जथाभावी उत्खनन्ले भयावह बन्दै कक्रहवा खोला

बाँके – “विगतका दिनमा यो कक्रहवा खोलाको आकार धेरै सानो थियो तर अहिले देख्दै डरलाग्दो भएको छ। यो सब प्राकृतिक स्रोतमाथिको जथाभावी उत्खनन् र वन विनाशले गर्दा हो, जसको कारण पानीका मुहान सुक्न थाले,” स्थनीय गुणनिधि शर्माले भने।

दाङ्गमा भएको “पानी” छलफल  कार्यक्रममा बाेल्दै स्थानीय पीडित रामऔतार चौधरीले भने “हामी मर्कामा छौँ, कक्रहवा खोलाका कारण त्रासतपूर्ण जीवन बाँच्दैछौँ।’ मक्नहवा गाँउमा ६५ घरधुरी कक्रहवा खोलाको बाढी र कटानको उच्च जोखिममा छन्। बाढी कटान रोक्नका लागि प्रत्येक घरधुरीले एक, एक हजार रकम उठाएर साउनको पहिलो हप्तामा अस्थायी तटबन्ध बनार्यौँ तर भाद्र महिनामा आएको बाढीले त्यो पनि बाँकी राखेन। हामी अहिले पचहत्तर हजार ऋणमा छौँ। त्यो ऋण कसरी तिर्न सक्छौँ ?’ चौधरीले पुनः थपे, ‘हामीले बनाएको योजनाभन्दा धेरै रकमको आवश्यकता रहेकाले गाँउपालिकासँग सहयोगका लागि अनुरोध गरेका छौँ ।”

‘प्राकृतिक स्रोतमाथि स्थानीयको पनि अधिकार छ, स्रोत साधनको संरक्षण र प्रयोग स्थानीयले नै गर्छाैँ कक्रहवा खोलाकोे ढुङ्गा, गिट्टी र बालुवाजस्ता नदीजन्य पदार्थ स्थानीयको सहमतिबिना उठाउन पाइँदैन,’स्थानीय हुमा बिसीले भनिन्।

‘ढिकुरे र कक्रहवा खोलामा रहेको नदीजन्य पदार्थ उत्खनन् गर्नुभन्दा पहिले गाँउपालिकाले विकल्प सोच्ने हो कि ? अत्याधिक उत्खनन्ले पानीको समस्या निम्त्याएको हो जसका लागि विकल्प खोज्न आवश्यक छ,’ संरक्षणकर्मी एवं वन तथा वातावरण संरक्षण समितिका अध्यक्ष उमाकान्त पन्तले भने। पानीको मुहान, चुरे संरक्षण, तारबार र वृक्षारोपणमा ध्यान दिनुपर्ने, पन्तको भनाइ छ ।

कक्रहवा खोलाको माथिल्लो तटीय क्षेत्रदेखि तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दा आफूहरू जोखिम मोल्दै त्यहाँ बस्दै आएको गुनासो गर्छन् । गढवा गाँउपालिकाले ढुङ्गा, गिट्टी र बालुवाजस्ता नदीजन्य पदार्थ उत्खनन्का लागि कक्रहवा र ढिकुरे खोलामा गत वर्ष प्रारम्भिक वातावरण परीक्षण गर्‍यो। स्थानीयहरूले उत्खनन् गर्न र नदीजन्य स्रोत उठाउनमा रोक लगाए तर रोक लगाउँदा पनि तटबन्ध र संरक्षणको काम भने भएन।

जमुनीबासबाट सुरु भएको कक्रहवा खोलामा मिसिने सुनै खोला, च्यूरी खोला, दह खोला जस्ता खहरे खोलाले राप्तीसम्म पुग्न करिब ६ किलोमिटरको दूरी पार गर्नु पर्छ। यस खोलाको वरिपरि बसोबास गर्ने जमुनीबास, मनिकापुर, सिमलतारा, मक्नहवा, कान्छी गाउँलगायत दर्जनौँँ गाउँहरू पर्दछन् । नदीजन्य स्रोत साधनको दोहन अत्याधिक हुन थालेपछि स्थानीय समुदाय जगरुक भएका छन् ।

‘म नेपाल सरकारबाट अनुमति पाएको ठेकदार हो, मैले उत्खनन् मात्र गरेको छैन, शिक्षाका लागि विद्यालयलाई सहयोग गरेको छु यदि यहाँका जनताहरूले उत्खनन् नगर्न भन्छन् भने गर्दिन,’ ठेकेदार रामबाबु चौधरीले भने । अहिलेसम्म आवश्यकताअनुसार नै उत्खनन् गरेको चौधरीको दाबी छ।

पानी कार्यक्रममा सहभागीहरू

कार्यक्रममा गढवा गाँउपालिका वडा नं. ६ का अध्यक्ष बालचन्द्र ठकुरी हमालले मुहान डुबाउने र पुच्छर हल्लाउने काम गर्न नहुने, उपल्लो र तल्लो तटीय क्षेत्रमा नागरिकहरूलाई प्रत्यक्ष लाभहुने किसिमको विकास र संरक्षणका कार्य दुवै पक्षलाई मिलाएर लानुपर्ने बताए।

प्रमुख जवाफदेही वक्ताको रूपमा बोल्दै गढवा गाँउपालिका दाङ्गका अध्यक्ष सहजराम अहिरले विकास र वातावरणको सन्तुलन कायम राखी वैज्ञानिक मापदण्डअनुसार प्राकृतिक स्रोत साधनको प्रयोग गर्ने साथै विकासको काममा बाधा नपु¥याउन स्थानीयहरूसँग अग्रह गरे।

कार्यक्रममा बोल्दै पानी परियोजनाका राप्ती जलाधार क्षेत्र विशेषज्ञ मिन महतराले पानी परियोजनाले जलीय जैविक विविधता संरक्षणमा गरेको योगदान र वातावरण सम्बन्धी संक्षिप्त जानकारी गराएका थिए।

यूएसएडको आर्थिक सहयोगमा पानी परियोजनाअन्तर्गत नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको “पानी” छलफल कार्यक्रममा कक्रहवा खोलाको उत्खनन्, बाढी, कटान, पटान र डुबान विषयमा छलफल भएको हो। पानी छलफलमा स्थानीय निकायका जनप्रतिनिधि, संरक्षण अभियन्ता, वन महासंघ गढवा, गोवरडिया, सामुदायिक वन संरक्षण अभियन्ता, एमआरसी नेपाल, निमार्ण कम्पनीका ठेकेदार, सुरक्षाकर्मी, विभिन्न सामुदायिक वन उपभोक्त समिति, स्थानीयलगायत सरोकारवालाहरूले सामुहिक प्रतिबद्धता गरेका छन्।

मध्यराप्ती जलाधार गढवा गाँउपालिका देउखुरी दाङ्गमा भएको “पानी” छलफल गढवा गाँउपालिका वडा नं. ६ स्थित मनिकापुर बगाले बिसौना सामुदायिक वन उपभोक्ता समितिको सभा हलमा सम्पन्न भएको हो ।

कार्यक्रममा गढवा गाँउपालिका प्रमुख, वडा अध्यक्ष, निर्वाचित जनप्रतिनिधि, सव डिभिजन वन कार्यालय गोवरडिहा र गढवा इलाका प्रहरी कार्यालय, फेकोफन, स्थानीय वन महासंघ गढवा, सामुदायिक वनका प्रतिनिधि, स्थानीय पत्रकार, ठेकेदार र स्थानीय पीडितलगायत ५० जनाभन्दा बढीको सहभागता रहेको थियो । उक्त छलफलमा सहभागीहरूले ४ बुँदे सामुहिक प्रतिबद्धता गरेका छन् ।

प्रतिबद्धताहरूः

१. यस वर्ष मक्नहवा र मदपुर गाँउलाई कटान, पटान र डुवानबाट बचाउने गरी दुईतर्फ स्थानीय सरकार र उपभोक्तासँग (नागरिक) समन्वय र सहकार्य गरी सरकारको गुरुयोजना बमोजिम स्थायी तटबन्ध निर्माणको प्रयास गर्ने,

२. कक्रहवा, खबरी र ढिकुरे खोलामा रहेको ढुङ्गा, गिट्टी र बालुवाको वैज्ञानिक मापदण्ड बमोजिम वन वातावरण जैविक विविधतामा असर नपुग्ने गरी प्राकृतिक स्रोत साधनको प्रयोग गर्ने ,

३. कक्रहवा खोलाको मुहानदेखि राप्ती नदीसम्मका बस्तीहरूमा वातावरणीय असर नपुग्ने गरी मुहान संरक्षणको सम्बोधन र तलका बस्ती कटान, पटान र डुबानबाट बच्ने गरी बिचको बाटो अपनाएर विकास र संरक्षणलाई सँगसँगै जोडेर काम गर्ने,

४. माथिल्लो तटीय क्षेत्रमा रहेका पानीका मुहान, ताल तलैया र चुरेको संरक्षण गर्दै तल्लो क्षेत्रमा वृक्षारोपण तथा उत्पादनमूलक कार्यहरू गर्ने ।

Facebook Comments