मध्य राप्ती जलाधार क्षेत्र :माछा संरक्षणमा सक्रिय स्थानीय

दाङ –मध्य राप्ती जलाधार क्षेत्रमा कुनै बेला माछा प्रशस्त पाइन्थ्यो। राप्ती नदीका माछाले दाङ, बाँके, बर्दिया, रोल्पा, प्यूठानलगायतका जिल्लाहरू धानेको थियो। एकै पटकमा धेरै माछा मार्न बम र विषादीको प्रयोग गर्न थालियो। यो प्रवृत्ति बढ्दै गयो। जसका कारण नदी खोलामा माछा घट्नुका साथै अन्य जलचरहरू पनि सङ्कटमा परे।

यसको प्रत्यक्ष असर स्थानीयको दैनिक जीवन र संस्कार, संस्कृतिमा पर्न थाल्यो। त्यसपछि माछा जोगाउनुपर्छ भन्ने धारणाको विकास भयो। यही धारणालाई कार्यान्वयन गर्न पानी परियोजना अन्तर्गत मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रले राप्ती नदीको ३२ किलोमिटर क्षेत्रमा माछा जोगाउने अभियान सुरु ग¥यो। माछा संरक्षण सम्बद्र्धन समूह गठन भए। राप्ती नदीका छेउछाउमा हानिकारक विधिबाट माछा नमारौँ, भन्ने संकेत भएका सूचना पार्टीहरू राख्ने काम भयो। विभिन्न क्लब तथा समूहहरूको सक्रियतामा जनचेतनामूलक कार्यक्रम सञ्चालन भए। यसले समुदायलाई जागरूक बनाउन सहयोग पुग्यो।

अहिले सबैको प्रयासपछि राप्ती नदी जलाधार क्षेत्रमा माछा संरक्षणको काम प्रभावकारी बन्न पुगेकोे छ। ‘सुरुमा आउँदा भयावहको अवस्था थियो। माछा लोप हुने अवस्थामा थिए। समूह गठन गरी जनचेतनाका कार्यक्रम गर्दै जाँदा अवस्था फेरिएको छ। लोप भएका माछाहरू देखिन थालेका छन्। अहिले नदीमा कछुवा पनि देखिन थाले। समूहहरू उत्साहित छन्। स्थानीय तहले कानून पनि बनाएका छन्,’ मानव कल्याण तथा वातावरण संरक्षणका अध्यक्ष प्रदीप मजगैँयाले भने।
बाम, बैखा, रावा र रैनी माछाका समूहको सक्रियता बढेको छ।

डेढवर्ष अघि राप्ती गाउँपालिका वडा नम्बर ७ मा पर्ने सहनीय गाउँका स्थानीयले माछा संरक्षणको प्रयास थालेका थिए ।
अहिले माछा जोगाउने मात्र होइन । उनीहरूले माछाबाट आम्दानी लिन पनि थालेका छन् । माछाको वर्गीकरण गरेर व्यवस्थित तरिकाले माछा बिक्री वितरण गर्दै आएका छन् ।

बाम माछा संरक्षण संवर्धन समूहकी अध्यक्ष चैनकुमारी चौधरीले पहिलेको भन्दा अहिले सर्वसाधारणमा माछा संरक्षणसम्बन्धी चेतनास्तर बढेको बताइन् ।

यो समूहले बम, विषादी र कन्टेन्टबाट माछा मार्दे आएकाहरूलाई कानुनी कारबाही गर्छ । माछा मार्नेहरूलाई माछा मार्ने विधि र सावधानी नअपनाउँदा हुने असरबारे सम्झाउने काम पनि गर्छ ।

‘अण्डा दिने माछा छोडिने, लोप हुन लागेको माछा पनि छोड्दिनु, यसरी नै जानकारी दिन्छौँ । बम र करेन्ट लगाउनु हुँदैन भनेर सम्झाउँछौँ,’अध्यक्ष चौधरीले भनिन् ।

पहिला माछा थिएनन् । बम र विषादी हाल्न रोकेपछि धेरै माछा पाउन थालेको समूहकी सदस्य लैहा चौधरीले बताइन् ।
अहिले नदीमा धेरै माछा मिल्ने र माछा बेचेर आम्दानी पनि हुँदै आएको अर्की सदस्य कमला चौधरीले बताइन् ।

गाउँपालिकाको चौथो गाउँ सभाबाट कानुन पास भइ कार्यान्वयनको चरणमा रहेको राप्ती गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष विद्याशरण चौधरीले बताए।

‘कानुन पास गरेका छौँ । त्यो कार्यान्वयन गर्नका लागि दुई लाख रुपैयाँ बजेट विनियोजन गरेका छौँ । माछा मार्न पनि मापदण्ड तोकेका छौँ । यसले विध्वंसात्मक तरिकाले माछा मार्ने प्रवृत्तिलाई न्यूनीकरण गरेको छ । पहिले दिनभरि माछा मार्दा पनि कम पाइन्थ्यो, तर अहिले एक दुई घण्टामै एक किलो माछा मार्न सकिन्छ,’ वडा अध्यक्ष चौधरीले भने ।

स्थानीय तहको यो सहयोग र साथले बाम माछा संरक्षण संवद्र्धन समूहलाई काम गर्ने उत्साह मिलेको छ । समूहको नेतृत्व लिइरहेकी चैनकुमारी चौधरीलाई पनि काम गर्ने प्रेरणा मिलेको छ ।

राप्ती गाउँपालिका वडा नम्बर ६ मा पनि अर्को बैखा माछा संरक्षण समूह गठन गरिएको छ । समूह गठन भएको एक वर्षमै यो समूहले थुप्रै प्रभावकारी काम गरेको छ । स्थानीय तहसँग समन्वय बढाएको छ । जसका कारण जलचर संरक्षणका लागि कानुनसमेत बनिसकेको छ।

‘रोक्ने बेलामा त गाली पनि गरेका हुन् । आफू माछा मार्ने, हामीलाई नदिने भन्ने गर्थे । अहिले त्यस्तो छैन,’ बैखा माछा संरक्षण संवर्धन समूहकी अध्यक्ष पाटेश्वरी चौधरीले भनिन् ।

अहिले बम हाल्न छाडेपछि माछाको संख्या बढ्न थालेको राप्ती गाउँपालिका वडा नम्बर ६, बगरापुुरका स्थानीय सुखीराम चौधरीले बताए ।

अर्का स्थानीय दुखीराम चौधरीका अनुसार पहिला माछा मार्न जाँदा एक किलो डेढ किलो मात्र पाइँन्थ्यो अहिले धेरै पाइन्छ ।
‘हाम्रो संस्कारमा माछा अनिवार्य चाहिन्छ । राप्ती नदीमा माछा पहिलाभन्दा धेरै छन्। पहिला माछा कम थिए । पहिला तिन–चार घण्टामा आधा पाउ मात्र पाइन्थ्यो अहिले त्यति समयमा एक दुई केजी माछा पाइन्छ,’स्थानीय बादुराम चौधरीले भने ।

‘माछा संरक्षण गर्नु भनेको सम्पूर्ण जैविक विविधताको संरक्षण गर्नु हो,’ बैखा माछा संरक्षण संवर्धन समूहका अध्यक्ष चौधरीले भनिन् ।

‘अहिले पनि कहीँ कतै करेन्ट लगाएर लुकीछिपी माछा मार्ने चलन छ । त्यसलाई रोक्ने प्रयासमा छौँ,’ बैखा माछा संरक्षण संवर्धन समूहकी सचिव कविता चौधरीले भनिन् ।

यो परिवर्तन आउनुका पछाडि पाटेश्वरी चौधरी र समूहका पदाधिकारीहरूको प्रमुख भूमिका छ । यो काममा समुदायका सबै व्यक्ति र स्थानीय तहले पनि साथ दिएपछि काम गर्न सजिलो भएको छ ।

जलीय जैविक विविधता जोगाउन दाङको राप्ती गाउँपालिकामा गठन भएका समूहको सक्रियता प्रशंसा योग्य छ ।
यस्तै दाङको गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा जलचर जोगाउने अभियानले तीव्रता पाएको छ ।

त्यस्तै गढवा गाउँपालिका वडा नम्बर ७ मा गठन भएको रावा र रैनी माछा संरक्षण समूहले माछा जोगाउने काम गरिरहेका छन् । यो काममा गाउँपालिकाले समेत ऐन बनाएर सहयोग गरिरहेको छ । समुदायको सामूहिक प्रयासपछि नै यो काम सम्भव भएको हो ।

त्यस्तै दाङको गढवा गाउँपालिका वडा नम्बर ७ सेमरीमा रावा माछा संरक्षण संवर्धन समूह गठन भएको छ । यो समूहले जलीय जैविक विविधता जोगाउन जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । यसले समुदायमा हानिकारक विधिबाट माछा मार्नु हुँदैन भन्ने चेतना फैलिएको छ । अनि माछा बढेपछि स्थानीयमा खुसी छाएको छ ।

‘म त पहिलैदेखि माछा मार्थेँ । माछा बेचेर घरखर्च चल्छ । राप्ती नदीमा पहिलाभन्दा अहिले धेरै माछा पाइन्छ । अहिले बम र करेन्ट नहाली माछा मार्छौँ । राप्तीमा सिन्ध्रा चरिँगा, बाम र रावा माछा पाइन्छ, त्यसमा पनि रावा माछा धेरै पाइन्छ,’ गढवा गाउँपालिका वडा नम्बर ७, सेमरीका हरिनारायण चौधरीले भने ।

नदीमा माछा बढेपछि माछा मारेर बेचेको पैसाले घरखर्च चलाउन सहज भएको स्थानीय रेश्मा चौधरीले बताइन् ।
माछा बढेपछि रावा माछा संरक्षण सर्वधन समूहले गर्ने नियमित अनुगमन र जनचेतनामूलक कार्यक्रमपछि आएको उपलब्धी हो यो । यस कामको नेतृत्व समूहकी कोषाध्यक्ष शिवकुमारी चौधरीले गर्दै आएकी छिन् ।

‘अनुगमनमा जाँदा करेन्ट नहाल्नु, विष नहाल्नुु भनेर सम्झाउँछौँ । स्थानीय तहले सामुदायलाई नदी दिन तयार हुन्छ, भने हामी पनि संरक्षण गर्न तयार छौँ,’रावा माछा संरक्षण संवर्धन समूहकी कोषाध्यक्ष शिवकुमारी चौधरीले भनिन्, ‘जोगाएपछि माछा धेरै पाइन्छ । कोही बगर खेती गर्छौँ । माछा पनि बेच्छम् । खेती किसानीबाट फुर्सद भएको बेला माछा बेचेर जीविकोपार्जन गर्छम् ।’

हिजो आफैँ विनाशकारी विधिले माछा मार्ने स्थानीय आज संरक्षणको आवाज समुदायमाझ पु¥यारहेका छन् । यो कामले समुदायलाई सचेत बनाएको छ ।

‘म पहिले माछा मार्थेँ । पहिले वैशाख लागेपछि राप्तीमा बाँध बाँध्ने, थुन्ने अनि विष खनाएर मारिन्थ्यो,’ रावा माछा संरक्षण संवर्धन समूहकी सचिव सोहमत चौधरीले भनिन्,‘थारुलाई माछाको आवश्यकता हुने । पूजा, बिहे र अन्य चाडपर्वमा माछा नै चाहिन्छ । कसैको बिहे भयो भने चार पाँच जना मान्छे माछा खोज्नमै जानु पथ्र्यो । त्यसपछि हैन माछा संरक्षण गर्नुपर्छ भनेर लागेका हौँ ।’

पहिला विषादी हाल्ने गरेको तर अहिले विषादीको प्रयोग नगर्ने गरेको समूहकी कोषाध्यक्ष शिवकुमारी चौधरीले बताइन्।
‘बजारको मल नहाल्ने भनेर जैविक मल बनाइराछम् । मल र विषादी बनाउन पनि सिकिम् । यो कुरा सबैलाई सिकाइराछम् । निमको पात, बकाइनाको पात, खरानी खुसानी, लसुन, प्याज आदिबाट जैविक विषादि बनाएर छछम्,’ उनले भनिन् ।

त्यसैगरी रैनी माछा समूह गठन भएपछि जथाभावी बम, करेन्ट लगाएर माछा मार्ने काम रोकिएको राजपुर गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष बिस्नबहादुर बुढामगरले बताए ।

राजपुर गाउँपालिकाको वडा नम्बर १ र २ वडाका स्थानीयलाई समेटेर रैनी माछा संरक्षण संवर्धन समूह बनाइएको छ । यो समूहको नेतृत्व सचिव विमला चौधरीले गर्दे आएकी छिन् । उनलाई अन्य सदस्यहरूले सहयोग गर्छन् ।

समूहका पदाधिकारीहरू अनुगमनमा हिड्छन् । माछा संरक्षणका लागि बनाएको कानुनमा उल्लेख भए अनुसारको जाल प्रयोग भएको छ कि छैन, कसरी माछा मार्ने लगायतका विषयमा सल्लाह सुझाव दिने गर्छन् । यो कामलाई समुदायका अन्य व्यत्तिहरूले पनि साथ दिएका छन् ।

‘करेन्ट लगाउन रोकियो अब विषादी प्रयोग नगर्ने, बम विस्फोट नगर्ने भनेर समूहले बैठक राखेको थियो । धेरै रोकिएको छ । एउटा माछाको पेटमा फुल २ करोड बढी हुन्छ भन्छन् । साउन महिनामा फुल बनाउँछ । फुल फुटेपछि बच्चा बन्छ । माछा पनि बढ्ने भयो । लाखौँ माछा बन्छन्,’ कठबेरुवाका स्थानीय हुकुमबहादुर ठेडी मगरले भने ।

समूहका सदस्यहरू घरदैलो अभियान पनि गर्छन् । विनाशकारी तरिकाले माछा नमार्न आग्रह गर्छन् । राम्रो कामको सबैले प्रशंसा गर्छन् अनि साथ पनि दिन्छन् ।

यसको एक उदाहरण हो रैनी, रावा, बैखा र बाम माछा संरक्षण समूहले राप्ती नदी र जलाधार क्षेत्रमा गरेको माछा संरक्षणको काम । यो कामको प्रभावकारितालाई अझ बढाउन पानी परियोजना अन्तर्गत मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रले अझै कामको दायरा बढाउने योजना बनाएको छ । समुदायमा आएको परिवर्तनले नै संस्थालाई पनि काम गर्ने प्रेरणा मिलेको हो ।

‘सुरुमा देउखुरी क्षेत्रमा ४ वटा समूह गठन ग¥यौँ । रिजल्ट राम्रो आयो । यो वर्ष केही थप समूह गठन गरेर सबै ठाउँमा लागू हुने गरी काम गर्न खोजेका छौँ,’ मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका अध्यक्ष मजगैयाले भने ।

राप्ती नदी जलाधार क्षेत्रमा गठन भएका माछा संरक्षण संवर्धन समूहको जस्तै काम अन्य क्षेत्रमा पनि गर्न जरुरी छ । किनभने विनाशकारी विधिबाट माछा मार्दा अन्य जलचरहरू पनि संकटमा परेका छन् । यसले पारिस्थितिक प्रणालीमा समेत असर परेको छ । स्थानीय तह, माछा संरक्षण संवर्धन समूह, गैरसरकारी संस्था र स्थानीयको यो जागरूकताले संरक्षणको पाठ सिकाएको छ ।

Facebook Comments