छ ।

नेपाल वातावरण पत्रकार समूहले तयार पारेको मोदी खोला जलविद्युत आयोजना निर्माणले पारेको वातावरणीय प्रभाव सम्बन्धी प्रतिवेदन आइतबार उर्जा, जलश्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनलाई हस्तान्तरण गर्दै सार्वजनिक गरिएको छ।

उक्त प्रतिवेदनका अनुसार मोदी खोलामा सञ्चालित कुनै पनि जलविद्युत आयोजनाले जलविद्युत विकास नीति (२०५८) अनुसार जलीय प्रणाली कायम गर्न न्यूनतम १० प्रतिशत पानी खोलामा छोड्नु पर्ने प्रावधानको पालना गरिएको छैन् । यसबाट माछाको उत्पादन घटेको र आयोजना पूर्वको तुलनामा करिव १० प्रतिशत मात्रै उत्पादन हुने गरेको स्थानीय जनताको जीकिर छ । बिरेठाँटीदेखि चुवासम्म निर्माणाधिन र सञ्चालित ४ जलविद्युत आयोजनाको आधारमा यस प्रकारको “क्यासकेड” आयोजना सञ्चालन हुने खोला नदीमा पानी छोडेर जलीय जीव विविधता र तिनको उत्पादन कायम गर्न सकिने नदेखिएकोले विद्यमान नीतिको पुनरावलोकन गर्नु पर्ने देखिन्छ ।

त्यसैगरी वातावरणीय क्षति न्यून गर्ने उपायहरूको बारेमा ठेकदार र परामर्शदाता समेत अनभिज्ञ देखिएको, विद्युतगृहमा मुख्य उपकरणहरू जडान गर्नका लागि देशमा नै जनशक्ति विकास गर्नु पर्ने आवश्यकता रहेको, मोदी खोला जलविद्युत आयोजनाले माछाको लागि भर्‍याङ बनाएको छ तर यस्को स्थान र डिजाइन अनुपयुक्त रहेको वातावरणीय परीक्षण (अडिटिङ्ग) प्रतिवेदनमा उल्लेख भएको आइतबार सार्वजनिक प्रतिवेदनले जनाएको छ ।

यसका साथै पूर्व प्रतिबद्धताहरू कार्यान्वयन नभएकोले आयोजना र जनताबीच अविश्वास रहेको र द्वन्द्व दोहोरिरहेकोले आयोजना निर्माणमा ढिलाई भएको, जलविद्युत आयोजनाबाट प्राप्त र प्राप्त हुने आर्थिक लाभलाई समेत ध्यान दिई स्थानीय सरकारले समन्वय गरी द्वन्द्व व्यवस्थापन गरेको र निजी क्षेत्रलाई जलविद्युत विकासमा प्रोत्साहन गरेको प्रतिवेदनमा उल्लेख छ ।

आयोजनाले वातावरणको भौतिक, जैविक, सामाजिक, आर्थिक र साँस्कृतिक पक्षहरूमा पारेका असरको अध्ययन गर्ने, सम्बन्धित आयोजनाले स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा समावेश गरेका प्रतिकूल वातावरणीय प्रभाव न्यूनीकरणका उपायहरूको कार्यान्वयन स्थितिको जानकारी लिने तथा अवलोकन गर्ने उद्देश्यले तयार पारिएको उक्त प्रतिवेदनले प्रत्येक आयोजनाको वातावरणीय प्रभावको मूल्याङ्कन गर्नु भन्दा यस प्रकारका “क्यासकेड” आयोजनाको लागि क्षेत्रगत वा संयोजित वा रणनीतिक वातावणीय मूल्याङ्कनको प्रयोग गर्नु उपयुक्त हुने सुझाव दिएको छ ।

प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्याङ्कन गर्दा यिनको मुख्य सिद्धान्त र वैज्ञानिक विधिको प्रयोग गरी स्थानीय जनताको सक्रिय सहभागितमा प्रतिवेदन तयार गर्नु पर्ने प्रतिवेदनको सुझाव छ ।

मोदी खोला जलविद्युत आयोजना निर्माणले पारेको वातावरणीय प्रभाव सम्बन्धी प्रतिवेदन

Facebook Comments