रसाउँदै पानीका मुहान

प्युठान–ऐरावती गाउँपालिका जिल्लाकै हराभरा क्षेत्र हो। प्रशस्तै वन क्षेत्र भएको यस ठाउँमा स्थानीयलाई खेतीपाती तथा पशुपालन गरेर जीवन धान्न अप्ठेरो छैन। सिँचाइ हुने खेत नभएपनि प्रशस्त अन्न फल्ने पाखोवारि छन्। सिरानमा घाँस दाउरा र चरीचरनका लागि वन क्षेत्र छ। तर, केही वर्ष यता ऐरावती गाउँपालिकाका स्थानीयले पानीको समस्या भोगिरहेका छन्। स्थानीयका अनुसार वर्षामा आएको परिवर्तनसँगै गाउँ तथा वनक्षेत्रका परम्परागत पोखरी मासिए पछि यस्तो अवस्था आएको हो।

सिँचाइ तथा दैनिक प्रयोगका लागि पानीको अभाव हुन थालेपछि स्थानीयका हरेक सुख्खा याम कष्ट पूर्ण हुन थाले। मुहान सुकेर सुख्खापन बढ्ने क्रम हरेक वर्ष बढ्दै गयो। पानी अभावको समस्या बढ्दै गएपछि यहाँका संरक्षण अभियन्ताले उपाय निकाले। गाउँको सिरानमा पुर्नभरण पोखरी बनाउने। अहिले स्थानीय बासिन्दाहरू पुर्नभरण पोखरी खनेर मुहान संरक्षणको अभियानमा जुटेका छन्।

‘पानी सुकेपछि पोखरी खनेको। पानीको एकदम दुःख छ यो ठाउँमा,’ स्थानीय बेला थापाले भनिन्।

सुर्केडाँडा सामुदायिक वनका सदस्य थनीराम पाण्डेले चरा चराचुरुङ्गी, घोरल, मृग, बोटबिरुवाले पनि पाउला र चिस्यान होला भनेर पोखरी खनेको बताउँछन्।

पुर्नभरण पोखरी निमार्णको काम सामुदायिक वनका उपभोक्ताहरूले सुरू गरेका हुन्। उनीहरूले आ–आफ्नो वनक्षेत्रमा पालै पालो श्रमदान गरेर यो काम गरेका हुन्।

‘रिचार्ज पोखरी बन्यो भने, यसबाट पानी सोचेर वरिपरि बिरुवाहरू हरियाली बन्छ, यहाँको वातावरण, सफा हुन्छ, शान्त हुन्छ, अनि तल–तल रहेको मुहानहरू यहाँबाट गएको पानीहरू सिंचित भएर अन्य ठाउँमा मुहानहरू फुट्न सक्छ,’सुर्केडाँडा सामुदायिक वनका अध्यक्ष थानेश्वर आचार्यले भने।

ऐरावती गाउँपालिकामा ५२ वटा सामुदायिक वनहरू छन्। गाउँपालिकाले यी सबै सामुदायिक वनमा कम्तीमा एउटा पुर्नभरण पोखरी निर्माण गर्ने निर्णय गर्‍यो। यसका लागि उपभोक्ताले श्रमदान गर्ने सहमति भयो। हालसम्म ४६ वटा सामुदायिक वनमा रिचार्ज पोखरीको निर्माण सम्पन्न भइसकेको छ।

ऐरावती वन उपभोक्ता महासङ्घका अध्यक्ष नविलविक्रम शाहले पानी परियोजनाले रिचार्ज पोखरी निर्माण गर्न टेक्निकल सहयोग गरेको बताए।

‘हामीले बनाएका पोखरीहरू कम वर्षाका कारणले गर्दा सबै पोखरीहरूमा पानी टनाटन बनाउन सकेका छैनौ, आउँदा दिनमा पानी प्रशस्त परयो भने ती पोखरीहरूमा पानी जम्छ,’अध्यक्ष शाहले भने।

सामुदायिक वन महासङ्घको प्रयासले हरेक उपभोक्ताले श्रमदान गरे। प्युठानको, हातीपाइलामा महिलाहरूको समूहले यसको नेतृत्व गर्‍यो। उनीहरूले छलफल गरे अनि कामको बाँडफाँड गरे।

‘पुर्ख्यौली पोखरीहरू लोप हुनका साथै सुक्दै जान थालेको छन्। त्यस कारण संरक्षणका लागि पोखरी खनियो,’ वडा सदस्य रुमा वि.कले भनिन्।

गाउँका बृद्धाहरुले पनि यसमा हातेमालो गरे। आफूसँग भएको पुरानो ज्ञानका आधारमा उनीहरू पनि आफ्नो क्षेत्रमा सक्रिय भए।

अहिले पुर्नभरण पोखरी बनाउन छिमेकका स्थानीयहरू पनि तम्सिएका छन्। ऐरावतीमा स्थानीयहरू आफैले व्यक्तिगत पोखरी पनि निर्माण गर्न थालेका छन्। अनि खनीसकेका पोखरीहरूलाई थप व्यवस्थित गरी वहुआयमीक तरिकाले उपयोग गर्ने योजनामा छन्।

पुर्नभरण पोखरी निर्माणको काममा यहाँका स्थानीयसँगै स्थानीय सरकार तथा सरोकारवाला निकायहरू पनि लागेका छन्। जिल्ला वन कार्यालयले सोनाटामा यस अघि नै रिचार्ज पोखरी बनाउन सघाएको छ।

‘एउटा पोखरी हाम्रो पहिलादेखि नै थियो, यसमा पानीको दुःख भएकोले हामीले पहिलादेखि नै सङ्कलन गरेका थियौँ। पशुहरूलाई खुवाउन भनी, यो पोखरी बनाएको हो। हामीले पिउने पानी टंकीमा छ,’स्थानीय शान्ता खनालले भनिन्।

यस्ता पोखरीहरूले पानीका मुहान रसाउनमा सघाउँछन्। अनि, गाईबस्तु, वनका वन्यजन्तु र स्थानीयकै लागि पनि खानेपानीको श्रोत बन्ने छन्।

पछिल्लो समय देशैभरी प्राकृतिक समस्या बढिरहेका छन्। पानी र तापक्रममा आएको परिवर्तनले कतै सुख्खा त कतै बाढी पहिरोको समस्या छ। यसले दैनिक जनजीवन प्रभावित हुन थालेको छ। पानी तथा अन्य प्राकृतिक स्रोतको अभावका कारण बसाइ सर्नु पर्ने अवस्था छ । तर, ऐरावती गाउँपालिकामा सबैले सहकार्य गरी प्रकृति सिर्जित समस्या समाधानको थालनी भएको छ। पानीको अभावमा काकाकुल अन्य समुदायको लागि यो एउटा उदाहरण हुन सक्छ ।

Facebook Comments